काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुद विश्वविदयालयसम्बन्धि कार्यदल गठन गरेको छ। राखेपले खेल क्षेत्रको समग्र विकासका लागि खेलकुदसम्बन्धि छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धि कार्यदल गठन गरेको हो।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलका सदस्यहरुमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा अचुतम लामिछाने र हरिहर श्रेष्ठ रहेका छन्।
राखेपका सदस्य-सचिव टंकलाल घिसिङले उनीहरुलाई मंगलवार पत्र हस्तान्तरण गरे। सदस्य-सचिव घिसिङले यसको कार्यन्वयनको पाटो अझ महत्वपूर्ण भएको भन्दै धेरै आशा रहेको बताए।
‘योजना बनाउन जति जरुरी छ त्यो भन्दा पनि अझ महत्वपूर्ण पाटो योजनालाई कार्यान्वयन तहमा पुर्याउनु हो। कार्यदलमा विज्ञ र अनुभवी महानुभावहरु हुनुहुन्छ। यहाँहरुबाट मैले धेरै आशा गरेको छु,’ उनले भने।