PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जब भीम रावल मन्त्री खड्का र सुजाता कोइरालामाथि बम्किए…



प्रकाश भण्डारी

जब भीम रावल मन्त्री खड्का र सुजाता कोइरालामाथि बम्किए…

काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोेरेशन (एमसीसी)को चर्को विरोध गर्ने मध्यका नेकपा (एमाले)का नेता भीम रावल यतिखेर स्टेट पार्टनर्सिप प्रोग्राम (एसपीपी)को विषयमा मौन रहने कुरै भएन। 

२०७८ फागुन १५ गते प्रतिनिधि सभाबाट एमसीसी पारित हुनु अघिसम्म रावलले त्यसविरुद्ध तिखो प्रहार गरिरहे। एमालेले बैठक बहिष्कार गरेर एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्न सघायो। एमालेले संसद बहिस्कार गर्दा रावल भने पार्टी नीति विपरीत त्यहाँको छलफलमा सहभागी भए। र, एमसीसीका विपक्षमा उभिए। त्यतिबेला एमसीसीमा जसरी चर्को विरोधमा उत्रिएका थिए रावल त्यसरी नै एसपीपीको विरोधमा छन्। 

शुक्रवार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावल पुरानै शैलीमा प्रस्तुत भए। परराष्ट्र मन्त्री नारायण खड्का पछि बोलेका थिए रावलले। रावलभन्दा अघि बोल्नेमा समितिका सदस्य सुदन किराती, दिव्यमणि राजभण्डारी, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र माधवकुमार नेपाल थिए। प्रधान सेनापति प्रभुराम शर्मा र परराष्ट्र मन्त्री खड्काले पनि आफ्नो धारणा राखिसकेका थिए रावल भन्दा अघि। 

परराष्ट्रमन्त्री माथि खनिए रावल 

बैठकमा भइरहेको छलफललाई ध्यानपूर्वक सुनिरहेका रावलले पालो आउनासाथ परराष्ट्र मन्त्रीको अभिव्यक्तिको बिरोध गरे। ‘परराष्ट्र मन्त्रीले सबै विषय नकोट्याउँ उदाङ्गो नपारौं भन्नुभयो। त्यसो भन्न मिल्दैन। यत्रो बहस भइरहेको विषयमा सम्पूर्ण तथ्यहरु नेपाली जनताले थाहा पाउनुपर्छ,’ रावलले भने। मन्त्रीसँग मात्रै सरोकार नभएको भन्दै खड्काले ढाकछोप गर्न खोजेको रावलको आरोप थियो। 

एसपीपीसँग सम्बन्धित विषय सेना र सरकारको मात्रै नभइ समग्रमा देशकै विषय भएकाले व्यापक छलफल हुनुपर्ने रावलको तर्क थियो। मन्त्रीले छलफल नै नगरौं भन्न नमिल्ने रावलले जिकिर गरे। ‘परराष्ट्र मन्त्रीले समितिमा आइसकेपछि यसबारेमा बिस्तृत जानकारी दिनु कर्तव्य हो,’ रावलको भनाइ थियो। 

रावलले खड्काको आलोचनाका लागि जोडेको अर्को विषय थियो - प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण। उक्त भ्रमणबारे मन्त्री नाजवाफ भएको भन्दै रावलले आक्रोश व्यक्त गरे। भ्रमणको कार्यसूची भन्न मन्त्री खड्काले जनाएका थिए। त्यसैलाई लिएर खड्काको चर्को बिरोध गरे रावलले। खड्काको आलोचनामा उत्रिएका रावलले प्रधान सेनापति शर्माको भने प्रशंसा गरेका थिए।पत्र पठाएको मितिसहित सबै कुरा सेनापतिले सार्वजनिक गरेको भन्दै रावलले धन्यवाद दिए। 

अनि बम्किए रावल…

रावलले लगातार आलोचना गर्न थालेपछि नजिकै बसेका परराष्ट्र मन्त्री खड्काले बोल्न खोजे। तर, रावलले बोल्नै दिएनन्। ‘तपाईँले जवाफ दिनुस्, त्यस्तो हुन सक्दैन्,’ खड्काले बोल्न खोजेपछि रावलले उनलाई रोक्दै भने। यतिसम्म कि मन्त्री खड्कालाई रावलले बिचमा कुरा नकाट्न नै चेतावनी दिए। ‘धैर्यपूर्वक सुन्नुस्, हाम्रो परम्परा पनि छैन्- कुरा काट्ने। काट्न मन लागे त काट्न सकिन्छ। बिचमा कुरा काट्न परेन,’ सुदूर पश्चिमको लबजमा रावल मन्त्रीमाथि खनिए। त्यसपछि खडका बोलेनन् र रावलले आफ्नो भनाई जारी राखे। 

सुरुमा प्रधान सेनापति शर्माको प्रंशसा गरेका रावलले सेनाले दोधारे चरित्र देखाएकोमा भने थोरै भए पनि आलोचना गरे। अघिल्लो दिन एउटा र पछिल्लो दिन अर्को धारणा आएकोमा सेना गोन्जागोलामा फसेको रावलको आरोप थियो।  ‘सेना यस्तो विवादमा फस्यो भने हाम्रो सुरक्षाको आधार कस्तो हुन्छ?,’ उनले प्रश्न गरे। 

रावल घुमीफिरी फेरि परराष्ट्र मन्त्रीकै आलोचनमा फर्किए। ‘अमेरिकी सहायक विदेश मन्त्रीले तिब्बती शरणार्थी शिवरमा गरेको भ्रमण देशको हितमा छ भनेर भ्रमपूर्ण जवाफ दिनुभयो,’ रावलले खडकाको आलोचना गर्दै भने। आलोचनालाई धैर्यपूर्वक सुनिरहेका खड्का त्यसपछि भने थामिएनन्। केही समय रावल र खड्का बिच भनाभन नै चल्यो। त्यसपछि समितिका सभापति पवित्रा निरौलाले पालैपालो बोल्न सुझाइन्। 

खड्काले आफूले बोलेको र अमेरिकी सहायक विदेश मन्त्री शरणार्थी शिविरमा गएको पुष्टि गर्न चेतावनी दिए। ’तपाईँको रेकर्ड ल्याएर म यहाँ देखाइदिन सक्छु। तपाईँले गरेको कुराकानीबाट बोलेको पुष्टि हुन्छ,’ रावलले जवाफ फर्काए। यद्यपि, उनले मन्त्रीसँग आफ्नो व्यक्तिगत केही नभएको पनि सुनाउन भ्याए।

रावलले एसपीपी अमेरिकाको हिन्द प्राशान्त रणनीति भएको विषय अमेरिकी रक्षा मन्त्रालयको रिपोर्टमा उल्लेख भएको भन्दै प्रतिवेदन देखाएर पुष्टि गर्न खोजे। ‘अमेरिकी हिन्द प्रशान्त रणनीति हो भन्ने कुरा  विवाद रहित तरिकाले उसले भनेको छ। अमेरिकाको रक्षा मन्त्रालय भन्दा ठुलो प्रवक्ता त यहाँ हामी कोही पनि छैन होला नि,’ रावलको व्यङ्ग्यात्मक शैलीमा भने। 

सुजातालाई रावलले सोधे : तपाईँ समिति सभापति हो?

रावलले एसपीपीकै बारेमा बोलिरहँदा समितिकी सदस्य तथा कांग्रेस नेता सुजाता कोइरालाले विषय बाहिर गएर लम्बेतान नबोल्न आग्रह गरिन। जिम्मेवारपूर्वक बोल्न कोइरालाको अनुरोध थियो। तर, रावलले उनलाई पनि ठाडै बोल्नै दिएनन्। आफू अरुभन्दा कम जिम्मेवार नभएको चेतावनी थियो उनको भनाइमा। ‘तपाईँ समितिको सभापति हो? सभापति त्यहाँ हुनुहुन्छ, उहाँले हो रुलिङ गर्ने। परराष्ट्र मन्त्री भइसकेको मान्छे बैठक कसले चलाउँदै छ भन्ने त होला नि! म पनि जिम्मेवारै हुँ। म कम जिम्मेवारीमा बसेको व्यक्ति होइन। हेक्का राख्नुस्,’ रावलले भने। 

तथ्य बाहिर ल्याउन खोज्दा कोइरालामा छटपटी देखिएको गम्भीर आरोप पनि रावलले लगाए। गलत काम गरेको प्रमाणित भएको रावलको दावी थियो। उनले त्यसपछि मन्त्रीको आलोचना छोडेर छानविनका लागि समिति बनाउन प्रस्ताव अघि सारे। जसलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टाउको हल्लाएर समर्थन गरे। आफ्नो बोल्ने पालोमा समिति बनाउने रावलको प्रस्तावमा जोड दिएका थिए पोखरेलले। रावलले कसले केके गर्‍यो भन्ने कुरा छानविन समितिले अध्यन गर्नुपर्ने माग राखे।  ‘कसले के गर्‍यो? कसले सुरु गर्‍यो? यो नेपालको स्वतन्त्र परराष्ट्र नीतिका विरुद्धमा छ भन्ने प्रमाणित भयो। नेपालले अब कुनै देशसँग लड्न चाहेको हो?,’ रावलको भनाइ थियो। परराष्ट्रमन्त्री खड्काले नेपाल एसपीपीमा सहभागी हुन नचाहेको पत्र लेख्ने प्रतिवद्धता जनाउनुपर्ने माग थियो उनको। 

बैठक हापेर हिँडेकी कोइरालाले के भनिन्?

रावलसँग तीतो संवादपछि तत्कालै बोल्ने पालो आएन सुजाताको। रावलपछि प्रकाशमान सिंह, नारदमुनी राना, मोहन बानिया लगायतका सांसदहरुले धारणा राखेका थिए। आफ्नो बोल्ने पालो नआएपछि छटपटाइरहेकी देखिन्थिन् कोइराला। प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले संसदमा उभिएर जवाफ दिइसकेकाले विषय तन्काएर समितिका सदस्यको समय मात्रै वर्वाद बनाएको कोइरालाको मत थियो। 

‘के हाम्रो काम छैन्? यसैमा छलफल गरिराख्ने? देशको हितलाई प्राथमिकता दिनुपर्छ, त्यो कुरा हो। सानो सोच राखेर एक्सपोजर नभएको देश भएर बसिराख्ने? नेपालमा अमेरिकी सेना आएरमात्र तालिम गर्ने होइन, चीनको पनि त आउँछ, हाम्रो सेना पनि जान्छ। युक्रेन बनाइदिन्छ भनेर किन डराउने? किन हाम्रो कन्फिडेन्स छैन्?,’ कोइरालाले प्रश्नपछि प्रश्न गरिन्। 

उनले अर्को जोडदार तरिकाले उठाएको विषय थियो - प्रधान सेनापतिलाई बोलाएर समितिले गल्ती गरेको। उनले अन्तर्राष्ट्रिय हिसाबले समेत सेनापतिलाई बोलाएर कारवाही गरेजसरी जवाफ मागिएको भन्दै आपत्ति जनाइन्। 

‘चीन र अरु देश पनि आउँछन्। भारत र अमेरिकाको कुरा हल्लाखल्ला हुन थाल्यो। सेनापतिलाई राखेर कारवाही गरेजस्तो भयो। इन्टरन्यासनल्ली पनि राम्रो भएन,’ कोइरालाको भनाइ थियो। बैठकको अन्तिमसम्म नबसेकी कोइरालालाई जवाफ फर्काएकी थिइन समिति सभापति निरौलाले। उनले प्रधान सेनापतिलाई बोलााएर स्पष्टिकरण नसोधिएको बरु भ्रमबारे प्रष्ट पार्ने अवसर दिएको भन्दै कोइराललाई गम्भीर विषयमा छलफल गर्दा अनावश्यक नठान्न आग्रह गरिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell