PahiloPost

Dec 23, 2024 | ८ पुष २०८१

अवकाशको मुखैमा सेलिब्रिटी बैंकर अनिलकेशरी शाह : उनको ‘इन्ट्री’ अब फरक क्षेत्रमा, जहाँ केही स्थापित गर्ने छ लक्ष्य



भावना शर्मा

अवकाशको मुखैमा सेलिब्रिटी बैंकर अनिलकेशरी शाह : उनको ‘इन्ट्री’ अब फरक क्षेत्रमा, जहाँ केही स्थापित गर्ने छ लक्ष्य

सन् १९९० को दशकको सुरुवातमै नेपालको बैंकिङ सेक्टरमा लगभग एकैसाथ चार युवाको प्रवेश भयो। त्यस बेला इमर्जिङ सेक्टरका रूपमा रहेको बैंकिङमा आउनु युवाहरुको लागि सामान्य विषय थियो। तर, ती चारै युवाहरु नेपालका उच्च घरानियाँ वर्ग अर्थात् शाह र राणा खानदानसँग जोडिएकाले उनीहरुको प्रवेशलाई बैंकिङ क्षेत्रमा उत्साहका साथ लिइयो। तीनै चार युवाहरुमध्ये एक थिए अनिलकेशरी शाह, जसको परिचयका लागि उनको नामै काफी छ।

अनिलसँगै बैंकिङमा प्रवेश गरेका सिद्धार्थ राणा र राजीव शाहले पछि फरक करिअर रोजे। हाल सिद्धार्थ राणा नेपालकै नम्बर एक करदाताको परिचय बनाउँदै पारिवारिक व्यवसायको नेतृत्व गरिरहेका छन् भने राजीव शाह राजनीतिमा छन्। अनिलभन्दा केही पछि आएका गोरख शमशेर राणा हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकमा डेपुटी सीइओ छन्।

नबिल बैंकमा सीइओका रुपमा अनिल शाहको दोस्रो कार्यकालको अब अन्तिम सातामात्र बाँकी छ। उनले आफ्नो करिअरको १७ वर्ष नबिल - मेगा - नबिलको नेतृत्व दिँदै बिताए। अर्थात् - लगातार १७ वर्ष सीइओ।

पहिलोपटक सीइओका रूपमा उनी नबिल बैंकमै थिए। त्यसपछि उनी मेगा बैंकमा सीइओका रूपमा दुई कार्यकाल रहे। फेरि नबिलमै फर्किएर उनले दोस्रो कार्यकाल पनि पूरा गरे। अब भने आफ्नो बैंकिङ यात्रालाई यहीँबाट बिट मार्ने मुडमा छन् अनिल। निरन्तर ३२ वर्ष बैंकिङ क्षेत्रमा बिताएपछि उनी जीवनको फरक अध्याय सुरु गर्न चाहन्छन् जहाँबाट फेरि उनको अर्को परिचय बन्नेछ। तर, यहाँसम्म आइपुग्दा बजारले भन्छ अनिल शाहलाई चिनाउन कुनै फुर्का जोडिरहनु पर्दैन। उनी आफैंमा एक ब्राण्ड हुन् - 'द अनिल शाह।'

अनिल किन यस क्षेत्रबाट रिटायरमेन्ट खोज्दैछन् त?

'चाहेको भए बैंकिङ सेक्टरमै विभिन्न अवसरहरु थियो। यसैमा रहन्थेँ। विदेशमा पनि बैंकिङ सेक्टरमा जाने प्रशस्तै अफर थिए। त्यहाँ डलर खाएर बस्न पनि सकिन्थ्यो होला,' उनले करिअर परिवर्तनबारे सुनाए, 'तर मनले फरक कुरा भनिरहेको छ। रहन त म नेतृत्वदायी भूमिकामै रहनुपर्छ तर अब कुनै एक बैंकको मात्र होइन।'

धेरै वर्षको अनुभवले अनिलले के बुझे भने नेपालमा कमी केही छैन। छ त केवल व्यवस्थापन गर्न सक्ने कुशल नेतृत्वमात्र। त्यही 'ग्याप' भर्ने उनको लक्ष्य छ। 'युवाहरुलाई त्यसतर्फ प्रोत्साहित गर्नुपर्छ। म अब हुर्किएको बिरुवा बनेर होइन, माटो बनेर, मल बनेर अझ धेरै बिउहरुलाई हुर्काउने यात्रामा जानुपर्छ भन्ने लागेको छ,' उनले भने, 'मैले ३२ वर्ष जे जानेँ त्यो ज्ञानलाई लाखौंमाझ पुर्‍याउनुपर्छ भन्ने सोचले नयाँ अध्याय थालेको हुँ।'

+++

अमेरिकाबाट एमबीए सकेर नेपाल फर्कँदा अनिलसँग बैंकमै काम गर्छु भन्ने रहर थिएन। बुवा मेडिकल डाक्टर, आमा परराष्ट्र सेवामा। तर उनी केमा स्पष्ट थिए भने डाक्टर नारायणकेशरी शाह र नेपालकै पहिलो महिला राजदूत विन्देश्वरी शाहका छोराको परिचय बोकेर भनसुन गर्दै कतै पनि जागिर खानु छैन। भिरकोटे राजाको नाति अनि सुवर्ण शमशेरको परिवारसँग नाता जोडेका अनिलले त्यतिबेला कतै गएर मुखमात्र फोरेको भए सोझै उच्च पदमै काम पाउँथे पनि। तर, सन् १९९१ को मे महिनामा उनी सुटुक्क छिरे इन्ट्री लेभलको जागिर खान तत्कालीन ग्रिनलेज बैंकमा।

असिस्टेन्टका रूपमा काम थालेका उनको जिम्मेवारी थियो रिसेप्सनमा बसेर फारामहरु भर्नु। अनि तलब थियो ३५ सय रुपैयाँ। इष्टमित्रले नै भनेछन् - 'लौ के गरेको होला अनिलले? कस्तो खानदानको छोरा किन त्यस्तो जागिर रोजेको होला! बुवाआमाले त्यति खर्च गरेर अमेरिका पठाएर पढाएको। फर्केर तल्लो लेभलको जागिर खान गएछ। यस्तो जागिरले त जीवन चल्दैन।'

हुन पनि बाबुसाहेब भएर पुर्ख्यौली सम्पत्तिमा रमाइलो गर्ने वा ठाँटले कुनै माथिल्लो ओहदामा बस्ने हैसियत भएका अनिल कान्तिपथ शाखाको रिसेप्सनमा बस्नु 'बिरादरी' का लागि अप्रत्यासितमात्र होइन, कल्पना बाहिरको विषय।

हजुरबुवाकै पालादेखि विदेशमा पढेर देशमा फर्किएर काम गर्ने 'लिगेसी' नै थियो। बुवा आमाको कारणले पनि घरमा जागिर खानुलाई प्रोत्साहन नै गरिन्थ्यो। त्यसैले परिवारमा उनलाई आफूले चाहेको करिअर रोज्न कुनै रोकटोक थिएन। अरुले जे सुकै भनुन् अनिलले वास्ता गरेनन्।

+++

कलेजदेखि नै अनिलको कम्युनिकेसन स्किल अब्बल। व्यवस्थापनमा दख्खल। त्यसैले अन्य क्षेत्रमा लाग्ने भन्दा पनि म्यानेजमेन्टतर्फ लाग्नुपर्छ भन्ने महसुस गरे। सोख त फोटोग्राफीको पनि थियो। तर, त्यसबेला यो पेसा होइन र 'हबी'भन्दा माथि छैन भन्ने उनलाई लाग्यो।

अनिललाई अवसर र वातावरणमात्र चाहिएको थियो।

'म धेरै अघिसम्म पुग्छु भन्ने चाहिँ मलाई विश्वास थियो। बिउ सानो छ भनेर पछि रुख हुँदैन भनेर कहिल्यै नसोच्नु। पानी र मल पायो भने त्यही बिउ पछि ठूलो रुख बन्ने हो,' यही दर्शनले उनलाई ग्रिनलेज बैंकको रिसेप्सनसम्म डोर्‍याएको सम्झन्छन्।

कालान्तरमा उनै अनिल बैंकिङ सेक्टरको सबैभन्दा धेरै तलब खाने सीइओका रूपमा स्थापित भए। यति हुँदासम्म पनि उनमा मपाइत्व देखिन्न। यहाँसम्म आइपुग्नुको 'क्रेडिट' उनी आफ्नो टिमलाई नै दिन्छन्। ग्रिनलेजको रिसेप्सनमा सुरुवाती काम सिकाउने, बिस्तारै टेलर, रेमिट्यान्स र रिटेल बैंकिङमा सिकाउने सघाउने सबै नै अनिलको लागि उत्तिकै महत्वपूर्ण छन्, जति नबिल बैंकलाई नम्बर वान बैंकका रुपमा स्थापित गर्न उनीसँगै खटेको टिम। उनी आफ्नो सफलतामा ती सबैको योगदानलाई कारक मान्छन्।

'मेरो मेहनत ४० प्रतिशत होला ६० प्रतिशत त टिमको साथ हो। मसँग जोडिएका सबै मानिसहरु मेरो करियरलाई यो उचाइसम्म ल्याउनका लागि महत्त्वपूर्ण छन्,' उनी उदार सुनिए।

+++

अनिलको जस्तो रातो फ्रेम भएको चस्मा, उनको जस्तो बटारिएको जुँगा, उनले लगाउने जस्तो सुट टाई जुत्ता पछ्याउने युवाहरुको जमात ठूलो छ। अनिल बैंकर कम सेलिब्रेटी ज्यादा लाग्छन्। एक किसिमको 'फ्यान फलोइङ' छ उनको। भिड उनकै पछि लाग्छ। स्कुल कलेजमा युवाहरुलाई आफ्नो अनुभव बाँड्न पनि उनी पुगेकै हुन्छन्, सिनेमाघरमा फिल्म हेर्न पनि भ्याएकै हुन्छन्। सद्गुरुको 'सेभ द सोयल' अभियान होस् कि कतै कुनै सामान्य नै किन नहोस प्रतियोगिताको जज, अनिलले नभ्याएको क्षेत्र र उनले उत्साह नभरेको जमात छैन। भर्खरै काठमाडौंका मेयर बनेका बालेन्द्र शाहलाई सघाउन पनि अघि सरिहाले उनी।

एकपटक उनी एउटा कार्यक्रममा पुगे। त्यहाँ उनीसँग सेल्फी लिनेको भिड लाग्यो। अनिलसँगै त्यहीँ रहेका सिनियर बैंकर शोभनदेव पन्तले त उनलाई भने पनि - 'होइन बैंकर त हामी पनि हौं तर यस्तो भिड तिम्रो वरिपरि मात्र किन?'

हामीले पनि त्यही प्रश्न सोध्यौं - आखिर एउटा बैंकरसँग युवाहरुको लगाव किन यति बढी?

अनिलले धेरै अघि एकजना मन्त्रीले भनेको हामीलाई सुनाए।

'हामी कलेज पढ्दा पनि अनिल शाह भन्ने नाम सेलिब्रेटीकै जस्तो थियो। अहिले पनि राजेश हमाल, रेखा थापा भनेजस्तै अनिल शाह भन्छन्। बरु क्याबिनेटका सबै मन्त्रीको नाम थाहा नहोला, नयाँ पुस्तालाई अनिल शाहको नाम थाहा छ।'

अनिल कहिलेकाहीँ आफैं पनि अचम्ममा पर्छन्, कसरी यस्तो भयो ! उनी आफूलाई खुला किताबको रुपमा चिनाउँछन्। बैंकर भएका नाताले सुट पाइन्टमा हिँड्ने उनी कुनै दिन हाफ पाइन्ट र स्याण्डलमा क्यामेरा भिरेर हिँडिरहेको भेटिएमा आश्चर्य नमान्न सुझाए। रुद्राक्षको माला हातमा बेर्ने उनी ट्राफिक जाम हुँदा त्यही माला झिकेर जप गर्न थाल्छन्।

हिन्दु र बौद्ध दुवै धर्मका गुरुहरु छन् उनका। दुवै गुरुका सानिध्य र मन्त्र उनलाई उत्तिकै प्रिय छन्। आध्यात्मिक चेत भएका अनिलको दैनिकी पूजाघरबाटै सुरु हुन्छ। उनले लगाउने कपडा र प्रयोग गर्ने सामानहरु भने सामान्य नै हुन्। उनी बाटा कम्पनीको जुत्ता लगाउँछन् अनि रेमण्डको सुट। गुची वा अरु कुनै चर्चित ब्राण्ड भन्ने उनलाई छैन। उनले सर्टमा लगाउने कफलिंक पनि कालीमाटीकै एक बाँडाले उनको डिजाइनमा तयार पारिदिन्छन्। उनले लगाउने चस्माको रातो फ्रेम धेरै वर्षअघि उनैकी छोरी आर्याले छानिदिएकी हुन्।

+++

'पैसा खन्याएर बनाएको मेरो व्यक्तित्व होइन। अर्गानिक रुपमै यो 'ग्रो' भएको हो,' उनले सरल शब्दमा बताए।

उनलाई जबर्जस्त बनेको ब्राण्डमा विश्वास छैन। पैसाले बनाउने व्यक्तित्व भन्दा आफ्नै अस्तित्वले बनाएको व्यक्तित्वको प्रभाव रहिरहने उनको धारणा छ।

'युवाहरु भने मेरो काम गर्ने शैलीका कारण बढी आकर्षित भएका हुनसक्छन्। मलाई नयाँपन मन पर्छ। जहाँ नयाँपन छ म त्यहाँ फिट भइहाल्छु,' आफ्नो पब्लिक इमेजबारे उनले व्याख्या गरे, 'म बाहिरी क्रियाकलापमा पनि उत्तिकै सक्रिय हुन्छु। पहिलेदेखि नै युवाहरुसँग भिज्ने स्वभाव छ। उनीहरुसँग म सधैं इन्टर्याक्ट गर्ने। मेरो राजनीतिक चिन्तन जे सुकै होस्। कसैसँग मिलोस नमिलोस् सबै युवाहरुलाई सधैं प्रोत्साहन गर्नुपर्छ भन्ने नै मेरो मान्यता हो।' सबैले एक अर्कालाई सहयोग गर्न सक्ने र सबै क्षेत्रका मानिसले एक अर्कालाई प्रोत्साहन गर्नुपर्छ भन्नेमा उनी प्रष्ट छन्। त्यही पृष्ठभूमिले आफूलाई केही अलग बनाएको स्वीकार्छन्। 'तर आफ्नो व्यक्तित्व बन्ने आफ्नै क्षमताले हो। मैले आफ्नो अस्तित्व बनाउन आफैं प्रयास गरेको हुँ। व्यक्तित्व सँगसँगै ब्राण्ड जोडिएर आयो,' 'द अनिल शाह' हुनुको राज उनले खुलाए।

+++

जुन बेला अनिल आए त्यतिबेला नेपालमा बैंकहरु कम थिए। बैंकिङ करिअरमा प्रतिस्पर्धा पनि कम थियो। ग्रिनलेज बैंक, जुन पछि स्ट्याण्डर्ड चार्टर्ड बैंक बन्यो त्यहाँ रिटेल लेन्डिङ सुरुवात गर्ने श्रेय अनिललाई नै जान्छ। अनिलले स्ट्याण्डर्ड चार्टर्ड बैंकमा जतिबेला रिटेल लेन्डिङको जिम्मा लिएर काम अघि बढाए त्यतिबेला अहिलेजस्तो ऋण लिएर गाडी वा घर किन्ने भन्दा पनि हाँस्यास्पद सुनिन्थ्यो।

त्यो बेला रिटेल लेन्डिङलाई अघि बढाउनु कम्ती चुनौतीको विषय थिएन। जतिबेला उनी अटो लोन र होम लोनको कुरा लिएर मार्केटमा जान्थे क्लाइन्टहरु खल्तीमा सुको छैन घर बनाउने गाडी चढ्ने भनेर हाँस्थे। तर अनिलले १३ वर्ष स्ट्याण्डर्ड चार्टर्डमा रहँदा रिटेल लेन्डिङलाई सफल र स्थापित बनाएर बाहिरिए।

सीओओका रूपमा स्ट्याण्डर्ड चार्टर्डबाट निस्केका उनी सेकेन्ड म्यानकै रूपमा नबिल पुगे। त्यसबेला नबिलमा सुरज मेहता सीइओ थिए। उनी जीएम भएर नबिल छिरे। अनिल आउनु अघिसम्म नबिलमा विदेशी सीइओहरु मात्र थिए। एक वर्ष जीएम भएर काम गरेपछि नबिलको जिम्मेवारी अनिलले नै पाए। उनले सीइओका रूपमा नबिललाई नेपालको नम्बर एक बैंकको रुपमा स्थापित गर्न निकै मेहनत गरे र आफूलाई प्रमाणित पनि गरे। खासमा अनिललाई आफ्नो ब्राण्ड बनाउन सघाएको नबिल बैंककै पहिलो कार्यकालले हो भन्ने लाग्छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको जोइन्ट भेन्चरको टेक्निकलाई उनले नबिलमा पाँच वर्ष प्रयोग गरेर त्यहाँ पूर्ण रुपान्तरणको बाटोमा गएका थिए।

त्यसपछि उनले अपरेटिङ लाइसेन्स नै नपाएको मेगा बैंकलाई लिड गरे। १२१९ जना प्रमोटर भएको बैंकमा टिमसहित नै पुगेका अनिलले मेगालाई अघि बढाउँदा इन्टरप्रेन्योरसिप सिकेको बताउँछन्। नाम र ब्राण्ड नै नभएको बैंकलाई ८ वर्षसम्म हाँकेर अघि बढाएको बैंकलाई अनुपमा खुंजेलीले उसैगरी माथि पुर्‍याएको उनी सम्झन्छन्।

अनिललाई आरोप पनि छ त्यो बेला नबिल बैंकलाई नम्बर एक बैंक बनाएपछि उनमा अलि बढी महत्वाकांक्षा पलायो। उनी नेपाल बैंक चलाउन अघि सरे, जुन योजना सफल भएन। उनले नबिलबाट टिमसहित नै बाहिर निस्केर नेपाल बैंकको सीइओ बन्न आवेदन दिँदा तत्कालीन गभर्नर विजयनाथ भट्टराईले नै आफूलाई 'त्यता नलाग्न' सम्झाएको उनले सुनाए। आफू र आफ्नो टिमले चाहेजस्तो तलबको माग पूरा हुन नसक्ने भएकाले नै नेपाल बैंक लिड गर्नबाट पछि हटेर उनी टिमसहित नै मेगा पुगेको दाबी गर्छन्।

+++

'त्यो बेला मेरो सोच आइसकेको थियो केही न केही फरक गर्ने। मेगामा मेरो टिमै लिएर गएको हो। नबिललाई नम्बर एक बनाए अब अर्को बैंकलाई बनाउँछु भन्ने भयो,' उनले सुनाए, 'अनि ८ वर्ष लिड गरेपछि मेगा पनि छोडें। सेन्चुरी बैंकसँग कुरा भयो तर वहाँहरुले अफर गरेको कम्पेन्सेनन नपाउने भएकाले म त्यता पनि गइन। फेरि नबिलमै अफर आएकाले यतै फर्किएँ।'

दोस्रो कार्यकालका लागि नबिल फर्किँदा नम्बर एक भइसकेको बैंकलाई डिजिटलतर्फ रुपान्तरण गर्नुपर्ने चुनौती अनिलसामु थियो। उनले दोस्रो पटक आउँदा नबिलको सम्पूर्ण प्रणालीलाई नै डिजिटल ट्रान्सफर्मेसनमा लैजाने सफल भएको दाबी गरे।

'पीडब्लुसीलाई ल्याएर हामीले सिस्टम बदल्न काम गर्‍यौं। पुरानो भर्जनको फिनिकललाई परिवर्तन गरेर नयाँ सिस्टम ल्याइयो। डिजिटल बैंकका रुपमा नबिलतर्फ युवाहरुलाई आकर्षित गर्न सक्यौं,' उनले सुनाए, 'त्यसअघिसम्म नबिलले बजारबाट कमैमात्र मानिस ल्याउने गर्थ्यो। जाँदा टिमै जाने र यहाँ मार्केटबाट नलिने हुँदा ग्याप क्रियट भएको थियो। त्यो ग्याप पूरा गर्न धेरै मानिस हायर गरियो। जसबाट बैंकमा नयाँ सोच र शैलीका साथ काम गर्ने टिम बन्यो।'

उनले नबिल बैकमा दोस्रो कार्यकालमा आएर टेक्नोलोजी, टिम र मार्केट पर्सेप्सनमा रुपान्तरण गरे। नबिललाई सुट टाई लगाएको सरकारी बैंक भन्थे त्यतिखेर। अहिले नबिल सर्भिस फोकस्ड डिजिटल बैंकका रुपमा परिचित छ।

'बैंकको ब्रान्च नेटवर्क ठूलो बनेको छ। इन्जिन ग्रो भएको छ। हाम्रो भित्रको सबै प्रोसेस रिइन्जिनियरिङ भएको छ। सबै नेपालीसम्म नबिल पुगोस् भन्ने सोच हो,' उनले थप व्याख्या गरे, 'बाख्रा पाल्नेदेखि हाइड्रो खोल्नेसम्म सबैलाई नबिलसँग जोड्न सकियोस्, दिगो बैकिङ भन्ने शब्दलाई समेट्न सकियोस् भन्नेमै लक्षित भएर काम गरेँ। बजारको परसेप्सन चेन्ज गरेँ। बुवाबाजेको बैंकबाट नबिललाई छोरानातिको बैंक बनाउन सकेँ। यसैबाट मलाई सम्झिने बाटो बनेको छ।'

+++

३२ वर्ष बैंकमा बिताएपछि अनिलले यहाँबाट बाहिरिने सोच बनाइनसक्दै राजनीतिमा आउन अफर आइसकेको छ। कुनै बेला राजनीतिमा छिर्ने मन नबनाएका होइनन्। अहिले भने सांसदको टिकट दिनेसम्मका प्रस्तावलाई पनि अस्वीकार गरेर बसेका छन्। राजनीतिमा आउन के ले रोक्यो त?

'अफरहरु त धेरै तिरबाट आउँछन्। कुनै बेला गभर्नर बन्न पनि आयो। लगानी बोर्ड हाँक्न पनि आयो। तर आजसम्म जे गरें आफ्नै बलबुताले गरेँ,' उनले भने, 'कसैको निकट भएकैले अवसर लियो अनिलले भन्ने ट्याग लागेन। १७ वर्ष नेतृत्वदायी भूमिकामै रहेँ। तर अब लागेको छ मैले नेतृत्व दिने भन्दा पनि युवाहरुलाई नेतृत्व सिकाउने हो।'

+++

अब के गर्ने भन्ने मुड उनले बनाइसकेका छन्। लिड नेपाल नामक संस्थामार्फत् उनी युवाहरुलाई मोटिभेसन, टिम बिल्डिङ र लिडरसिप सिकाउने योजनामा छन्। १७ वर्ष सीइओ भएर काम गर्दाको अनुभवलाई उनी मेन्टर बनेर युवाहरुमाझ बाँड्न चाहन्छन्। उनीहरुलाई स्ट्रयाटेजिक कम्युनिकेसन सिकाउनेछन्। यो सबैबाट उनले युवाहरुमा थोरै मात्र पनि परिवर्तन र नेतृत्वदायी गुण दिन सके भने आफ्नो कामको सार्थकता भेट्ने बताए।

'यहाँ नेतृत्व शब्दलाई राजनीतिसँग मात्र जोडिएको छ। त्यसभन्दा फरक सबै क्षेत्रमा नेतृत्वको आवश्यकतालाई स्थापित गर्न मन छ। नेतृत्व भनेको भिरालो पहाड खारेर खेत बनाउने प्रक्रिया हो जहाँ पछि तरेलीहरुमा अन्न रोप्न सबैलाई सहज होस्,' उनले भने।

अनिल आफूसँग भएको सीप र ज्ञान दुई लाख युवालाई बाँड्दा दुई हजारले मात्र पनि कार्यान्वयनमा ल्याए भने देश निश्चित रुपमा रुपान्तरणतर्फ जानेमा आशावादी छन्।

उनका अनुसार देश बनाउन सबैतिर नेतृत्व हुनुपर्छ। राजनीतिमा मात्र होइन प्राइभेट सेक्टर, पब्लिक सेक्टर, सोसल सर्भिस सबैतिर लिडर चाहिएको बुझेका छन्। उनी राम्रो नेतृत्व र वातावरण भयो भने केही वर्षमै देश विकास हुनेमा विश्वस्त सुनिन्छन्। अहिलेका युवाहरु परिवर्तन आइरहेको अनिललाई महसुस भएको छ।

अनिल युवासँग जोडिएरै जीवनको सार्थकता भेट्न चाहन्छन्। 'अहिले मेरो हातमा बलिरहेको मैनबत्ती छ। मेरा वरिपरि धेरै युवाहरु हातमा मैनबत्ती लिएर बसेका छन् तर त्यो बलिसकेको छैन,' अनिलले भने, 'अब म ती सबै मैनबत्तीहरुलाई बालिदिन चाहन्छु ता कि जब मेरो मैनबत्तीको समय सकिएर झ्याप्प निभोस्, त्यस बेला उनीहरुको उज्यालो झलमल होस्। म पछि पनि त्यो उज्यालो सधैं बलिरहोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell