PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

लालबाबु पण्डितले सभामुखसँग सोधे प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढ्नुको कारण



पहिलोपोस्ट

लालबाबु पण्डितले सभामुखसँग सोधे प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अघि नबढ्नुको कारण

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव अघि बढन नसक्नुको कारण माग गरेका छन्। सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद पण्डितले सो महाअभियोग प्रस्ताव अघि नबढनुको कारणबारे सभामुख अग्निप्रसाद सापकोटाले सदनमा जवाफ दिनुपर्ने माग गरेका छन्।

उनले सो महाअभियोग प्रस्ताव छानबिनका लागि समितिमा रहेका सदस्यहरुको नामावली सभामुख सापकोटा आफैँले घोषणा गरेको उल्लेख गर्दै उनीहरुलाई जिम्मेवारीविहीन अवस्थामा राख्न मिल्ने कि नमिल्ने? भन्दै प्रश्न समेत गरे। सांसद पण्डितले आफ्नो पार्टी एमालेसँग छलफल नै नगरी ल्याइएको सो प्रस्ताव संसदबाट पास हुँदैन भन्ने डरले अघि नबढाएको हो कि भनि आशंका समेत व्यक्त गरे।

उनले भने, ‘यही संसदबाट महाअभियोग प्रस्ताव छलफल गर्नका निम्ति समिति बन्यो। सभामुख महोदयबाटै नाम घोषणा भएर महाअभियोग प्रस्ताव छानबिन गर्नको निम्ति जुन समिति बनेको थियो। अहिले काम पाएको छैन। कहिले काम पाउने हो? र, त्यो महाअभियोग प्रमुख प्रतिपक्षसँग छलफल नगरीकन ल्याइएको र पास हुन सक्दैन भनेर महाअभियोग प्रस्तावका प्रस्तावकहरु नै हराई सक्नु भएको हो कि या उहाँहरु यो प्रस्तावमाथि छानबिन गर्नका निम्ति तयार हुनुहुन्न? के भएको हो?’

उनले अगाडि भने, ‘त्यसकारणले संविधानमा महाअभियोग प्रस्तावको जुन व्यवस्था छ। यदि यसको दूरुपयोग भयो भने, छलफल भएन भने संविधानको यो प्रस्तावलाई जनताले कसरी बुझ्छन्? र भविष्यमा यस्ता संस्थाहरुको जिम्मेवारी र दायित्व कसरी अगाडि बढछ? यसमा सम्माननीय सभामुखज्यूको जिम्मेवारी र दायित्व हुन्छ कि हुँदैन।’

त्यस अवसरमा सांसद पण्डितले विराटनगर विमानस्थल विस्तारका लागि लिइएको जग्गाको मुआब्जा तत्काल उपलब्ध गराउन पनि सरकारलाई दबाब दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell