PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मैदानमा 'ब्याटिङ बलिङ'मा उत्रने रामबहादुर अस्पतालको ल्याबमा भेटिन्छन् माइक्रोस्कोप चलाउँदै



मुकुन्द घिमिरे

मैदानमा 'ब्याटिङ बलिङ'मा उत्रने रामबहादुर अस्पतालको ल्याबमा भेटिन्छन् माइक्रोस्कोप चलाउँदै

काठमाडौं : गत सोमवार रामबहादुर कुवँर मुलपानी क्रिकेट सिरिजमा थिए। नेपाली स्ट्यान्डिङ क्रिकेट टोलीमा रहेका उनी भारतलाई हराउँदै पहिलो जित निकाल्दा भन्दै थिए - गेम एकदमै फेन्टास्टिक भयो।

कुल १७ खेलपछि नेपाली स्ट्यान्डिङ क्रिकेट टोलीले भारतलाई पाँचौ भेटमा हराएको थियो। 'गेम त पहिलेबाटै खेलेको हो, तर यसपाला चाहीँ धेरै राम्रो भयो,' कुँवर खुसी देखिएका थिए।

उनै कुवँर बिहीवार भेटिए शुक्रराज ट्रपिकल अस्पतालको दोस्रो तल्लामा। क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीको पहिरनमा उत्रिएका उनी अस्पतालको ल्याबमा सेतो कोटमा चिटिक्क देखिएका थिए। बलिङ ब्याटिङ गर्ने उनको हात थियो माइक्रोस्कोपमा। बलिङ गर्दा बिकेट लिनतिर लगाउने उनको तिखो आँखा माइक्रोस्कोपको लेन्सतिर थियो।

उनी त्यहाँ घरी कम्युटरमा रिपोर्ट तयार गर्न पुग्थे त माइक्रोस्पोकपको लेन्स समात्न। 

***

कुँवरको घर चाहीँ गुल्मी। सानो छँदै लडेर उनको हात भाँच्चियो। समयमै उपचार सम्भव भएन। र, हात बिग्रिएको सुनाउँछन् उनी।

'हात फ्याक्चर भएको हो लडेर। स्कुलबाट आउँदा लडेर,' उनले भने, 'त्यहाँ राम्रो उपचार हुन नसक्दा हात बिग्रियो।'

८ वर्षमा हात भाँच्चियो त्यसको १/२ वर्षभित्रै उनी काठमाडौं आए। आफ्नो अध्ययन पुरा गरे। अनि ल्याब टेक्निसियनका रुपमा काम थाले।

'त्यसपछि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा पढेको,' उनले भने, 'अहिले म हेल्थ प्रोफेसनमा छु। ल्याब टेक्निसियनका रुपमा।'

कुवँर राष्ट्रिय टोलीमा सुरुबाटै खेल्दै आएका छन्। सन् २०१८/१९ बाट खेल्दै आएको हो। अर्थात पहिलो नेपाली स्ट्याण्डिङ क्रिकेट टिमको सदस्य। सुरुमा उनलाई पनि यो खेलबारे थाह थिएन। साथीहरुसँगको कुराकानीमा चासो लागेपछि दौडिए क्रिकेटको पछि।

'सुरुमा मलाई पनि त्यति थाहा थिएन। साथीहरुले फोनबाट कुरा गरे। ल है राम यस्तोयस्तो छ भनेर भने। सानेपामा केसीटीसी भन्ने छ। त्यहाँ अभ्यासका लागि गयौं। त्यहाँबाट १५/१६ जना छानियो,' उनी भन्छन्, 'पहिला त त्यति राम्रो टिम थिएन। पहिलाको तुलनामा त अहिले धेरै राम्रो टिम बनेको छ। त्यसपछि हामी पहिलो पटक भारतको राँची खेल्न गएका थियौं।'

कुवँर आफू खेलमा पार्ट टाइमर रहेछन् भने स्वास्थ्य क्षेत्रमा होलटाइमर। अस्पतालमा उनको पद - ल्याब टेक्निसियन्।

दुई फरक क्षेत्र। अनि फरक भूमिका। व्यवस्थापनका लागि कतिको सहज हुन्छ त?

'व्यवस्थापन गर्न एकदमै कठिन छ,' कुवँरको जवाफ थियो, 'खेलकुद हामीले देशका लागि खेलेको हो। यसबाट आय हुने, जीविका चल्ने भन्ने केही हुँदैन। साथीसाथी मिलेर देशका लागि केही गर्नुपर्छ है भनेर लागेका हौं।'

खेलकुदमा लाग्नुको कारण चाहीँ शारीरिक रुपमा फरक भएपनि केही गर्न सकिन्छ भनेर सन्देश दिन रहेको उनले बताए।

'फिजिकल्ली च्यालेन्ड भए पनि अरु जस्तै काम गर्न सक्छौं, खेल्न सक्छौं भनेर आएको हो,' उनी अगाडि भन्छन्, 'तर, यसो भन्दैमा अर्को पेशा नगर्नु हो भने खाने लाउने त पुग्दैन फेरि। त्यसैले बलियो पेशा पनि चाहियो।'

***

सोमवार नेपालले जिते पनि सिरिज भारतले २-१ ले जितेको जित्यो। यद्यपि नेपालले भारतलाई एक खेलमा हराएकोमा खुसी छन् कुवँर। यो बंगलादेशमा भएको खेलका कारण सम्भव भएको बताउँछन् उनी।

'बंगलादेश सिरिजमा गएर आएपछि मिडियामा धेरै कभर भयो,' उनले भने, 'त्यसले गर्दा नेपालको विभिन्न ठाउँबाट खेलाडीहरु आउनुभयो। नेपालमा पनि यस्तो खेल हुनेरहेछ है भन्ने थाहा पाएपछि उहाँहरु आउनु भयो।'

त्यसपछि करिब २ हप्ताको ट्रेनिङ नेपाली टोलीले गर्‍यो। र, मैदान उत्रियो।

'१५/२० दिन जावलाखेलको एउटा कलेजमा अभ्यास गर्‍यौं। पहिलाको भन्दा धेरै राम्रो टिम आएको छ। त्यसले गर्दा पनि यसपाला राम्रो प्रदर्शन गर्न सक्यौं,' उत्साहित सुनिएका उनी भन्दै गए, 'भारतलाई हराउँदा एकदमै उत्साहित छौं। ४३ रनमा २ विकेट गएको थियो। त्यसपछि लगातार ४ विकेट जाँदा हामी 'होपलेस' नै भइसकेका थियौं। तर, पछिको ब्याट्सम्यान छबि र चौधरीले पारिलाई सम्हाले। त्यसैले गर्दा हामीले खेल जित्यौं।'

फिजिकल्ली च्यालेन्डको खेल भर्खर घस्रँदै छ। यस्तोमा खेलाडी भेला गर्न र उनीहरुलाई टिकाउन कठिन हुने नेपाली टोलीका कप्तान आरपी खरेलको बुझाइ छ।

'खेलाडी टिक्न एकदमै मुस्किल छ। किनभने खेलाडीलाई मोटिभेट गर्न हामीसँग अहिले केही स्रोत साधन नै छैन। बाहिरबाट खेलाडी बोलाउन पर्‍यो। व्यवस्थित तरिकाले होटलमा राख्न पर्‍यो,' उनी भन्छन्, 'आन्तरिक ट्रान्सपोर्टका कुरा भए। खेल्ने सामाग्री। मैदानको उपलब्धता। यी कुराहरुको समस्या छ। त्यसलगायत खेलाडीले आफ्नो खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यो गाह्रो छ। सधैँ आउने, खेलिरहने। खेलाडीले योगदान दिने। संस्थाले त्यो लेभलमा फड्को मार्न नसक्दा खेलाडीलाई जोगाइराख्न र टिकाइ राख्न मुस्किल छ।'

खरेलसँग सहमत छन् कुँवर पनि। छिमेकी देशहरुमा स्ट्याण्डिङ क्रिकेटले फड्को मारिरहँदा खेलाडी प्रोफेसनल बन्न सहज भएको उनले देखेका छन्। यहाँको सन्दर्भ फरक छ। खेल मैदानदेखि खेलसामाग्री किन्नसम्म सहज छैन खेलाडीलाई।

'भारत, बंगलादेशलगायतका टिमको जस्तो हाम्रो सेवासुविधा पनि छैन। खेलसामाग्री पनि हामी आँफै मिलेर किन्नुपर्ने हुन्छ। त्यसमाथि हामी मैदान पनि पाउँदैनौ,' उनले भने, 'डीओबी कलेजको सानो मैदानमा अभ्यास गरेको हो हामीले। ठूलो ठूलो मैदानमा खेल्न पाएको भए फास्ट पिच, स्लो पिच, स्पीन पिच अनुसारले खेल्न पाएको भए राम्रो राम्रो प्रदर्शन गर्ने साथीहरुले अझ राम्रो गर्न सक्थे होला। हामीचाँही सिमेन्टको पिचमा मात्र खेल्दा राम्रै खेलेजस्तो हुन्छ तर यता क्रिकेट पिचमा खेल्न चाहीँ गाह्रो हुन्छ। हामीले यो सुविधा पाउन सकेका छैनौं। हामीले भनिरहेका त छौ। तर मैदान पाएका छैनौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell