PahiloPost

Jun 23, 2024 | १० असार २०८१

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एशियाकै उच्च



पहिलोपोस्ट

नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एशियाकै उच्च

काठमाडौं : आइतवार मध्यरातमा नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढायो। निगमले पेट्रोल एक लिटरमा हालसम्मकै बढी २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँले बढाएको हो।

यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ।

युक्रेन र रसियाबिचको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दो छ। जसको प्रभाव दक्षिण एसियामा समेत गरेको छ। हिजो मूल्य बढेसँगै नेपालको पेट्रोलियम पदार्थको मूल्य दक्षिण एशियाकै उच्च बिन्दुमा पुगेको छ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च रहँदा दक्षिण एसियाका अन्य देशमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्दो छ। 

भारतमा राज्य अनुसार पेट्रोलको मूल्य फरक-फरक छ। राजधानी नयाँ दिल्लीमा ९६.७२ भारु (१५४.७५ नेपाली रुपैयाँ) छ भने चेन्नईमा १०२.६३ (१६४.२०८ नेरु) र कोलकातामा १०६.०३  भारु (१६९.६४८ नेरु) छ। सबैभन्दा महँगो मुम्बईमा १११.३५ भारु (१७८.१६ नेरु) रहेको द इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।

ग्लोबल पेट्रोल प्राइसेस डट कमका अनुसार अफगानिस्तानमा पेट्रोलको मूल्य ८८ अफ्गानी (करिब १२३ नेरु) छ। तर, यो मूल्य वास्तविक मूल्यभन्दा घटीबढी हुन सक्छ।

त्यस्तै, पाकिस्तानमा पनि इन्धनको मूल्य उच्च नै छ। पाकिस्तान स्टेट आयलका अनुसार त्यहाँ पेट्रोल (प्रिमियर युरो पाइभ)को मूल्य २३३.८९ पाकिस्तानी रुपैयाँ (करिब १३९ नेरु) र डिजेल युरो फाइभको मूल्य २६३.३१ पाकिस्तानी रुपैयाँ (१५७ नेरु) रहेको छ।

भुटानमा पेट्रोलको मूल्य १००.२२ एन्‌गुल्ट्रुम (नेरु १६०) रहेको स्टेट ट्रडिङ कर्पोर्सन अफ भुटान लिमिटेडले उल्लेख गरेको छ। यस्तै, त्यहाँ डिजेलको मुल्य ११५.६२ एन्‌गुल्ट्रुम (नेरु १८५) रहेको छ।

त्यसैगरी, श्रीलंकामा पेट्रोलको मूल्य ४२० देखि ४५० श्रीलंका रुपैयाँसम्म छ। पेट्रोल अक्टेन ९२ को मूल्य ४२० (१४६ नेरु) छ भने पेट्रोल अक्टेन ९५ को मूल्य ४५० श्रीलंका रुपैयाँ (१५६ नेरु) छ। यस्तै, डिजेलको मूल्य ४०० श्रीलंका रुपैयाँ (१३९ नेरु) छ।

बंगलादेशमा पेट्रोलको मूल्य ८६ बंगलादेश टाका (११५ नेरु) छ। यस्तै, अक्टेनको मूल्य ८९ टाका (११९ नेरु) छ। यसैबिच, बंगलादेशी सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि  गर्ने योजना बनाएको द डेली स्टारले उल्लेख गरेको छ। २०१३ देखि बंगलादेशी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको थिएन।

ग्लोबल पेट्रोल प्राइसेस डट कमका अनुसार माल्दिभ्समा पेट्रोलको मूल्य १४.६०० रुफिया (११८ नेरु) छ। तर, यो मूल्य वास्तविक मूल्यभन्दा घटीबढी हुन सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell