
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा कर्माछिरिङ शेर्पालाई हराउँदै पंकजविक्रम नेम्बाङ अध्यक्ष बनेका छन्। वरिष्ठ उपाध्यक्षमा उनकै प्यानलका वीरबहादुर खड्का निर्वाचित हुँदा उपाध्यक्ष र केन्द्रीय सदस्यमा अधिकांश नेम्बाङ पक्षका नै छन्। झापा फुटबल संघ हुँदै एन्फा प्रवेश गरेयता कार्यसमितिमा निरन्तर रहेका नेम्वाङ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष बनेका हुन्।
नेम्बाङ र शेर्पा यसअघि एकै प्यानलबाट अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए। पछि सम्बन्धमा फाटो आएपछि यी दुई ध्रुबमा बाँडिएका थिए। सोमवार एन्फाको २१ औं चुनावी साधारण सभाबाट पुराना हितैसी कर्माछिरिङ शेर्पालाई ६ मत अन्तरले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षका लागि एन्फाको नेतृत्वमा पुगेका छन्। नेम्वाङले कुल ८४ मतमा ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मतले प्राप्त गरे।
पंकजसँगै कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, तीन उपाध्यक्षसहित उनकै पक्षको बाहुल्य रहेको छ। एन्फा नेतृत्वमा नेम्बाङ आएसँगै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको भविष्यलाई लिएर पनि चर्चा चुलिएको छ।
खेलाडी प्रशिक्षक विवाद सुल्झाउने प्रतिबद्धता
नेम्बाङले अध्यक्ष भएसँगै खेलाडी र प्रशिक्षकको विवाद सुल्झाउने पहिलो प्राथमिकता रहेको बताए। अध्यक्ष नेम्बाङले तत्कालको लागि एन्फा र जिल्ला, एन्फा र खेलाडी तथा फिफा र एएफसी सम्बन्ध अझै सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले खेलाडी र प्रशिक्षकको विवादबारे पहिलो बैठकबाट निर्णय गर्ने बताए।
‘छानबिन समितिको प्रतिवेदनको बृहत रुपमा छलफल गर्छौं। सबै पक्षसँग बसेर समस्याको समाधान गर्नेछौं,' उनले अगाडि भने,'फिफाबाट प्रारम्भिक आर्थिक प्रतिबन्ध जस्तै अवस्था छ। सोही कारण साधारणसभामा अडिट रिपोर्ट पेस गर्न सकेनौं। यो दायित्व पूरा गर्नेछौं।'
एसिया कप छनोटका लागि प्रशिक्षणका क्रममा खेलाडी र प्रशिक्षकबिचको विवाद चुलिएको थियो। जसक्रममा १० जना सिनियर खेलाडी क्याम्पबाट बाहिरिएका थिए भने प्रशिक्षक अलमुताइरीले ती १० जना र उनीहरुलाई समर्थन गर्ने तत्कालीन कप्तान किरण चेम्जोङसमेतलाई बाहिर राख्दै नयाँ खेलाडी बोलाएर टिम बनाएका थिए। नयाँ टिमले एसिया कप छनोटको पहिलो खेलमा सन्तोषजनक प्रदर्शन गरे पनि दुई खेलमा कमजोर प्रदर्शन गरेको थियो।
एसिया कपबाट फर्किएसँगै नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले टोलीमा अनुभवी खेलाडीको अभाव खड्किएको बताएका थिए।
अर्कोतर्फ खेलाडी प्रशिक्षक विवाद लम्बिँदा एन्फाले छानविन समिति गठन गरेको थियो। एन्फाले बैशाख २५ गते आर्मीका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय समितिले २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो। जेठ ४ गते एन्फा महासचिव इन्द्रमान तुलाधरले प्रतिवेदन ग्रहण गरेका थिए। तुलाधरले प्रतिवेदनको अध्ययन गर्ने र आवश्यक कदम चाल्ने बताएका थिए। प्रतिवेदनमा एसिया कप छनोट पछि प्रशिक्षक परिवर्तन गर्न सुझाव दिइएको छ।
'एसिया कप छनौट प्रतियोगिता पछि कतार एफ.ए सँगको सहयोगलाई निरन्तरता र सहमती कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ,' प्रतिवेदनमा भनिएको छ।
वरिष्ठ उपाध्यक्ष खड्काले पनि खेलाडी प्रशिक्षक विवाद मिलाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका थिए।
‘पहिलो प्राथमिकता भनेको टोली भन्दा बाहिर रहेका खेलाडीको विषयलाई टुङ्गो लगाउँछौं। खेलाडी भएर मात्र संस्था रहने हो। खेलाडीको हकहितका लागि विशेष गरी काम गर्छौं। सँगै जिल्ला, क्लवहरुसँगको सम्बन्ध सुधारका लागि काम गछौं,’ वरिष्ठ उपाध्यक्ष खड्काले भने।
अलमुताइरीको नेपाल छाड्ने ‘क्लू’, एकछिनमै ‘डिलिट’
अर्कोतर्फ नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी विवादमा आइरहन्छन्। उनले यसअघि पनि पंकज नेम्बाङ नेतृत्वमा आए आफू नेपाली फुटबलमा नरहने आशयमा अभिव्यक्ति दिएका थिए। उसो त नेम्बाङसँगको अलमुताइरीको कटुता पुरानै हो। अलमुताइरीले नेम्बाङले दु:ख दिएको कारण आफू फुटबल प्रशिक्षकबाट राजीनामा दिन गइरहेको भन्दै सामाजिक सञ्जालमा समेत लेखेका थिए। भलै उनले त्योबेला राजीनामा दिएनन् तर नेपाली फुटबल छाड्ने घुर्की लगाउने क्रमलाई भने निरन्तरता दिइरहे।
एन्फाको नेतृत्वमा नेम्बाङ आएसँगै उनले सोमबार राति इन्स्टाग्राममा नेपाली फुटबललाई शुभकामना भन्दै समर्थकहरुलाई धन्यवाद दिएका थिए।
'नेपाल मेरो मुटुमा छ तर हरेक कथाको अन्त्य हुन्छ,' उनले इन्स्टाग्राम स्टोरीमा लेखेका थिए। तर, उनले उक्त स्टोरीलाई तुरुन्तै हटाए। उनको स्ट्याटसको ‘स्क्रिनसट’ समाजिक सञ्जालमा छरपस्ट छ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग विवादमा पनि मुछिएका नेम्वाङले एशियन कप छनोटको क्रममा खेलाडी र प्रशिक्षकको विवादबारे कार्यसमितिको पहिलो बैठकपछि निर्णय लिने बताएका छन्।