PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

सेयर मार्केटको समस्या समाधान गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण



पहिलोपोस्ट

सेयर मार्केटको समस्या समाधान गर्न एमालेले गरायो सरकारको ध्यानाकर्षण

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधिसभाको मंगलवारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजी बजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताए।

पुँजी बजार धराशयी हुँदा सिंगो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानीकर्ताहरुको लगानी जोखिममा परेको भन्दै उनले पुँजी बजारको पुनर्उत्थान गर्न सरकारको ध्यानाकर्षण गराए। उनले नेपाल राष्ट्र बैंकले आफ्ना नीतिहरुलाई पुनरावलोकन गरेर भएपनि पुँजी बजारको जोखिम हटाउनुपर्ने बताए।

उनले भने, ‘लाखौँ नेपालीहरु आवद्ध भएको, लाखौँ नेपालीहरुले भरोसा गरेको यो सेयर मार्केटलाई हामीले कुनै न कुनै रुपमा पुनर्उत्थान गर्न जरुरी छ। त्यसका लागि अर्थमन्त्रीले एउटा जोखिमयुक्त कदम उठाएर अर्थ मन्त्रालयले कदम उठाएर भएपनि नेपाल राष्ट्र बैंकले आफ्नो नीतिहरुलाई पुनरावलोकन गरेर भएपनि यो सेयर मार्केटका लगानीकर्ताहरुको जुन जोखिम छ, त्यो जोखिमबाट पुनरुत्थान गर्नका लागि जोडदार रुपमा हामी माग गर्न चाहान्छौँ।’

प्रमुख सचेतक भट्टराईले लगानीकर्ताहरुले आत्महत्या गर्ने तहसम्मको अवस्था उत्पन्न भएको भन्दै राज्यले आफूलाई बेखबर र गैरजिम्मेवार बनाउनु नहुने बताए। उनले लगानीकर्ताको सुरक्षा राज्यले गर्नुपर्ने बताए।

उनले पुँजी बजार सुधारको माग राखी अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको भन्दै कोइरालाको माग सम्बोधन गर्न पनि सरकारसँग माग गरे।

उनले भने, ‘हामीले राज्यको तर्फबाट यथोचित ध्यान दिन सकिएन र लगानीकर्ताहरुको सुरक्षा गर्न सकिएन भने राज्य कसैको अभिभावक बन्न सक्दैन। त्यसो भएको हुनाले जसलाई यसले जुवा भन्नुभयो उहाँहरुले पनि आफूलाई परिमार्जन गरेर लाखौँका संख्यामा रहेका लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्नुपर्ने दायित्व छ। ति अभिव्यक्तिलाई सच्याएर, अर्थ मन्त्रालयका प्रतिवद्धता पूरा गर्ने गरी राष्ट्र बैंकले आफ्ना कतिपय कुराहरुको पुनरावलोकन गरेर अनशनमा बसिरहनुभएका तिलक कोइरालाका स्वास्थ्यका लागि पनि, उहाँको जीवन रक्षाका लागि पनि र लाखौँ नेपालीहरुको लगानीलाई सुरक्षा गर्नका लागि पनि शीघ्र नेपाल सरकारले, अर्थमन्त्रालयले उहाँहरुको मागलाई सम्बोधन गरोस्।’

उनले बेला-बेलामा नेताहरुले पुँजी बजारलाई नोक्सान हुनेगरी अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै नेताहरुलाई आफ्नो अभिव्यक्ति सच्याउन पनि आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell