PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डर लाग्दो साइबर अपराध : दिल्लीमा योजना, काठमाडौंमा 'कल सेन्टर' र अपराधीको टार्गेटमा भने अमेरिकन र क्यानेडियन



पहिलोपोस्ट

डर लाग्दो साइबर अपराध : दिल्लीमा योजना, काठमाडौंमा 'कल सेन्टर' र अपराधीको टार्गेटमा भने अमेरिकन र क्यानेडियन

काठमाडौं : केही समयको अनुसन्धानपछि नेपाल प्रहरीको साइबर ब्यूरोको टोली अन्तर्राष्ट्रिय रुपमा जोडिएको साइबर अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ।

ब्यूरोले दिएको जानकारी अनुसार अहिलेसम्म यस घटनाको अनुसन्धानमा चार देश जोडिएको छ। भारतको दिल्लीमा योजना बनाएको गिरोहले नेपालमा कल सेन्टर खोलेर अमेरिकी र क्यानेडियन नागरिकलाई 'स्क्यामिङ' गर्ने गरेको खुलेको हो।

सुचना प्रविधिको दुरुपयोग गरेर मानिसहरुलाई ठगी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस घटनामा संलग्न दुई भारतीय नागरिक सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको नयाँ दिल्लीबाट गिरोह सक्रिय भएको र नेपालमा कल सेन्टर बनाएर अमेरिकन र क्यानेडियन नागरिकलाई प्रविधिको माध्यमबाट ठगी गर्ने गरेको देखिएको छ।

'पेन्सन लिने, ज्येष्ठ नागरिक र एक्लै बस्ने विदेशी नागरिकलाई टार्गेट बनाएको देखिएको छ। अहिलेसम्म नेपालीहरु पीडित भएको देखिएको छैन,' साइबर ब्यूरोका एसएसपी नविन्द्र अर्यालले भने।

प्रहरीले काठमाडौंको धुम्बाराहीस्थित 'अर्विट नेक्सस कम्पनी'का संचालक ३३ वर्षीय विजय श्रेष्ठ, भारतीय नागरिक निसान खैरे र मनिष तिवारी लगायत कल सेन्टरमा काम गर्ने पाँच महिला सहित १३ जनलाई पक्राउ गरेको हो। भारतीय नागरिक तिवारी र खैरे नेपालमा कल सेन्टर संचालन गरि ठगी गर्न नेपाल आएको देखिएको छ। काठमाडौंमा उनीहरुले कल सेन्टर खोलेर ठगी गर्ने गरेको देखिएको छ। 

सुरुवातमा उनीहरुले अमेरिका र क्यानडामा बस्ने मानिसलाई प्रविधिको माध्यमबाट आइपी एड्रेस ह्याक भएको र निम्न नम्बरमा सम्पर्क गर्नु होला भन्ने सन्देश पठाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। त्यहाँ उनीहरुले नम्बर समेत राख्ने गरेका थिए। त्यसपछि साँच्चै समस्या आएको होकी भन्दै कल गर्ने मानिस उनीहरुको निशानामा पर्ने गरेको एसएसपी अर्यालले बताए। यसरी आएको कललाई दिल्लीमा भएका गिरोहले नेपालमा फर्वाड गर्ने गरेको प्रहरीको दाबी छ।

'फोन गरेपछि उनीहरुले तपाईंको उपकरण विभिन्न अपराधिक गतिविधिमा जोडिएको छ, त्यसलाई समधान गर्न यस्तो गर्नु भन्दै विभिन्न तरिका बताउँछन्। त्यही अनुसार फलो गर्नेहरुको सबै सुचनाको जानकारी लिने गरेको देखियो,' एसएसपी अर्यालले भने।

यसरी उनीहरुको बैंक विवरणदेखि व्यक्तिगत सुचना लिएपछि रकम झिक्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ। तर, अहिलेसम्म कति विदेशी पिडित भए, कति रकम झिकियो भन्ने प्रहरीको अनुसन्धानले देखाएको छैन। तर, भारतको नयाँ दिल्लीबाट गिरोह संचालन भएको भने पुष्टि भएको छ। 

नेपालमा गिरोहलाई कमान्ड गर्दै आएका तिवारी र खैरे आइटी सम्बन्धि ज्ञान भएका व्यक्तिहरु हुन्। उनीहरु नेपालमा विलासिताको साथ बसेको अनुसन्धानमा खुलेको छ। घटनामा अन्तरदेशीय अपराध जोडिएकाले इन्टरपोलसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकाहरुविरुद्ध विद्युतिय कारोबार ऐन २०६३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ। यस्ता घटनामा नेपालीहरु पनि पिडित हुनसक्ने भएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell