
काठमाडौं : बुधबार बिहान ११ बजेपछि सबै आन्तरिक उडान संचालन हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणमा मंगलबार राति बसेको बेठकमा वायुसेवा संचालक संघ (आओन) बुधबार बिहान ११ बजेपछिको उडान संचालन गर्न सहमत भएको हो।
वायुसेवा संचालकहरुले मंगलबार नागरिक उड्डयन प्राधिकरणले जारी गरेको बेस व्यवस्थापन निर्देशनविरुद्ध बुधबारबाट सबै आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका थिए। जसको प्रतिवाद गर्दै प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे संचालकहरुलाई पक्राउ गर्न प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो।
दुवै तर्फको चेतावनीपछि मंगलबार राति १० बजे वायुसेवा संचालक संघ र प्राधिकरणका पदाधिकारीहरु वार्तामा बसेका थिए। करिब एक घण्टाको वार्तापछि बैठकले उक्त निर्णय गरेको बताइएको छ।
वायुसेवा संचालक संघले प्राधिकरणले चेतावनी जारी गरेसँगै बुधबारबाट उडान बन्द गर्ने निर्णयबाट पछि हट्दै उडान संचालन गर्न सहमत भएको प्राधिकरणका एक उच्च पदाधिकारीले बताए।
'हामीले साँझ चेतावनी जारी गरेसँगै वायुसेवा कम्पनीका प्रतिनिधिहरु वार्ताका लागि आउनुभएको हो। भोलि उडान बन्द नहुने सहमति भएको छ,' ती पदाधिकारीले भने।
वायुसेवा कम्पनीहरुले भोलि बिहानसम्मको टिकट बुकिङ बन्द गरेकाले ११ बजेपछि नियमित उडान सुरु गर्न लागेको वायु सेवा संचालक संघका एक सदस्यले जानकारी दिए।
'प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयबाट हाम्रो मागका विषयमा पहल भएको छ। भोलि बिहान ११:०० बजेबाट नियमित उडान हुनेछ। निष्कर्ष निस्किन बाँकी नै छ। बुधबार दिउँसो फेरि प्राधिकरणसँग हामी वार्ता गर्छौं,' ती सदस्यले भने।