PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

मनाङ जाने बाटो पहिरोले छेकियो



रासस

मनाङ जाने बाटो पहिरोले छेकियो
पहिरोको फाइल फोटो

लमजुङ : बेँसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ। शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो।

खरखरे भीरमा ठुला–ठुला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए। 'त्यहाँ ठूलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने ठाउँ हो, झन केही दिनयता ठूलो वर्षा भइरहेकाले पहिराले सडक अवरुद्ध बनाइरहेको छ,' उनले भने। प्रहरीका अनुसार १०/१५ मिटर सडक नै अवरुद्ध छ। सोही वडाको बेलौती बिसना नजिकै पनि पहिराले सडक अवरुद्ध बनाएको छ।

यतिबेला डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ। बेँसीसहर चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एकमात्र सडक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell