PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एसीसी महिला टी-२० च्याम्पियनसिप : कुवेतविरुद्ध नेपालको जित



पहिलोपोस्ट

एसीसी महिला टी-२० च्याम्पियनसिप : कुवेतविरुद्ध नेपालको जित
Photo: @MalaysiaCricket/Twitter

काठमाडौं : मलेसियामा जारी एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत शनिवार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

किनरारा ओभलमा शनिवार कुवेतलाई २५ रनले हराउँदै नेपालले च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो। नेपालले दिएको १ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७  विकेट गुमाएर ८२  रन मात्र बनाउन सक्यो। कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक ३१ रनको पारी खेल्दा मारिमा हेदरले १५ तथा कप्तान आम्ना तारिकले १४ रन जोडिन्।

कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सीता राना मगरले दुई विकेट निकाल्दा अश्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले समान एक/एक विकेट लिए।

जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ। समूह बी मा रहेको नेपाल तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ। पराजित कुवेतको तालिकामा १ अंक छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रनको योगफल बनाएको थियो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै सर्वाधिक ३४ रनको योगदान गरिन्। २७ बलको सामना गरेकी रुबिनाले चार चौका प्रहार गरिन्।  त्यस्तै इन्दु बर्माले २८ रन जोड्ने क्रममा ३३ बलको सामना गर्दै २ चौका प्रहार गरिन्।

यस्तै, ज्योती पाण्डेले १५ रन जोड्दा विन्दु रावलले ११ रनको स्कोर गर्ने क्रममा क्याच आउट भइन्। यस्तै, सीता राना मगर र काजल श्रेष्ठले समान ५/५ रनको पारी खेल्दै पवेलियन फर्किए।

बलिङतर्फ कुवेतका लागि मारिमा हेदरले दुई विकेट लिइन्। मारियम ओमार र खादिला खाजिलले एक/एक विकेट लिए।

यसअघि च्याम्पियनसिपको  पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुवात गरको थियो। उता कुवेतले भने वर्षाका कारण बहराइनसँग अंक बाँडेको थियो।

च्याम्पियनसिप अन्तर्गत नेपालले सोमवार बहराइन र अन्तिम खेलमा मंगलवार हङकङसँग खेल्नेछ। १० टोलीले सहभागिता जनाएको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह चरणको खेलपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् भने फाइनल पुग्ने दुई टोलीले महिला टी-ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell