PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

दुबईका 'राजकुमार' र दुर्गा प्रसाईलाई दिइएको 'सुनको लौरो'ले जन्माएका प्रश्नैप्रश्न



पहिलोपोस्ट

दुबईका 'राजकुमार' र दुर्गा प्रसाईलाई दिइएको 'सुनको लौरो'ले जन्माएका प्रश्नैप्रश्न
तस्विर : सामाजिक संजालबाट

काठमाडौं :  नेकपा एमालेका नेता तथा व्यवसायी दुर्गा प्रसाई बेला बेला चर्चामा आइरहने पात्र हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षलाई मार्सी चामलको भात खुवाएर बढी चर्चामा आएका प्रसाई उनको अभिव्यक्तिले पनि पटक पटक चर्चामा आउँछन्।

शनिवारदेखि फेरि उनै नेता तथा व्यवसायी प्रसाई चर्चामा छन्। तर यसपटकको चर्चामा उनको अभिव्यक्ति कारक होइन।

शनिवार दुबईका राजकुमार भनिएका शेख मोहम्मद माक्तुम जुमा अल माक्तुमले प्रसाईलाई दिएको उपहार 'सुनको लौरो' चर्चाको कारण बनेको छ।

सरकारी मिडिया राष्ट्रिय समाचार समितिले दुबईका राजकुमार शेख माक्तुम झापा पुगेको समचार प्रकाशित गरेको थियो। शेखले शनिवार झापाको विमानस्थलमा पुगेर दुबईबाट ल्याएको सुनको लौरो प्रसाईलाई दिएको तस्बिर यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको छ। यस्तै, राजकुमार साँच्चै नै राजकुमार हुन् कि होइन् भन्ने प्रश्न नि उठेको छ।

'विदेशबाट दुःख गरेर कमाएर ल्याएको केही तोला सुन समात्ने गरेको सरकारलेले सुनकै लौरो ल्याएको किन देखेन?' भन्दै प्रश्न सोध्ने क्रम बढ्दो छ। सामाजिक सञ्जालमबाट प्रश्न नै उठेपछि भन्सार विभागले पनि यसको खोजी गरेको थियो।

भन्सार ऐन अनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्रामसम्म ल्याउन पाउँछन्। यस्तै, ऐन अनुसार ५० ग्रामभन्दा थप २ सय ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल बुझाई जाँचपास गर्न सकिने व्यवस्था छ। सोभन्दा बढी गहना ल्याए जफत हुन्छ। ५० देखि १ सय ग्राम सुनका गहना विदेशबाट ल्याउनुपर्दा प्रति दश ग्राम १० हजार रुपैयाँका दरले तिर्नुपर्छ। त्यसभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम १२ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।

सुनका गहनाबाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १ सय ग्रामसम्मलाई भन्सार महसुल लिई जाँचपास गर्न सकिने, सोभन्दा बढी परिमाणको सुन ल्याए त्यस्तो बढी परिमाण जफत गरिने नियममा रहेको छ।

राजकुमारले दिएको लौरो सुनको लौरी नै भएपछि १ सय ग्राम भन्दा पकै बढी नै सुन भएको अनुमान गरिएको छ। त्यसो भए यति परिमाणको सुन विमानस्थल भन्सार कार्यालयबाट कसरी छिर्‍यो त?

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट ल्याइएको सामाग्रीको भन्सार चेक भएको कार्यालयका प्रमुख महेश भट्टराईले जानकारी दिए। तर, यसरी भन्सार चेक गर्दा बाहिर भनिए झैं सुन नदेखिएको उनको दाबी रहेको छ।

'भन्सार चेक भएको छ तर त्यस्तो सुन देखिएन,'प्रमुख भट्टराईले भने।

के त्यसो भए सुनको लौरी भनिएको उक्त सामाग्री जलप मात्र लगाइएको सुनको लौरो हो त?, प्रश्न उठेको छ।

शनिवार आएका दुबईका 'राजकुमार' शेख मोहम्मद माक्तुम जुमा अल माक्तुम भीआइपी हुन्। विमानस्थलमा उनको सुरक्षा जाँच छुट्टै हुन्छ। उनीसँग आएका अन्य व्यक्ति र बडिगार्डले ल्याएका केही सामान र अन्य वस्तुको भने चेकजाँच हुने गर्छ। तर, त्यसक्रममा कसैले पनि सुनको लौरी भनेर कुनै घोषणा समेत नगरेको प्रमुख भट्टराई बताउँछन्।

दुबईका राजकुमार पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सीटी-स्क्यान उपकरण शुभारम्भ गर्न झापा पुगेका थिए। सुनको लौरी दुबईबाट विमानस्थल हुँदै झापासम्म पुगेपछि भन्सार कार्यालयले पनि घटनाको बारे चासो लिएरको थियो।

भीआइपी व्यक्तिको कुनै पनि औपचारीक भ्रमण हुँदा परराष्ट्र मन्त्रालयबाट जानकारी लिएर हुने गर्छ। औपचारिक भ्रमणको क्रममा सरकारले यस्ता भीआइपी व्यक्तिको सुरक्षा समेत मिलाएको हुन्छ। तर, शनिवार नेपाल आइपुगेका शेख मोहम्मदका बारेमा परराष्ट्र मन्त्रालयलाई कुनै पनि जानकारी गराइएको छैन।

'अहिलेसम्म हाम्रो जानकारीमा दुबईका राजकुमार आउने कुनै पनि औपचारिक जानकारी छैन,' परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रिता धितालले भनिन्।

भीआइपीको भ्रमण हुँदा सरकारले सुरक्षा व्यवस्था मिलाएको हुन्छ। तर, उनी शनिवार काठमाडौंबाट झापा श्री एयरलाइन्सको नियमित उडानबाट नै पुगेका थिए। त्यसो त केही समय अगाडि भारतीय राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी पनि अनौपचारिक भ्रमणमा नेपाल आएका थिए। उनले पनि कुनै सुरक्षाकर्मी र सरकारी निकायलाई जानकारी नै दिएका थिएनन्।

जिल्ला प्रशासन कार्यालय झापाले पनि शेख मोहम्मद माक्तुम जुमा अल माक्तुमको बारेमा जानकारी लिएको थियो। जसमा नेपालमा रहेको युएईको राजदुतावासले विमानस्थलको भीआइपी कक्ष प्रयोग गर्न पत्र पठाएको जानकारी आएको जिल्ला प्रशासन कार्यालय झापाका सीडीओ छविलाल रिजालले बताए। पत्रमा उनलाई राजकुमार भनिएको छैन। पत्रमा शेखलाई 'मेम्बर अफ रुलिङ फेमेली अफ युएई' उल्लेख गरिएको छ।

'उहाँको कुनै औपचारिक कार्यक्रम झापामा छैन। तर, उहाँलाई त्रिभुवन विमानस्थलको भीआइपी कक्ष प्रयोग गर्न दिनु भनिएको रहेछ,' सीडीओ रिजालले भने। शेख अहिले झापाको मेची क्राउन होटेलमा बसिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell