PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

पहिराले खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध



पहिलोपोस्ट

पहिराले खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध

काठमाडौं : लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडक खण्ड अवरुद्ध भएको हो।

उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नं ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए।

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ। सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ। पहिराले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरूपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए।

पहिराले मकालु–५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ। पहिराले पुल आसपासको भूभाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको उनले बताए। लगातारको वर्षाले उत्तर दक्षिण सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताए।

त्यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ। वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ। अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell