कैलाली : प्रधानमन्त्री शेरबहादुर देउवाले सञ्चालनको ढाँचामा अलमलिएको गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने बताएका छन्। शनिवार धनगढी उपमहानगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने बताएका हुन्।
भवन उद्घाटन सभामा उपमहानगरपालिकाका मेयर गोपाल हमालले गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रधानमन्त्री समक्ष माग राखेका थिए। सोही सभामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने विषय उल्लेख गरे। यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक देखिएका हुन्।
‘यस विषयमा काठमाडौं फर्किएर मन्त्रिपरिषद्बाट निर्णय गर्छु’, उनले भने, ‘कानुन बनाएर गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइन्छ।’
भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको गेटालाई मेडिकल विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने आवाज विगतदेखि नै उठ्दै आएको छ। यसका साथै उक्त निर्माण सकिएको मेडिकल कलेजको प्रारूप तयार गरेर तत्काल सञ्चालन गर्नुपर्ने माग उठ्दै आएको छ।
देउवाले अब गौरीफन्टा नाकाबाट आवतजावत गर्दा नागरिकले सास्ती भोग्नु नपर्ने बताएका छन्। नगरप्रमुख हमालले नाकामा कञ्चनपुर र कैलालीका सशस्त्र र नेपाल प्रहरीले चार पटक चेकजाँच गर्दा समस्या भोग्नु परेको गुनासो आएकोले एक जिल्लाले मात्रै सुरक्षा चेकजाँच गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सोही विषयमा प्रधानमन्त्री देउवाले नागरिकले सहज सेवा प्राप्त गरुन् भन्ने उद्देश्य सरकारको हुने भएकोले सहज आवतजावतका लागि गृह मन्त्रालयसँग समन्वय गरेर नाकामा कैलाली जिल्लाको सुरक्षा चेकजाँच रहने व्यवस्था गर्ने बताए।
‘महेन्द्रनगरसँग कुरा गर्नुपर्छ भन्नुहुन्छ। कैलालीलाई पनि अधिकार दिऊँ, दुवैलाई दिऊ के भयो र?’ प्रधानमन्त्री देउवाले भने, ‘यहाँबाट नभए गृह मन्त्रालय गएर कैलालीलाई सिधै हेर्न पाउने बनाउने विश्वास दिलाउन चाहन्छु। जनतालाई दुःख दिन होइन नि यस्तो गर्ने, जनतालाई सुख दिन हो।’
भारतीय पर्यटकको सहज आवतजावतका लागि पनि एकै जिल्लाका सशस्त्र र नेपाल प्रहरी गौरीफन्टा-त्रिनगर नाकामा तैनाथ हुनुपर्ने माग पर्यटन व्यवसायीले गर्दै आएका छन्। गौरीफन्टा-त्रिनगर नाकामा २०७७ को भदौ १२ सम्म कैलाली प्रहरी मात्रै तैनाथ रहेकोमा कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला अधिकारीले डोके बजार कञ्चनपुरमा पर्ने भन्दै सिमानाकामा कञ्चनपुर प्रहरी तैनाथ गरेका थिए।