PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया नजिक छ : अध्यक्ष दाहाल



पहिलोपोस्ट

पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया नजिक छ : अध्यक्ष दाहाल

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै पूर्व माओवादीहरुको नयाँ एकता प्रक्रिया हुने दिन नजिकिएको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले पूर्व माओवादीहरुको नयाँ एकताको श्रृंखला नजिकिएको बताएका हुन्।

उनले अब पुनः विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिने दावी गरे। अध्यक्ष दाहालले कर्मचारीहरुभित्र पनि बिस्तारै एकीकृत हुने अवस्था बन्ने बताए।

उनले भने, ‘हामी केही समयदेखि एकता र विभाजनको जे श्रृंखला पार गरेर यहाँ आइपुगेका छौँ, अहिले । हाम्रो माओवादी आन्दोलनभित्र पनि विभाजनको एउटा श्रृंखला र एकताको नयाँ प्रक्रिया हुँदै अब करिव करिव कस्तो ठाउँमा आइपुगेका छौँ भने सबै पूर्व माओवादी भन्नेजति एक ठाउँमा आउने वातावरण भएको छ। अब फेरि विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदैछ। छिट्टै त्यो टुंगोमा पुग्दैछ। त्यसको असर विभिन्न जनसंगठनहरुमा पनि पर्नु स्वभाविक हो पर्छ। मलाई लाग्छ कर्मचारीभित्र पनि बिस्तारै बाँकी रहेका साथीहरु एकीकृत हुने अवस्था बन्छ।’

अध्यक्ष दाहालले कर्मचारीभित्र पनि र समग्र राजनीतिक वृत्तमा पनि संघीयता कमजोर बनाउने काम भइरहेको बताए। उनले कर्मचारीतन्त्रभित्र उपल्लो तहका कर्मचारीहरुले संघीयता वा संघीय निजामति ऐन अघि बढाउने कुरा वा वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियातिर जान चाहने कुराहरुलाई सम्बोधन हुन नदिने प्रयास भइरहेको बताए।

अध्यक्ष दाहालले संघीय निजामति ऐन सदनको समितिबाट पारित गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएको तर कर्मचारीतन्त्रको उच्च पदाधिकारीहरुबाट नै व्यवधान भइरहेको जिकिर गरे।

उनले भने, ‘अहिले संघीय निजामति ऐन बनाउने कुरामा समस्या सदनको समितिबाट पारित गरेर गएको छ, लामो समयसम्म प्रधानमन्त्रीको अफिसमा रहिराखेको अवस्था छ। त्यसलाई अघि बढाउने सन्दर्भमा मुख्यतः कर्मचारीतन्त्रबाट कर्मचारीतन्त्रको हाईयर लेभलका अफिसरबाट नै केही न केही व्यवधान भइरहेको अवस्था छ।’

अध्यक्ष दाहालले गठबन्धनको बैठकमा निजामित ऐन र वृत्ति विकाससँग सम्बन्धित नयाँ प्रक्रियाको बारेमा कुरा राख्ने प्रतिवद्धता जनाए। उनले स्थानीय तहमा काम गर्ने कर्मचारीहरुको वृत्ति विकाससँग सम्बन्धित कर्मचारी प्रशासन ऐन निर्माण र लागू गर्ने कुरामा सबैले आवाज उठाउनु पर्नेमा जोड दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell