
काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोली मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमवार भएको समूह चरणको तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।
मलेसियाको किनरारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्दा नेपालको अन्तिम चारको यात्रा तय भएको हो।
१५ रनको सामान्य लक्ष्य पश्चात जवाफी ब्याटिङ गरेको नेपालका लागि सीता राना मगरले ४ रन बनाउँदा कविता जोशीले ३ रन बनाइन्। बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक/एक विकेट लिए।
यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो।
बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्। नेपालका लागि बलिङतर्फ कविता कुँवर र सबनम राईले दुई/दुई विकेट लिए।
त्यस्तै, अस्मिना कर्माचार्यले एक विकेट लिइन्। जितसँगै नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। अब नेपालले हंङकङसँग मंगलवार खेल्नेछ।