
वीरगंज : मोफसलकै सबैभन्दा पुरानो तथा त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो क्याम्पसको रुपमा चिनिने वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसको अवस्था दैनिक खस्कँदो छ। पछिल्लो समय नियमित कक्षा नहुने भनेर चिनिएको क्याम्पस अहिले छात्रावासको समस्याले चर्चामा आएको छ।
विसं २००९ सालमा स्थापना भएको क्याम्पसको भवन जीर्ण भएका छन्। कक्षा कोठा सञ्चालन गर्ने भवनदेखि पुस्तकालय भवन, छात्रावास भवन, प्रशासनिक भवनलगायत अधिकांश भवनहरु वर्षातमा चुहिन्छ। कुन बेलामा कुन पर्खाल र छत खस्छ भन्ने ठेगान छैन। वर्षातको समय शुरु भएसँगै छात्रावासमा बस्ने विद्यार्थी छात्रावासको दूरावस्थाले त्रसित बनेका छन्।
यतिमात्र हैन छात्रावास खण्डहर र भूतबंगला झैं लाग्छ। छात्रावास वरपर जंगलमा झैं बोटबिरुवा, घाँसपात उम्रेका छन्। विद्यार्थी बस्ने कोठा पानी परेको बेला चुहिंदा उनीहरु राति सुत्न सक्दैनन्।
छात्रावासको शौचालय फोहर र प्रदूषित छन्। पानी, बिजुली र क्यान्टिनको पनि सहज उपलब्धता छैन। विद्यार्थीहरु बस्ने कोठामा खाना पकाउने, भाँडाकुँडा माझ्नेलगायत गर्नुपरेको छ। छात्रावासको कोठा र झ्याल–ढोकाहरु जीर्ण भइसकेको कारण वर्षात्को समयमा सर्प र लामखुट्टेको आतंक रहेको विद्यार्थीहरुले गुनासो गरेका छन्।
सय–सय जना पुरुष–महिला छात्रावासमा बस्ने क्षमता रहे पनि पर्याप्त भौतिक पूर्वाधार र सेवा सुविधाको अभावमा पुरुष छात्रावासमा २० जना र महिला छात्रावासमा २६ जना विद्यार्थीहरु मात्र बसिरहेका छन्। उनीहरुले महिनाको २ सय रुपैया शुल्क तिर्नुपर्छ।
क्याम्पसको छात्रावास सुधारको लागि वीरगंज महानगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले गर्नुपर्ने सहयोग नगरेको कारण अवस्था जर्जर भएको क्याम्पस प्रमुख डा उमेशकुमार चौरसिया बताउँछन्। उनले कार्यभार सम्हालेको पन्ध्र महिनाभित्र शैक्षिक सुधार र वातावरणीय सुधारमा केही सकारात्मक काम गरे तापनि एक्लै सबै कुराको जोहो गर्नु धौधौ परेको बताए। चौरसियाले क्याम्पसको भौतिक पूर्वाधारको लागि उचित प्रबन्ध र सुधारमा स्थानीय तह, प्रदेश र संघ सरकार उदासिन बनेकोले सहयोगको अपिलसमेत गरे।