PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

फ्रान्समा राष्ट्रपति माक्रोनले संसदीय निर्वाचनमा ल्याउन सकेनन् बहुमत, परिणामबारे मन्त्री भन्छन् : डेम्रोकेटिक शक



पहिलोपोस्ट

फ्रान्समा राष्ट्रपति माक्रोनले संसदीय निर्वाचनमा ल्याउन सकेनन् बहुमत, परिणामबारे मन्त्री भन्छन् : डेम्रोकेटिक शक
Photo : AP

फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोनको पार्टीले संसदीय निर्वाचनमा बहुमत ल्याउन सकेन। दुई महिनाअघि फेरि राष्ट्रपतिमा निर्वाचित भएपछि माक्रोनले आइतवार भएको निर्वाचनमा ‘फ्रेन्च नेश्नल एसेम्बली’मा बहुमत ल्याउन सकेनन्।

निर्वाचनमा लेफ्ट र फार राइट पार्टीहरुले राम्रो नतिजा ल्याएका छन्। यससँगै माक्रोनलाई आफूले चाहे जसरी सरकार संचालनका लागि कडा चुनौतीको सामना गर्नुपर्ने भएको छ। माक्रोनको सेन्ट्रिस्ट इन्सेम्बल कोलिएशनले मात्र २४५ सिट मात्र जितेको छ। ५७७ सिटमा बहुमतका लागि २८९ सिट चाहिन्छ। बहुमत ल्याउन असफल भए पनि इन्सेम्बल संसदको ठूलो पार्टी रहनेछ।

नुपेसले १३१ सिट जित्दा नेश्नल र्‍यालीले ८९, रिपब्लिकन्स-युडीआइ ६४ सिट, अन्य लेफ्ट पार्टीले २२ सिट जित्दा अन्य दलले २६ सिट जितेका छन्।

निर्वाचनको परिणाम सार्वजनिक भएपछि हालै माक्रोनले प्रधानमन्त्रीमा नियुक्त गरेका एलिसाबेथ बर्नले देशमा चुनौतीहरु सामना गर्नुपर्ने अवस्था आएको बताएकी छिन्।

‘हामी बहुमत पुर्‍याउन भोलिबाट नै काम सुरु गर्नेछौं,’ उनले भनिन्। फ्रान्सका अर्थमन्त्री ब्रुनो लि मारिले भने निर्वाचन परिणामलाई ‘डेम्रोकेटिक शक’को संज्ञा दिएका छन्।

गत अप्रिलमा भएको निर्वाचनमा माक्रोन फ्रान्सको राष्ट्रपति पदमा पुन: निर्वाचित भएका थिए। मारिन ले पेनलाई पराजित गर्दै माक्रोन फेरि राष्ट्रपति बनेका थिए। अवकाशको उमेर बढाउने तथा प्रो बिजनेस एजेन्डा र युरोपियन युनियनको एकताको मुद्दा उठाएका माक्रोन विजयी भएका थिए। आइतवारको निर्वाचनले फ्रान्सेली राजनीतिको अनुहारको परिवर्तन हुन सक्ने र माक्रोनले बहुमत गुमाउने अनुमान पहिला नै गरिएको थियो।

माक्रोनले बहुमत गुमाएसँगै फ्रान्सको राजनीतिमा ‘अनिश्चितता’ उत्पन्न भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। यस्तो अवस्थामा पार्टीहरुबिच शक्ति बाँडफाँट गरेरमात्रै राजनीतिक संकटको समाधान निस्किने जनाइएको छ। माक्रोनको पार्टीले अब कन्जर्भेटिभहरुसँग गठबन्धन गरेर सरकार संचालन गर्न सक्ने अनुमान गरिएको छ। यदि गठबन्धन सम्भव नभए माक्रोनले नयाँ निर्वाचनको घोषणा गर्न सक्ने सम्भावना पनि रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell