PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भोलिदेखि वायुसेवा संचालक संघले आन्तरिक उडान ठप्प पार्ने



पहिलोपोस्ट

भोलिदेखि वायुसेवा संचालक संघले आन्तरिक उडान ठप्प पार्ने

काठमाडौं : उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि वायुसेवा संचालक संघ नेपालले बुधवारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका छन्।

बैठक पूर्व तयारीबिना नै नेपाल नागरिक उड्डयन प्राधिकरणले धमाधम उडान रोक्न थालेपछि संघको आकस्मिक बैठकले यो निर्णय गरेको हो। संघका एक पदाधिकारीका अनुसार प्राधिकरणको निर्णयविरुद्ध बुधवारदेखि आन्तरिकतर्फका सबै उडान रोक्ने निर्णय भएको छ।

‘सामान्य समय नदिई प्राधिकरणले उडान रोक्न थालेको छ। यसले उद्धार उडान समेत रोकिएपछि हामी आकस्मिक बैठक बसेर बुधवारदेखि सबै उडान रोक्ने निष्कर्षमा पुगेका हौँ’, उनले भने, ‘अत्यावश्यक सेवा बन्द गर्ने हाम्रो मनसाय होइन। तर, सरकारी निर्णयले बाध्यात्मक अवस्था सिर्जना भयो।’

संघले सरकारको निर्णयविरुद्धमा उडान रोक्ने बारेमा अहिले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिँदैछ।

कुन-कुन रोकिए?

प्राधिकरणले काठमाडौं बेस नरहेका हेलिकोप्टरको उडानमा रोक लगाएको छ। हेलि एभरेष्ट, मनाङ, माउन्टेन, कैलाश, अल्टिच्युड, मुस्ताङ लगायत काठमाडौं बेस पाएका ६ वटा कम्पनी बाहेकलाई काठमाडौंबाट उडान गर्न रोक लगाइएको छ।

मंगलवार रामेछापमा बिरामी उद्धार गर्न जान लागेको सिम्रिकको हेलिकोप्टरलाई उडान गर्न रोक लगाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीका अनुसार प्रभु हेलिकोप्टरको पनि उडान रोकिएको छ।

प्रभु हेलिकोप्टरले स्थापनाकालदेखि नै पोखरा बेस रहेर आफ्नो सेवा दिँदै आएको छ भने सिम्रिक एयरको पाँचैवटा जहाजले नेपालगञ्ज बेस रहेर उडान गर्ने इजाजत पाएको छ। एयर डाइनेष्टीले दुईवटा काठमाडौं, एउटा लुक्ला र एउटा पोखरा बेस रही उडान गर्ने जनाएको छ।

उनका अनुसार मुलुकमा ११ वटा हेलिकोप्टर कम्पनी छ भने ती कम्पनीका ३७ वटा हेलिकोप्टर छ।

जहाज कुन-कुन प्रभावित हुन्छन्?

प्राधिकरणको निर्णयसँगै ६७ प्रतिशत जहाज काठमाडौं बाहिरै राखेर उडान गर्नुपर्ने भएको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको ट्राफिक कन्जेसन नियन्त्रण गर्ने उद्देश्यले यस्तो प्रावधान लागू गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। यो असार १३ गतेदेखि कार्यान्वयनमा आउनेछ।

‘हामीले पहिलै यो प्रावधान लागू गरिदिएका थियौँ। तर, पालना भएको थिएन। फिक्स विङ अन्तर्गत नौ वटा वायुसेवा कम्पनीको ५२ वटा जहाज छन्। टीआइएमा उडान-अवतरणका लागि जहाज क्षमता १७ वटा हो। अब बाँकी ३५ वटा जहाजले बाहिर जिल्लाका विमानस्थललाई बेस बनाएर नियमित उडान गर्नु पर्नेछ,’ प्रवक्ता सिटौलाले भने।

उपत्यका बाहिर बेस राखेर नियमित उडान गर्दा चहलपहल वृद्धि हुनुका साथै काठमाडौं विमानस्थलमा भिडभाड कम हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell