PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

कालीगण्डकी करिडोरको बागलुङ खण्डका विभिन्न ठाउँमा पहिरो, तीन दिनदेखि सडक अवरुद्ध



रासस

कालीगण्डकी करिडोरको बागलुङ खण्डका विभिन्न ठाउँमा पहिरो, तीन दिनदेखि सडक अवरुद्ध
फाइल फोटो।

गलकोट : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको छ।

जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।

सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरुमा जान समस्या भएको छ भने बागलुङबाट बुटवल जाने यात्रीहरुलाई समेत समस्या परेको छ। अवरुद्ध सडक खुलाउन सडक विभागले कुनै चासो नदिएको स्थानीयवासीको भनाइ छ।

पहिरो पन्छाउँदै सडक सञ्चालन गरे पनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीयवासीको भनाइ छ। बागलुङ बजारको मालढुङ्गा, बलेवा, जैमिनी नगरपालिका-१ कुश्मिसेरा, वडा नम्बर ५ बिनामारे, वडा नम्बर ६ अर्जेवा, वडा नम्बर ७ जैदी र वडा नम्बर ८ छिस्तीको तल्लो खण्डमा कालीगण्डकी करिडोर सडक पर्दछ।

यस्तै, जैमिनी नगरपालिका-७ जैदी र वडा नम्बर ८ छिस्ती जोड्ने चौरीखोलामा समयमा पुल नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ। कालीगण्डकी करिडोरमा पर्ने सो खोलामा राखिएको बेलिब्रिज निकालिएको र अर्को पुल निर्माण सम्पन्न नहुँदा हिँडेर खोला तर्नसमेत कठिन भएको स्थानीय नवीन अधिकारीले जानकारी दिए।

करिडोरअन्तर्गत सो खोलामा यातायातसमेत सञ्चालन हुन सकेको छैन। सवारी साधनका लागि डाइभर्शन बनाएको भएपनि बर्खाको बाढीले बगाउँदा करिडोर हुँदै बुटवल पुग्ने बाटो अहिले अवरुद्ध रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell