PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मालपोत पुग्दा शान्तादेवीले जब आफ्नै मृत्यु भएको कागज देखिन् …



सविन ढकाल

मालपोत पुग्दा शान्तादेवीले जब आफ्नै मृत्यु भएको कागज देखिन् …

काठामाडौं : शान्तादेवी लोहनी जेठ १३ गते जग्गाको सक्कल लालपूर्जा लिएर कलंकीस्थित मालपोत कार्यालय पुग्छिन्। जेठ ५ गतेमात्र उनी जापानबाट परिवारसहित नेपाल फर्किएकी थिइन्।

२४ वर्ष भइसक्यो शान्ताको जापान बसाई। अघिल्लो पटक जापानबाट आएको बेला अर्थात् २०६३ माघ १० गते उनले कीर्तिपुर नगरपालिका वडा नम्बर २ मा ११ आना जग्गा किनेकी थिइन्। त्यसपछि उनी जापान नै फर्किन्। यसपटक नेपाल आएको बेला आफ्नो नाममा भएको कीर्तिपुरको जग्गा बायोमेट्रिक प्रणालीमा दर्ता गर्ने योजना थियो उनको। त्यसैले उनी पुगिन् कलंकीस्थित मालपोत कार्यालय।

तर मालपोत पुगेर बायोमेट्रिक प्रक्रिया थाल्दा उनको त मृत्यु भएको पो देखियो। त्यतिमात्र हैन आफ्नो मृत्यु भएको भन्दै श्रीमानले जग्गा पनि बेचिसकेछन्। उनी सशरीर मालपोतमा उपस्थित थिइन्। तर कागजमा मृत्यु। अनि जग्गा अर्कैको नाममा गइसकेको। शान्ता छाँगोबाट खसै झैं भइन्।

आफ्नो मृत्युपछि त्यो जग्गा उनका श्रीमान तारानिधि लोहनीको नाममा गएको रहेछ। २०७७ पुस १५ गते श्रीमानको नाममा नामसरी भएको देखियो जग्गा। त्यतिमात्र होइन, त्यसपछि जग्गा २०७७ फागुन १० गते अर्कै व्यक्तिलाई बेचेको देखियो। श्रीमानले सुनिता कर्मचार्यलाई ३ करोड ७० लाख रुपैयाँमा बेचेका रहेछन्।

शान्ताले आफूलाई सम्हाल्ने कोशिश गरिन्। किनकि श्रीमान पनि विदेशमा सँगै भएकाले बिक्री गर्ने सम्भव नै थिएन। अनि श्रीमानले नै मृत्यु भएको भन्दै नामसारी गरेर जग्गा बिक्री गर्ने कुराको विश्वास गर्ने पक्षमा थिइनन् उनी।

त्यसपछि असार ३ गते उनी प्रहरीको सम्पर्कमा पुगिन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान सुरु गर्‍यो। अनि पत्ता लाग्यो - उनको जग्गा केही व्यक्तिले मिलेर नक्कली कागजपत्र बनाइ अर्कैको नाममा बिक्री गरेको रहेछ।

यसरी नक्कली कागजपत्र बनाएर अर्काको नामको जग्गा बिक्री गर्ने पाँच जनालाई प्रहरीले आइतवार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दार्चुलाका ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोकका ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बुका ४० वर्षीय बाबुराम कार्की, नुवाकोटका ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौं घर भएकी ५८ वर्षीया डासीमाया श्रेष्ठ रहेका छन्।

प्रहरीको अनुसन्धानमा उनीहरुले विभिन्न स्थानका ४ विघा जग्गाको कागजपत्र कीर्ते गरी नक्कली जग्गाधनी बनाएर बिक्री गर्न लागेको खुलेको छ।

कसरी गरे अर्काको नामको जग्गा बिक्री?

उनीहरुले लामो समय लगाएर नक्कली कागजपत्र बनाएर जग्गा बिक्री गरेको खुलेको छ। घटनाका मुख्य योजनाकार बाबुराम कार्की र गणेशबहादुर खनाल भएको खुलेको छ। यसरी अर्काको नामको जग्गा बिक्री गर्ने उनीहरुले जग्गाधनी शान्तादेवीको नक्कली श्रीमानदेखि मृत्यु दर्तासमेत बनाउन भ्याए।

शान्तादेवीका नक्कली श्रीमानको रुपमा महावीर चन्दलाई बनाएका थिए। चन्दले आफ्नी श्रीमती शान्तादेवीको मृत्यु भएको भन्दै मालपोतदेखि अन्य गतिबिधिमा संलग्न भएको देखिएको छ। त्यसपछि मालपोत कार्यलयबाट शान्तादेवीको नामबाट नक्कली तारानिधि लोहनीको नाममा जग्गा पास गरेका थिए। २०७७ पुस १५ गते श्रीमानको नाममा नामसरी भएको थियो।

जग्गा पास भएपछि जग्गा खरिद गर्ने मानिस खोज्ने दलालीको रुपमा ममता भन्ने डासीमाया श्रेष्ठ र प्रेमप्रसाद खनालले गरेका थिए। उनीहरुले भक्तपुरकी सुनिता कर्मचार्यलाई जग्गा किन्नेको रुपमा फेला पारे। कर्माचार्य पनि कीर्तिपुरमा नगरपालिका वडा नम्बर २ मा रहेको कित्ता नम्बर ३ सय ४४ को क्षेत्रफल ३ सय ६१ वर्गमिटर भएको जग्गा किन्न राजी भइन्।

३ करोड ७० लाखमा जग्गा किन्ने सहमति भयो। जग्गा किन्ने समयमा कर्माचार्यले जग्गामा हकदाबी हुने डरले हकदाबी गर्ने खोजिन्। श्रीमती मरिसकेकाले हकवाला शान्तिदेवीकी छोरी थिइन्। तर गिरोहले छोरीको बिहे भइसकेकोले हकदाबी नलाग्ने भन्दै विश्वस्त तुलाए।

'उनीहरुले जग्गा बिक्री गर्नको लागि छोरीको नक्कली विवाह दर्तासमेत गरेको कागजपत्र समेत बनाएका थिए,' केन्द्रीय अनुसन्धान ब्युरोका एसपी श्याम महतोले भने।

त्यसपछि सबै नक्कली कागजपत्र बनाएर कर्माचार्यलाई २०७७ फागुनमा जग्गा पास गरेर ३ करोड ७० लाख रुपैयाँ हत्याउन उनीहरु सफल हुन्छन्। उनीहरुले यस घटनामा शान्तादेवीका सक्कली श्रीमानकै फोन नम्बर प्रयोग भएको देखिएको छ। शान्तादेवी र श्रीमान विदेशमा भएकाले मोबाइल नम्बर डिएक्टीभ हुन्छ। उनीहरुले तारानिधिकै नक्कली कागजपत्र बुझाएर टेलिकमबाट उनैको नम्बर लिएर प्रयोग गरेको खुलेको छ।

'यस घटनाले जग्गा किनेर कस्तो अवस्थामा छ। कुनै व्यक्तिले जग्गामा गएर नापजाँच तथा अन्य गतिविधि गरेका छन् वा छैनन जस्ता गतिविधिको बारेमा बुझ्नुपर्ने देखाउँछ,' एसपी महतोले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell