PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दावी : एसपीपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भयो



पहिलोपोस्ट

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दावी : एसपीपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भयो

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दावी गरेका छन्। महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसद्मा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन्।

उनले कूटनीतिक मर्यादाविपरित सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि व्यक्त गरे। नेपाल शिक्षक संघ, ललितपुरले शनिवार पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा उनले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गरे।

नेपालले मुलकको हित विपरितका कुनै पनि सन्धि, सम्झौता नगर्ने उनले दोहोर्‍याए। महामन्त्री थापाले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताए।

उनले भने, ‘देशको समुन्नतिका लागि चीनले सहयोग गरोस्, हामी लिन तयार। भारतले सहयोग गरोस् हामी लिन तयार। अमेरिकाले सहयोग गरोस् हामी लिन तयार। तर, नेपालको राष्ट्रिय स्वार्थलाई राष्ट्रिय सार्वभौमिकतालाई केन्द्रमा राखेर मात्रै हामी त्यो लिन तयार। हामीले चीनसँग बीआरआई गर्दैगर्दा अमेरिका रिसाउला कि भन्ने चिन्ता गरेनौँ। अमेरिकासँग एमसीसी गर्दैगर्दा चीन रिसाउला कि हामीले चिन्ता गरेनौँ। हामीले दुवैलाई भन्यौँ - हामी दुवैको साथ चाहन्छौँ, दुँनिया सबको साथ चाहन्छौँ।’

उनले अगाडि भने, ‘तर, अहिले एसपीपी जो आएको छ। यसले २/३ वटा कुरालाई सार्वजनिक रुपमा क्लियर गरेको छ। एउटा, हामी कति कूटनीति अभ्यासको बारेमा गम्भीर रहेनछौँ। कुनै पत्र लेखिन्छ। पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ। पत्र पाउनेले पाईसक्छ। लेख्नेले लेखिसक्छ। न तपाई थाहा पाउनु हुन्छ, न म थाहा पाउँछु। न सरकारले थाहा पाउँछ। अनि संसद्मा उभिएर कसैले आक्षेप लगाउने ढंगले भनि दिनुहुन्छ–हामीले त रोक्ने प्रयत्न गरेका थियौँ, कांग्रेस गम्भीर भएन भनेर भनि दिनुहुन्छ। २४ घण्टा पुग्दै गर्दा थाहा हुन्छ, जसले त्यसरी खरो स्वरमा बोल्नु भयो। उहाँहरुकै पालामा त्यसरी लेखिएको रहेछ। त्यसैले अहिले प्रश्न एसपीपी आयो र गयो भन्ने होइन। यो खालको प्रवृत्ति एउटा समुन्नत राष्ट्र बन्नका लागि, सफल बन्ने राष्ट्रका लागि सुन्दर संकेत होईन।’

महामन्त्री शर्माले एसपीपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

मेयर महर्जनले अघिल्लो कार्यकालमा आफूले गल्ती नगरेकै कारण जनताले आफूलाई पुनः निर्वाचित गरेको उल्लेख गर्दै अब झनै गतिशील भएर काम गर्ने बताए। उनले ललितपुर जिल्ला शैक्षिक हबको रुपमा रहेको उल्लेख गर्दै त्यहाँको सामूदायिक विद्यालयको पनि शैक्षिक गतिविधिलाई उन्नत बनाउन आफूले विज्ञहरुसँग परामर्श गरेर काम गरिरहेको बताए। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell