PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

५६ दिन हिरासत बसेपछि फेरिएका ‘लाउरे’, ‘भित्रको फिलिङ्सलाई नै मार्दो रहेछ’



रिना थापा

५६ दिन हिरासत बसेपछि फेरिएका ‘लाउरे’, ‘भित्रको फिलिङ्सलाई नै मार्दो रहेछ’

पोखराः गत पुस १५ गते एउटा खबरले सामाजिक सञ्जाल तात्यो। आशीष राना लागूऔषध मुद्दामा पक्राउ। आशीष अर्थात् युवा पुस्ता माझ चर्चित रहेका र्‍यापर 'लाउरे'। १४ गते साँझ साथीहरूसँग जाल्पा रोडस्थित एक होटलमा लागूऔषध सेवन गरिरहेको अवस्थामा उनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेर ५६ दिन प्रहरीको हिरासतमा बिताएका लाउरे अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि छुटेका थिए। उनै लाउरेलाई अहिले कास्की प्रहरीले लागूऔषधविरुद्धको अभियानमा ‘आइकन’को रुपमा अघि सारेको छ। 

असार ६ गतेदेखि कास्की प्रहरीले सप्ताहव्यापी रुपमा लागूऔषधविरुद्धको ‘एन्टिड्रग्स क्याम्पियन’ कार्यक्रम गर्दैछ। सोही कार्यक्रममा प्रहरीले लाउरेलाई आइकनको रुपमा अघि सारेको हो।

लागूऔषध दुर्ब्यसनीमा बढी युवा पुस्ता फस्ने गरेकाले कार्यक्रम युवालाई लक्षित गरिएको छ। लागूऔषधविरुद्धको अभियानमा लाउरेलाई जोड्दा कार्यक्रम प्रभावकारी हुनेमा कास्कीका एसपी रमेश थापा विश्वस्त छन्।

'प्रहरी कार्यालयबाट लागूऔषधविरुद्धको थुप्रै अभियान गरिरहेका हुन्छौँ। तर, कार्यक्रम प्रभावकारी रुपमा भएन। यसपटक उहाँलाई आइकन बनाएर अघि बढ्दैछौँ। यसले युवामाझ प्रभाव पार्छ,' पत्रकार सम्मेलनमा बोल्दै एसपी रमेशले भने।

६ गतेदेखि सुरु हुने कार्यक्रम १२ गतेसम्म चल्ने छ। कार्यक्रममा लाउरेले आफ्नो भोगाइ, अनुभव सुनाएर प्रस्तुति दिनेछन्। कार्यक्रमको अन्तिम दिन साइकल र्‍याली हुने कास्की प्रहरीले जनाएको छ।

'भित्रको फिलिङ्सलाई नै मार्दो रहेछ'

पछिल्लो दश वर्षदेखि लागूऔषध सेवन गरिरहेको सुनाउँछन् लाउरे। कलेजको जीवनदेखि दुर्ब्यसनीमा फसेका उनले यो अन्तरालमा थुप्रैपटक छोड्ने कोसिस गरेको सुनाए।

'कलेज पढ्ने बेला मन बढी चञ्चल हुने। मन र दिमागको द्वन्द्व चल्ने। त्यही समय लहैलहैमा लागेर नराम्रो बाटोमा लागेँ,’ उनले सुनाए, ‘प्रत्येक पटक ड्रग्स लिँदा अब त छोड्छु भन्ने लाग्थ्यो तर यसले फिजिकल्ली मात्रै नभएर मेन्टल्ली असर गर्ने भएकाले छाड्न नसकिने।'

दुर्ब्यसनीमा फसेपछि आफ्नो करिअरमा असर पुर्‍याएको अनुभव छ लाउरेसँग। लागूऔषधकै कारण थुप्रै पटक विदेशी कार्यक्रमलाई स्थगित गरेको सुनाउँछन् उनी।

'विदेश लैजान नमिल्ने, नसकिने, विदेशमा हुने कार्यक्रम क्यान्सिल गरेको छु कतिपटक,' उनले सुनाए, 'यसले करिअरलाई पनि धेरै धक्का दियो। लागूऔषधले भित्रको फिलिङ्सलाई नै मार्दो रहेछ।'

दश वर्षको अन्तरालमा उनले थुप्रै पटक कोसिस गरे कुलतबाट निस्किने। तर, असफल बने। अब भने यो दलदलबाट सधैंको लागि निस्किएको बताउँछन्। जसलाई तपस्या भन्छन् उनी।

'सुरुका दुई महिना एकदमै गाह्रो हुन्छ फिजिकल्ली बढी। त्यसपछि हामीलाई मेन्टल्ली गाह्रो हुन्छ। यो भनेको जीवनभर हो। यसलाई म एउटा तपस्याजस्तै भन्छु,' उनले भने।

कास्की प्रहरीले गर्न लागेको कार्यक्रममा उनी सकारात्मक र खुशी छन्। आफूलाई फलो गर्ने युवा पुस्ता बढी भएकाले कार्यक्रम प्रभावकारी हुनेमा उनी पनि विश्वस्त छन्।

लाउरेले लागूऔषध सम्बन्धित नयाँ र्‍याप गीत निकाल्दै छन्। जन्मदिनको दिन असार ११ गते गीतको ट्रिजर सार्वजनिक हुँदै छ।

गीतले लागूऔषध र हिरासतको कथालाई थोरै केही समेटेको उनी सुनाउँछन्। उनले यो गीत हिरासतअघिनै लेखेको बताउँछन्। तर यसलाई उनी संयोग मान्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell