PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

संसदमा सांसदहरुले उठाए एसपीपीदेखि मल अभावको विषय



पहिलोपोस्ट

संसदमा सांसदहरुले उठाए एसपीपीदेखि मल अभावको विषय

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) अघि नबढाउने नेपाल सरकारको निर्णयको स्वागत गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीम रावलले नेपाल सरकारले सोमबार अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको भन्दे निर्णयको स्वागत गरेका हुन्। यद्यपि, उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा यसबारेमा थप स्पष्ट पार्नुपर्ने मत भने राखेका छन्।

यस्तै, सांसद हरिराज अधिकारीले सरकारको एसपीपी अघि नबढाउने निर्णयको स्वागत गर्दै नेपालजस्ता मुलुक कसैको नभएर सबैको हुन सक्ने बताए। सांसद दिव्यमणि राजभण्डारीले एसपीपी अघि नबढाउने नेपाल सरकारको निर्णय स्वागतयोग्य भएको बताउँदै यस निर्णयबाट प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको राष्ट्रप्रेमी छवि बढेको दाबी गरे।

बैठकमा सांसद सञ्जयकुमार गौतमले केही नेताहरुले उग्रराष्ट्रवादका नाममा संसद्मा के के बोल्न थालेको बताउँदै यस्ता कुरा जनताले नबुझ्ने भएकाले जनजीविकाका विषयमा आवाज उठाउन आग्रह गरे। उनले किसानलाई समयमै रासायनिक मलको आवश्यक व्यवस्था गर्न, पेट्रोलियम पदार्थको मूल्यवृद्धिले धेरै क्षेत्रमा असर पार्ने बताउँदै यसको समाधानका विकल्पबारेमा सोच्न तथा मौसमी विपद्बाट हुने क्षतिका लागि पूर्वतयारी गर्न समेत आग्रह गरे।

सांसद पार्वतीकुमारी विशङ्खेले माथिल्लो कर्णाली आयोजना १४ वर्षमा पनि अघि नबढेको बताउँदै दैलेखको दुल्लुका जनताले नेपाली सेनाले उपभोग गरेको जग्गाको मुआब्जा हालसम्म नपाएको जानकारी गराउँदै तत्काल मुआब्जा दिलाउन सभामुखमार्फत सरकारसँग माग गरिन्। सांसद अनिलकुमार झाले सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी विकास आयोजना व्यवस्थितरुपमा अघि नबढाएका कारण रौतहटको गौर र ग्रामीण क्षेत्रमा बाढीले जलमग्न हुने अवस्था सिर्जना भएकाले समाधानका लागि सरकारसँग आग्रह गरेका छन्।  

सांसद प्रमोद साहले सरकारले किसानलाई आवश्यक मात्रामा रसायनिक मल प्रदान गर्न नसकेको उल्लेख गर्दै किसानले भारतीय सीमाबाट ल्याएको एक-दुई बोरा मल पनि साइकल, मोटरसाइकलसहित पक्रेर कारबाही गर्ने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएका बेला सरकारले विद्युतीय सवारी साधनमा करछुट गरेर प्रोत्साहन गर्नुपर्नेमा केही सीमित व्यापारीको स्वार्थमा बजेटमा व्यवस्था ल्याएको भनी आलोचना गरेका छन्। उनले मुलुकमा भएका सबै भ्रष्टाचारका विषयमा छानबिन गर्न आयोग गठनका लागि मागसमेत गरे। सांसद प्रेम सुवालले भने क्यान्सरजस्ता घातक रोगका राम्रा औषधि स्वदेशमा नहुँदा विदेशमा औषधोपचार गर्न जनता बाध्य भएको बताउँदै स्वास्थ्य बीमा कार्यक्रममा आवश्यक सहयोग नभएकाले जनता मारमा परेको बताए।

सांसद खगराज अधिकारीले स्वास्थ्यसम्बन्धी हक जनताको मौलिक अधिकार भएको अवस्थामा जनताले सहजरुपमा सेवा लिनका लागि स्वास्थ्य बीमा कार्यक्रम उत्तम भए पनि सरकारले यसलाई पङ्गु बनाएर निजी क्षेत्रलाई सुम्पिएको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell