PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

टिकटकबाट प्रेम बसेपछि विवाह गर्न ‘अपहरण’को नाटक, इमोबाट सालालाई वीभत्स भिडियो पठाएर २० लाख फिरौती माग



पहिलोपोस्ट

टिकटकबाट प्रेम बसेपछि विवाह गर्न ‘अपहरण’को नाटक, इमोबाट सालालाई वीभत्स भिडियो पठाएर २० लाख फिरौती माग

काठमाडौं : असार १ गते घरमा पैसा पठाउन भन्दै ३१ वर्षीय कृष्णकुमार शर्मा डेराबाट निस्किन्छन्। सप्तरी राजगढ घर भएका उनी केही समयदेखि फर्निचरको काम गर्दै ललितपुरको इमाडोलमा बस्दै आएका थिए। त्यसपछि केही समयसम्म पनि उनी सम्पर्कमा आउँदैनन्।

उनले बोक्ने मोबाइलमा फोन गर्दा समेत ‘स्विच अफ’भएको जवाफ आउँछ। त्यसपछि उनीका आफन्तहरू असार २ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सम्पर्कविहीन भएको भन्दै उजुरी लिएर पुग्छन्।

अपहरण भएको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गर्छ। यता घटनाको अनुसन्धानमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालय पनि जोडिन पुग्छ। प्रहरीले आफ्नो  विधिबाट अनुसन्धान थालिसकेको हुन्छ।

सम्पर्कविहीन भएको भोलिपल्ट एक्कासी उनले प्रयोग गर्ने मोबाइल नम्बरको इमोबाट एउटा म्यासेज आउँछ। जुन म्यासेजले परिवारलाई थप पीडा थपिदिन्छ।

आफ्नो सालोको मोबाइल नम्बरमा म्यासेज आएको हुन्छ। म्यासेजमा कृष्णलाई मार्नको लागि ८ लाख रुपैयाँ प्राप्त भइसकेको भनिएको हुन्छ। तर, २० लाख रुपैयाँ रकम दिए अपहरणमुक्त गरिदिने सर्त राखिएको हुन्छ।

दुई दिन भित्र रकम बुझाउन भनिएको हुन्छ। म्यासेज मात्र होइन त्यो सँगै कृष्णकुमारको भिडियो समेत आएको हुन्छ। जुन भिडियोले झन् परिवारका सदस्यलाई विक्षिप्त बनाउँछ।

भिडियोमा मुखबाट रगत बगेर शरीरको कपडा लागेको र च्यातिएको देखिन्छ। प्रहरीमा खबर गरेमा मार्ने धम्की समेत दिइएको हुन्छ। तर, प्रहरीले आफ्नै ढङ्गबाट अनुसन्धान गरिरहेको हुन्छ।

आइतवार प्रहरीले कृष्णकुमारलाई ‘अपहरण मुक्त’ गर्न सफल हुन्छ। मोरङ प्रहरीको सहयोगमा कृष्णकुमारलाई प्रहरीले मोरङबाट काठमाडौं ल्याउँछ। तर, एकाएक घटनामा ‘ट्वीस्ट’ आउँछ।

अपहरणमा परेका भनिएका कृष्णकुमार लाई नै प्रहरीले पक्राउ गर्छ। परिवारसँग पैसा असुल्नको लागि अपहरणको नाटक गरेको अनुसन्धानमा देखिएपछि उनलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालय एसपी कृष्ण कोइरालाले बताए।

‘पैसाको लागि आफ्नै योजनामा अपहरणको नाटक गरेको देखियो,’ एसपी कोइरालाले भने।

प्रहरीले उनीविरुद्ध सार्वजनिक उपद्र्याई गर्न नहुने कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। कृष्णकुमार शर्मा विवाहित हुन्। उनका दुई सन्तान समेत भएको खुलेको छ।

टिकटक चलाउने क्रममा एक युवतीसँग उनको प्रेम बस्न पुग्छ। त्यसपछि उनी त्यही युवतीसँग विवाह गर्ने सोचेमा पुग्छन्। विवाह गर्नको लागि पैसा आवश्यक परेकाले अपहरणको नाटक गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell