काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबिच विरोध प्रदर्शनका क्रममा झडप भएको हो।
नेपाल आयल निगमले गए रातिबाट पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। उनीहरुले अहिले साँझ घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका थिए।
प्रदर्शनकारी र प्रहरीबिच ढुंगा हानाहान भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास पनि प्रहार गरेको छ। प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारा लगाउँदै विरोध गरेका थिए।
निगमले पेट्रोल एक लिटरमा २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको छ। एक लिटरमा एकैपटक यति ठूलो मूल्यवृद्धि भएको नेपालमा पहिलोपटक हो।
यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ।
आज बसेको प्रतिनिधिसभामा पनि सांसदहरुले इन्धनमा भएको मूल्यवृद्धिको विरोध गरेका छन्।