PahiloPost

Jul 3, 2024 | २० असार २०८१

पर्सामा रोपाइँको मुखमा रासायनिक मलको हाहाकार, भारतीय बजारबाट महँगोमा मल ल्याउँदै किसान



पहिलोपोस्ट

पर्सामा रोपाइँको मुखमा रासायनिक मलको हाहाकार, भारतीय बजारबाट महँगोमा मल ल्याउँदै किसान

वीरगंज : बर्षेवाली धानको रोपाइँ नजिकिन थालेपछि पर्साका ग्रामीण किसानहरू रासायनिक मलको पखाईमा बसेका छन्। रोपाइँका समयमा आवश्यक पर्ने डीएपी, यूरिया र पोटास लामो समयदेखि कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीले वितरण गरेको छैन।

पर्साको जीराभवानी गाउँपालिका-२ सेढवाका किसान रोगाई चौधरीले चैते धानको रोपाइँका समयमा पनि मल उपलब्ध नहुँदा किसानहरूले निकै दुःख झेल्नुपरेको गुनासो गरे। नेपाली बजारमा मल नपाउँदा भारतीय बजार भंगहा, इनर्वाबाट महँगो मूल्यमा कम तौल भएका मल खरिद गर्नुपरेको उनले बताए।

पटेर्वासुगौली गाउँपालिका-३ का किसान भागवत चौधरीले अगहनी, भदैया मन्सुलीलगायतका धानको बीउ हाल्ने समयमा मल नपाउँदा नेपाली बजारमा आएका केही निजी कम्पनीको मल प्रयोग गरी काम चलाएको बताए। उनले सो मल पनि निकै महँगो भएको तर गुणस्तरहीन भएको बताए।

सो मल प्रतिबोरा २ हजार पाँच सय रुपैयाँमा बिक्री भइरहेको उनले बताए। नेपाल सरकारको अनुदानमा वितरण हुने डीएपी मलको मूल्य प्रति बोरा दुई हजार ३ सय र यूरिया मलको मूल्य ८५० रुपैयाँ तोकिएको थियो।

जगरनाथपुर गाउँपालिका-३ का किसान उपेन्द्र यादवले मल अभावको बेला भारतीय बजारमा मलको मूल्य आकाशिएको बताए। उनले सात सय रुपैयाँ पर्ने यूरिया मलको दाम अहिले १४ सय रुपैयाँ पुगेको बताए।

त्यस्तै, २ हजार एक सय रुपैयाँ पर्ने डीएपी मल अहिले दुई हजार आठ सय पुगेको बताए। नेपाली  बजारमा मल कहिले आउने सम्बन्धमा जीराभवानी-२ सेढवामा सञ्चालित मारूतिनन्दन कृषि सहकारी संस्थाका सञ्चालक सत्यनारायण साहले एक साताभित्र मल आउने बताए। तर, कृषि सामग्री कम्पनीले असी बोरा मात्र मल दिने सूचना दिएको र माग ठूलो भएकाले मल वितरण गर्न ठूलो समस्या हुने साहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell