
काठमाडौं: आठ वर्षअघि १६ वर्षकी एक किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका रहेका ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई थुनामा राख्न अदालतलेआदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले पाण्डेलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेश अनुसार पाण्डेलाई डिल्लीबजार कारागार लगिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।
सौन्दर्य प्रतियोगिताको नाममा सक्सेस पार्टी भनेर होटेलमा बोलाएर बेहोस बनाउँदै बलात्कार गरेको आरोप लागेपछि पाण्डे जेठ ७ गते पक्राउ गरेका थिए। नेपाल प्रहरीको अनुसन्धान महाशाखाले उनलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो। २२ दिनसम्म अनुसन्धान सकेर प्रहरीले फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो। प्रहरीले घटनासँग सम्बन्धितको बयान, पीडितको बयान लगायतलाई प्रमाणको रूपमा पेश गरेको थियो।
टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट एक जना युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि अनुसन्धान सुरु भएको थियो। २०७१ सालमा भएको मिस ग्लोबल इन्टरनेशनल नामक ब्युटी प्याजेन्टका क्रममा होटेलमा आफूमाथि बलात्कार भएको उनले भिडियोमा बताएकी छिन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि विभिन्न तहका मानिसले कारबाही गर्न दबाब दिएका छन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
आठ वर्ष अगाडिको घटना भएकाले हदम्याद लाग्ने भएपछि प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा म्याद थप गरी अनुसन्धान गरेको थियो। अर्की एक जना किशोरीले पनि पाण्डेविरुद्ध उजुरी दिएकाले प्रहरीले बाल यौन शोषणविरुद्ध पनि अनुसन्धान गरेको थियो। अदालतले मानवबेचविखनको मुद्दा जेल चलान र बाल यौन शोषणको घटनामा १ लाख रुपैयाँ धरौटी मागेको हो।