PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

बालेनको पहिलो नीति तथा कार्यक्रम : महानगरका करदाताको बीमा, बसस्टपमा फल्चा र जात्रापर्वको प्रचारप्रसार



पहिलोपोस्ट

बालेनको पहिलो नीति तथा कार्यक्रम : महानगरका करदाताको बीमा, बसस्टपमा फल्चा र जात्रापर्वको प्रचारप्रसार

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरका करदाताहरुको बीमा गर्ने योजना अघि सारेको छ। पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर वालेन्द्र साह (बालेन)ले महानगरभित्र कर तिरेका करदाता हरुको बीमा गर्ने योजनामा ५० प्रतिशत अनुदान दिइने योजना अघि सारेका हुन्।

'महानगरपालिमा कर तिरेका करदाताहरुको स्वास्थ्य बीमा गर्न आवश्यक प्रबन्ध मिलाइनेछ। बीमा शुल्कको बढीमा ५० प्रतिशत उपलब्ध गराइनेछ,' उनले भने। 

साहले स्वास्थ्य सेवाको गुणस्तर र पहुँच अभिवृद्धि गर्न महानगर जनस्वास्थ्य ऐन जारी गरिने पनि उल्लेख गरेका छन्।

उनले भने, ‘सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच, प्राथमिक उपचार, स्वास्थ्य सचेतनाका लागि महानगरका स्वास्थ्य केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मी परिचालित गरिनेछ।’

त्यस्तै, एक वर्षभित्र महानगर क्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी, पाइपलाइन, सडकबत्ती, टेलिफोनलगायतका सबै भौतिक पूर्वाधारको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण संकलन गरिने उनले बताए। महानगरभित्र रहेका बिग्रेका ढल तथा सडकहरुको थप क्षति हुन नदिन तत्काल मर्मत सम्भार को लागि पूर्वाधार एम्बुलेन्सलाई विस्तार तथा निरन्तरता दिइने उनको योजना छ।

‘फुटपाथको स्तरोन्नति गरिनेछ। बस स्टपहरुमा परम्परागत शैलीको फल्चा बनाउन इच्छुक संस्थालाई सहयोग उपलब्ध गराइने र महानगरले पनि यसलाई प्राथमिकतामा राखेर निर्माण गर्नेछ,’ उनले भने।

उनले सार्वजनिक शौचालयमा नागरिकको पहुँच बढाउने गरी व्यवस्था गरिने पनि योजना अघि सारे।

यस्तै, महानगरपालिकाले रात्रिकालिन व्यवसायलाई प्रोत्साहन गर्ने भएको छ। महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साहले सुरक्षाको प्रबन्ध मिलाई रात्रिकालिन व्यवसायलाई मर्यादित रुपमा सञ्चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका हुन्।

खेलकुदको माध्यमबाट युवाको विकास गर्न महानगरपालिका क्षेत्रमा खुला व्यायामशाला, एरोबिक्स, योग सेन्टर लगायत सञ्चालन गर्न आवश्यक खेलमैदान र पूर्वाधार विकास र विस्तार गर्न निरन्तरता दिइने महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ। त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमसँग छलफल गरि लिग प्रतियोगिता आयोजना गरिने पनि महानगरको योजना छ।

बालेनले नीति तथा कार्यक्रममा ई-स्पोर्टलाई पनि समावेश गरेका छन्। ई-स्पोर्ट प्रवर्द्धनका लागि महानगरका निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिने भएको छ।

स्वदेशी तथा विदेशी शहरहरुसँग भगिनी सम्बन्ध विस्तार गरिने बालेनले बताएका छन्। महानगरभित्र सञ्चालन हुने जात्रा पर्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रवर्द्धन गरिने पनि उनले बताए।

दमकल स्टेशनको व्यवस्था गर्ने योजना सुनाउँदै बालेनले दमकल जान नसक्ने स्थानहरुमा फायर हाइड्रान्ट पोर्टेबल पम्मको व्यवस्था मिलाइने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell