PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

देउवा नेतृत्वको सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍यायो : ओली



पहिलोपोस्ट

देउवा नेतृत्वको सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍यायो : ओली
फाइल फोटो।

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताएका छन्। अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहिनताको अवस्थामा पुर्‍याएको दावी समेत गरे।

मंगलवार पूर्व राजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका डेमोक्रेसीमा हुँदै नहुने गतिविधिहरुमा सरकार संलग्न भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरुबिच राष्ट्रिय सहमतिका साथ अघि बढनुपर्ने अवस्थामा सरकारले त्यसो नगरेको अध्यक्ष ओलीको भनाइ थियो।

अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तर्राष्ट्रिय मञ्चहरुमा जाँदा, अन्य देशको भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरुसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने त्यो काम पनि गर्न नचाहेको आरोप लगाए।

उनले भने, ‘यो सरकार बनेपछि सिम्पली भन्ने हो भने संवाद छैन। २०४६ साल पछि यस्तो संवादहिनता कुनै पनि विषयमा प्रतिपक्ष त कन्सिच्यूसन्नली प्रतिपक्ष हो नि। यो सँग कुनै परामर्श पनि नगर्ने र सबै कुरा गोप्य राखिने र प्रतिपक्षका विरुद्ध जाने खालका कुराहरु यस्तो डेमेक्रेसीमा हुँदैन।’

उनले अगाडि भने, ‘प्रतिपक्ष भनेको एउटा बैकल्पिक सरकार हो। सरकारमा जानका लागि तयार शक्ति हो भनेर मानिन्छ। त्योसँग त परामर्श गर्नु पर्छ नै। साथसाथै विज्ञहरुसँग परामर्श गर्ने हाम्रो चलन थियो। हामी जहिले पनि प्रधानमन्त्री बाहिर जान्छ भने यूएनमा जानुभन्दा अगाडि, अरु त्यस्तो फोरमहरुमा जानुभन्दा अगाडि अथवा कुनै देशको भ्रमण गर्नु भन्दा अगाडि किन जाँदैछ? त्यहाँ गएर के गर्छ? भन्ने कुरामा छलफल गरिन्थ्यो र कसरी जाऊ, केके गरौँ भनेर परामर्श गरिन्थ्यो। यसो भएको छैन यो एउटा अलि गम्भिर कुरा हो।’

अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको बताए। लोकतन्त्रमा, प्रजातन्त्रमा सहमतीको नयाँ डेफिनेशन गर्नु हुन्छ भने प्रतिपक्षसँग परामर्श नगरी सरकार चलाए हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell