PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जीको तयारी, ‘उडान नगर्नेको एओसी खारेज हुन्छ’



वसन्तराज उप्रेती

वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जीको तयारी, ‘उडान नगर्नेको एओसी खारेज हुन्छ’

काठमाडौं : बुधवारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने निर्णय घोषणा गरेपछि वायुसेवा संचालक संघ (आओन)का अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुने भएको छ। त्यति मात्रै नभएर नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधवार उडान नगर्ने वायुसेवा कम्पनीहरुको वायुसेवा संचालन अनुमति (एओसी) समेत खारेज गर्ने बताएको छ।

क्यानले यसका लागि आकस्मिक बैठक बसेर निर्णय गर्ने तयारी गरेको क्यानका एक उच्च अधिकारीले बताए। अत्यावश्यक सेवामा पर्ने हवाई यातायात ठप्प पार्ने संघले मंगलवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि क्यानले यो कदम चाल्न लागेको स्रोतले बतायो।

‘नियमित उडान नै बन्द गर्ने वातावरण सिर्जना गरेको कारण प्राधिकरणको ऐन बमोजिम संघका अध्यक्षलाई पक्राउ पुर्जी जारी गर्न लागिएको हो। यसरी उडान नै बन्द गरेर सर्वसाधारणको दैनिकी नै तहसनहस पार्न त भएन नि’, ती अधिकारीले भने, ‘भोलि उडान नगर्ने कम्पनीको एओसी खारेज गर्ने समेत तयारी गरेका छौँ।’

क्यानले वायुसेवा कम्पनीहरुले आफूले अनुमति लिएको बेसबाटै उडान गर्न अनिवार्य गरेपछि वायुसेवा संचालकहरु यसको विरुद्धमा उत्रिएका छन्। सोही क्रममा संघले बुधवारबाट सम्पूर्ण आन्तरिक उडान सेवा नै रोक्ने निर्णय सार्वजनिक गरेको थियो।

आन्तरिक उडान सेवा दिँदै आएका वायुसेवा कम्पनीहरुलाई बेस व्यवस्थापन न्यायोचित र समन्वयात्मक नभएको भन्दै मंगलवार वायुसेवा संचालक संघले नियमित र उद्धार उडान समेत अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको थियो। नागरिक उड्डयन प्राधिकरणले भने सर्वसाधारणको जनजीवनमा आँच आउने काम भएमा कारबाही अगाडि बढाउने चेतावनी दिएको थियो।

गृह मन्त्रालयले जेठ २६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै हवाई सेवालाई अत्यावश्यक सेवामा समावेश गर्दै हड्ताल गर्न निषेध गरेको छ। सरकारले आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै हवाई अड्डा वा हवाई जहाजको रेखदेख, त्यसको संचालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरेको छ।

यसको खिलाफमा वायुसेवा संचालकहरु जान खोजेपछि आओन अध्यक्षलाई पक्राउका साथै वायुसेवाको एओसी खारेज गर्न सक्नेसम्मको कारबाहीमा क्यान जान लागेको हो।

उपत्यकाबाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टर कम्पनीहरुलाई काठमाडौंबाट उडान गर्न रोक लगाएपछि वायुसेवा संचालकले बुधवारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका थिए।

पूर्व तयारीबिनै क्यानले धमाधम उडान रोक्न थालेपछि संघको आकस्मिक बैठकले यो निर्णय गरेको जनाएको छ। संघले मंगलवार पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग पूरा नभए बुधवारदेखि उडान स्थगित गर्ने बताएको थियो।

संघका अध्यक्ष रामेश्वर थापाले सरकारको गलत निर्णयका कारण बाध्य भएर उडान स्थगितको निर्णय भएको बताए।

‘बन्द गर्ने हाम्रो चाहना होइन। सरकारको निर्णयले गर्दा हामी बाध्य भएका हौँ। ६ बुँदे माग पूरा नभए अनिश्चितकालका समयका लागि बन्द हुनेछ। टिकट काटिसकेका यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनीले रिफन्ड गर्नेछ,’ उनले मंगलवार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए।

संघले ल्यान्डिङ, नेभिगेसन लगायतका शुल्क वृद्धि फिर्ता लिनुपर्ने, हेलिकोप्टर संचालनका लागि दीर्घकालिन रुपमा हेलिप्याड उपलब्ध गराउनुपर्ने, मर्मत सम्भारका लागि ह्याङ्गर लगायतका भौतिक पूर्वाधारका लागि स्थान दिनुपर्ने, वेस पूर्ववत अवस्था कार्यान्वयनमा ल्याएर सेवा संचालन गर्न पाउनुपर्ने, कालोसूचीबाट हटाउन पहल गर्नुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वीकृति लिएर विभिन्न कम्पनीले हवाई सेवा संचालनका लागि बनाएका संरचनालाई यथावत रुपमा  प्रयोग गर्न दिनुपर्ने माग राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell