PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कतै 'ज्युँदोलाई मारेर' त कतै 'मरेकालाई ब्युँताएर' करोडौंको जग्गा हत्याउने खेल, मालपोतकै कर्मचारीको पनि मिलेमतो!



सविन ढकाल

कतै 'ज्युँदोलाई मारेर' त कतै 'मरेकालाई ब्युँताएर' करोडौंको जग्गा हत्याउने खेल, मालपोतकै कर्मचारीको पनि मिलेमतो!

काठमाडौं : पैसा कमाउन मानिसहरुले के सम्म गर्दैनन्? मिलेमतोमा करोडौं हत्याउन मरेका मानिसलाई कागजमा ज्युँदो बनाउनदेखि जीवितलाई मरिसकेको बनाउनसम्म सक्छन् भन्ने उदाहरण पछिल्ला घटनाहरुबाट पुष्टि भएका छन्।

आइतवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी) ले यस्तै एउटा घटना सार्वजनिक गर्‍यो। जीवित व्यक्तिलाई मरिसकेको भन्दै कागजपत्र कीर्ते गरेर जग्गा बिक्री गरेका दार्चुलाका ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोकका ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बुका ४० वर्षीय बाबुराम कार्की, नुवाकोटका ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौं घर भएकी ५८ वर्षीया डासीमाया श्रेष्ठ प्रहरीको फन्दामा परेका छन्। उनीहरुले काठमाडौंको कीर्तिपुर नगरपालिका वडा २ मा रहेको करिब ७ करोड मूल्य पर्ने जग्गाको नक्कली कागज बनाएर बिक्री गरेको खुलेको हो।

२०५५ सालदेखि शान्तादेवी लोहनीको परिवार जापानमा बस्दै आएका थिए। पक्राउ परेकाहरुले शान्तादेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर भक्तपुरको सुनिता कर्माचार्यलाई जग्गा बिक्री गरेका थिए। लामो समयको जापान बसाइपछि नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा बेचिएको थाहा पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा असार १ गते उजुरी दिएकी थिइन्।

नेपाल आएपछि लोहनी जेठ १३ गते मालपोत कार्यालय कलंकी पुगेकी थिइन्। सक्कल पूर्जा देखाई बायोमेट्रिक प्रणालीमार्फत अभिलेखन गर्ने क्रममा मालपोत कार्यालय, कलंकीले उक्त जग्गा मृत्यु नामसारी भइसकेको जनाएको थियो। त्यतिमात्र हैन जग्गा भक्तपुर निवासी सुनिता कर्मचार्यलाई बिक्री गरेको खुलेको थियो। सुनितालाई २०७७ फागुन १० गते ३ करोड ७० लाख रुपैयाँमा जग्गा बिक्री गरिसकेका रहेछन्।

पक्राउ पर्नेमध्ये गणेश खनाल मुख्य योजनाकार रहेको प्रहरीले जनायो। उनले जग्गा किन्ने व्यक्ति खोज्ने र आर्थिक कारोबारको व्यवस्थापन हेर्ने, बाबुराम कार्कीले नक्कली कागजपत्र बनाउने र मालपोत कार्यालयमा समन्वय गर्ने गरेका थिए। महावीर चन्दले यो योजनामा शान्तादेवीको श्रीमान तारानिधि लोहनीको भूमिका निर्वाह गरेको देखिएको छ।

पक्राउ परेकासँग नक्कली नागरिकताको प्रमाणपत्र, नक्कली जग्गाधनी प्रमाणपत्र लगायतका कागजपत्र बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धान यो समूहले तराईको ४ बिघा जग्गा पनि कीर्ते गरेर अरुलाई नै बिक्री गर्न लागेको खुलेको छ। प्रहरीले उनीहरुको साथबाट नक्कली कागजपत्र समेत फेला पारेको छ।

'अरुको ४ बिघा जग्गा पनि यसरी नै कीर्ते कागजपत्र बनाएर बिक्री गर्न लागेको देखिन्छ। यस घटनामा हामी थप अनुसन्धान गरिरहेका छौं,' ब्युरोका एसपी श्याम महतोले भने।

मातपोतका कर्मचारी नै मिलेर अरुको जग्गा बिक्री

कीर्तिपुरको ११ आना जग्गा प्रकरणमा अहिलेसम्म मातपोत कार्यालयका कर्मचारीको संलग्नता खुलेको छैन। प्रहरीले यस घटनामा अरु पनि जोडिन सक्ने आशंकामा अनुसन्धान गरिरहेको छ। तर डेढ वर्षअघि काठमाडौंको थानकोटको जग्गा भने मालपोतका कर्मचारीको मिलोमतोमा नक्कली कागजपत्र बनाएर बिक्री गरेको खुलेको थियो। उक्त घटनामा १० जनाभन्दा बढी पक्राउ गरिएको थियो।  

उक्त कीर्ते प्रकरणमा प्रहरीले काठमाडौं बुढानीलकण्ठ नगरपालिकाका ४७ वर्षीय विजयकुमार खड्का, चितवन राप्ती नगरपालिका पिप्ले बस्ने बालप्रसाद भट्ट, काभ्रे पनौती नगरपालिका रामचन्द्र पुडासैनीसमेत भन्ने पुण्डेप्रसाद काफ्ले, सङ्खुवासभा नुनढाकी गाउँपालिका इन्द्रबहादुर खत्री भन्ने इन्द्रबहादुर घले, रामेछाप मन्थली नगरपालिका बस्ने बालकृष्ण बुढाथोकी, काठमाडौँ गोकर्णेश्वर ६ बस्ने लक्ष्मी घतानी, ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका विजयप्रकाश सुनुवार, सिन्धुली कमलामाई नगरपालिका कृष्ण थापा मगर भन्ने कृष्णबहादुर दर्लामी र झापा, कचनकवल नगरपालिका कृष्णबहादुर कटुवाल, नुवाकोट ककनी गाउँपालिका ८ घर भएका नारायण श्रेष्ठ, काठमाडौं टोखा नगरपालिका बस्ने दीपक दाहाल र खरिदार दीपा पङगेनीलाई पक्राउ गरेको थियो। श्रेष्ठ मालपोत कार्यालय कलङ्कीका नायब सुब्बा र दाहाल (तत्कालीन) शाखा अधिकृत हुन्। काठमाडौं जिल्ला अदालतको आदेशमा दाहाल र श्रेष्ठ ४ लाख रुपैयाँ र पङ्गेनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

उनीहरूले मीना खड्काको नामको थानकोटमा रहेको २० आना जग्गाको नक्कली जग्गाधनी र कागजपत्र बनाएर ७२ लाख रुपैयाँ ठगी गरेको खुलेको थियो। यस घटनामा पनि वास्तविक जग्गाधनी भने बेल्जियममा थिइन्।

मालपोत अधिकृत र नासु मिलेर नक्कली धनी खडा गरेर २०७६ पुस २३ गते लिखत पारित गरेको फेला परेको हो। प्रहरीका अनुसार अधिकृत तथा नासुले कलङ्कीको एक होटेलमा बसेर कीर्ते कागजात तयार पारेका थिए।

केही समयमा वास्तविक जग्गाधनीले थाहा पाएपछि मालपोत कार्यालय कलङ्कीमा रहेको मोठ (जग्गाधनी दर्ता स्रेस्ता) सच्याई (केरमेट गरी) नामसारी बदर गरी मीना खड्काकै नाममा जग्गा कायम भएको अनुसन्धानमा देखिएको थियो। अधिकृत दाहालले पीडितलाई बोलाई राजीनामा लिखत र जग्गाधनी पूर्जा फिर्ता लिई आफैँले राखेको खुलेको छ।      

उनीहरूले मीना खड्काको जग्गामा लक्ष्मी घरानीलाई मालिक बनाएका थिए। मीना खड्काको नामको नक्कली नागरिकता र नक्कली जग्गाधनी पूर्जामा फोटो लक्ष्मी घरानीको टाँस गरी भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ बस्ने कृष्णगोपाल श्रेष्ठ, रत्न केशरी म्हका श्रेष्ठ, कृष्णभक्त माक श्रेष्ठ, विजय लक्ष्मी श्रेष्ठबाट ७२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

साथै, त्यही जग्गा फेरि काभ्रे धुलिखेल बस्ने कुमार दाहाल खत्रीलाई आनाको साढे १० लाखमा मूल्याङ्कनमा राजीनामा पास गरी दिने भनी खत्रीबाट २०७६ मंसिर ३० गते बैना बापत ३५ लाख रुपैयाँ लिएको देखिएको छ।

'अब जग्गा किनेर ढुक्कले विदेशमा बस्नेमात्र गर्नु भएन। आफ्नो जग्गामा के भइरहेको छ? कोही शंकास्पद व्यक्तिको आवतजावत भएको छ कि छैन भनेर बुझिरहनुपर्ने देखियो,' एसपी महतोले भने।

मरिसकेकालाई 'ज्युँदो' बनाउँदै कीर्ते

एक वर्षअघि झापामा मरिसकेका व्यक्तिलाई कागजमा ज्युँदो बनाएर जग्गा किर्ते गरेको घटना बाहिरियो। यस घटनामा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो।

झापाका ३९ वर्षीय मङ्गलसिंह राजवंशी, ५२ वर्षीय नवीन कोइराला, ५० वर्षीय लीलाधर राजवंशी, ३७ वर्षीय बलराम विश्वकर्मा, भुपदेव कटुवाल, लेखनाथ खनाल, गोविन्द बान्तवा (मिलन), ७१ वर्षीय देवीप्रसाद पाण्डे, ३३ वर्षीय रञ्जु राई र मोरङका ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन्। पक्राउ परेका नवीन कोइराला नापी कार्यालयका पूर्व कर्मचारी हुन्। त्यस्तै भुपेदेव कटुवाल नेपाल विद्युत् प्राधिकरण फिक्कल शाखाका कर्मचारी भएको खुलेको छ।                         शान्ता लोहनीको जग्गा प्रकरणमा समातिएका अभियुक्त

घटनामा जोडिएका अन्य भने फरार छन्। फरार हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुर झापाका अधिकृत चेतन अधिकारी, गौरादह नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बलराम खरेल, भूमिसुधार तथा मालपोत कार्यालय, भद्रपुर झापाका तत्कालीन नायब सुब्बा हरि तिवारीलगायत रहेका छन्।

उनीहरूले झापा बिर्तामोड नगरपालिका वडा नम्बर १ मा रहेको टुंगबहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा कीर्ते गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। मृत्यु भएका बस्नेतको नागरिकतामा भएको विवरण समावेश भएको नक्कली नागरिकता बनाई मङ्गलसिंह राजवंशीको नाममा वारेसनामा बनाएको र उक्त वारेसनामामार्फत् झापा बिर्तामोडका रञ्जु राईको नाममा राजीनामा पास गरेको खुलेको थियो।

पूर्व कर्मचारी र मालपोत कार्यमा आवतजावत गरिरहने जग्गाको कारोबारमा संलग्न व्यक्तिहरूको मिलेमतोमा ३ वर्ष अगाडिबाट भेला भएर योजना बनाएको खुलेको थियो।

गायक योगेश्वर अमात्यको जग्गामै कीर्ते

बाराको विश्रामपुरस्थित गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको थियो। कुमारी बैंकका कर्मचारीको मिलोमतोमा १९ करोड रुपैयाँ ऋण लिएको सिआइबीको अनुसन्धानमा देखिएको थियो।

कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया, नक्कली कागजपत्र बनाएर कर्जा लिने एसकुमार महर्जन र मुक्तिलाल गौतमलाई (सीआईबी)को टोलीले नियन्त्रणमा लिएको थियो। जिल्ला अदालतको आदेशअनुसार सोनु ठाकुर, मुक्तिलाल गौतम, एसकुमार महर्जनलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। त्यस्तै, राजेश चौरसिया भने १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

यस घटनाको अनुसन्धान नेपाल राष्ट्र बैंकले समेत गरिरहेको छ। कित्ता नम्बर १०६९ को एउटै प्लटको जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंक वीरगन्ज शाखाले काठमाडौंको न्यूरोडलाई कर्जा प्रवाह गरेको थियो। नक्कली लालपुर्जा राखेर ऋण लिएको बैंकले थाहा पाएपछि भदौ अन्तिममा नै ऋणीबाट कमसल धितो भन्दै ऋण सकारेको थियो। १ अर्ब बराबरको जग्गालाई ३८ करोड रुपैयाँ मूल्याङ्कन गरेर ऋण प्रवाह गरिएको थियो।

'जग्गा हेर्न राखेको मानिसले मलाई जानकारी दिएपछि मात्र थाहा पाएँ। पहिलेदेखि नै मेरो जग्गामा भु-माफियाको आँखा लागेको थियो,' गायक अमात्यले भने।

मालपोत कर्मचारीको मिलेमतोमा जग्गा कीर्ते भएका घटना धेरै भेटिने गरेका छन्। ४ वर्षअघि ६ करोड रुपैयाँ बराबरको जग्गा कीर्ते गरी बिक्री भएको आरोपमा काठमाडौंको चाबहिल मालपोत कार्यालयका अधिकृतसहित चार जना समातिएका थिए।

त्यतिबेला मालोपत कार्यालयका अधिकृत खगेन्द्र अर्याल, नासु रघुनाथ तिमिल्सिना र नासु रञ्जनकुमार खरेल र नासु जमुनाकुमारी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। चन्दनकृष्ण कायस्थको बूढानिलकण्ठमा रहेको ४० आना जग्गा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा बिक्री भएको प्रहरीको अनुसन्धानमा देखिएको थियो। बुढानीलकण्ठ ७ को ‘ग’ को कित्ता नम्बर ३२३, ३२५ र ३२९ को जग्गा कीर्ते गरी श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईको नाममा पास गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell