काठमाडौं : मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। यही अवसरमा सरकारले पनि विभिन्न कार्यक्रम गर्दैछ।
मंगलवार बिहान सैनिक मुख्यालयमा आयोगित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवादेखि शिक्षामन्त्री देवेन्द्र पौडेलसम्म पुगे। पर्यटन मन्त्री प्रेम आले पनि कार्यक्रममा सहभागी भए।
कार्यक्रममा शिक्षामन्त्री पौडेल, कृषिमन्त्री महिन्त्र राय यादवदेखि सहरी विकासमन्त्री योग अभ्यासमा उत्रिएका थिए।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।
उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो।