PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

लेवनान, सिरियासहित अमेरिकाको औपचारिक भ्रमणमा प्रधान सेनापति शर्मा, आज लेवनान प्रस्थान



पहिलोपोस्ट

लेवनान, सिरियासहित अमेरिकाको औपचारिक भ्रमणमा प्रधान सेनापति शर्मा, आज लेवनान प्रस्थान
फोटो : नेपाली सेना।

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिन शनिवार नेपाल सरकारका रक्षा सचिवसहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै प्रधान सेनापति शर्मा लेवनानतर्फ प्रस्थान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआइपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए। शर्मा लगायतको भ्रमणदलले असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युनिफिल मिसन र पछि सिरियास्थित यूनडीओएफ मिसनको निरीक्षण भ्रमण गर्ने बताइएको छ।

उनले उक्त मिसनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिने जंगी अड्डाले जानकारी दिएको छ।

भ्रमणको क्रममा प्रधान सेनापति शर्माले लेवनान, सिरिया,  युनिफिल मिसन र यूनडीओएफ मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनलाई आज लेवनानमा नेपालका महावाणिज्य दूत तथा लेवनानका सरकारी अधिकारीहरुले स्वागत गर्नेछन्।

लेवनान प्रस्थान गर्नुअघि प्रधान सेनापति शर्मालाई शुक्रवार जंगी अड्‍डामा सम्मान गारत अर्पण गरिएको थियो। उक्त औपचारिक बिदाइ कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो।

साथै, उक्त निरीक्षण भ्रमणपछि प्रधान सेनापति शर्माले मित्रराष्ट्र अमेरिकाको औपचारिक निमन्त्रणामा असार १३ गतेदेखि असार १७ गतेसम्म ५ सदस्यीय भ्रमणदलका साथ अमेरिकाको औपचारिक भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ।

प्रधान सेनापति शर्माको भ्रमण अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन्। उक्त भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदल मिति असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell