PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पदमा रहँदा गणेश र बाहिरिँदा कमल थापा खनिए शेर्पामाथि, मौन बसेका शेर्पाको कटाक्ष : स्वार्थ अनुकुल हिँड्ने मनुले मलाई राजनीति गर्‍यौ भन्ने?



पहिलोपोस्ट

पदमा रहँदा गणेश र बाहिरिँदा कमल थापा खनिए शेर्पामाथि, मौन बसेका शेर्पाको कटाक्ष : स्वार्थ अनुकुल हिँड्ने मनुले मलाई राजनीति गर्‍यौ भन्ने?

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वमा कर्माछिरिङ शेर्पालाई हराउँदै पंकजविक्रम नेम्बाङ नेतृत्वमा आएका छन्। यसअघिको कार्यकालमा ‘चेन्ज एन्फा’को नारा लिएर आएका यी दुईबिच मनमुटाब बढेपछि एन्फा दुई खेमामा बाँडिएको थियो।

एन्फामा सधैँ अर्को खेमाका रुपमा गणेश थापाको समर्थन गर्ने खेमा पनि रहिरह्यो। नेम्बाङले थापाको खेमालाई समेत समेट्दै चुनाव जिते। र, आज सपथ ग्रहण पनि गर्दैछन्।

यता कर्माछिरिङ शेर्पाले एक कार्यकाल बिताउँदा सधैँ पूर्व अध्यक्ष गणेश थापाको निशानामा परिरहे। सामाजिक सञ्जालबाट सधैँ धावा बोलिरहने थापाले निर्वाचनको मुखमा पत्रकार सम्मेलन गरेर शेर्पालाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए।

उनको पत्रकार सम्मेलनलाई निर्वाचनमा माहोल बनाउने स्टन्टका रुपमा पनि ब्याख्या गरियो। भलै, फिफाको १० वर्षे प्रतिबन्धमा परेका थापालाई फेरि एकपटक सचेत गरायो फिफाले।

यता पंकजले जित्दा सामाजिक सञ्जालमा गणेश थापा मौन बसे पनि उनका दाजु कमल थापाले शेर्पामाथि कटाक्ष गर्दै नेम्बाङलाई शुभकामना दिए।

‘एन्फाको पूर्व अध्यक्ष भएको नाताले फुटबल खेलजगतमा केही वर्षयता हावि रहेको गलत प्रवृत्ति र राजनीतिकरणप्रति म अत्यन्त चिन्तित थिएँ’, उनले लेखेका छन्, ‘नेम्बाङको नेतृत्वमा फुटबलजगतमा नयाँ आयाम शुरु हुने विश्वास गर्दछु।’

गणेश थापाले बारम्बार आरोप र चुनौती दिँदा मौन बसेका शेर्पाले कमल थापालाई भने कटाक्ष गरेका छन्।

‘कमल थापा जी के तपाईंको पेशा राजनीति होइन र? किनभने पन्चायतमा मण्डले, बहुदलमा मन्त्री हुन सांसद खरिद र हेरफेरको नाइके अनि गणतन्त्रमा हिन्दुराज्य र राजतन्त्रको नाममा राजनीति’, शेर्पाले लेखेका छन्, ‘अहिले आएर राजेन्द्र लिङ्देनसँग सभापतिमा हारेपछि राजतन्त्र असम्भव भन्ने,आफ्नो स्वार्थअनुकुल हिँड्ने मनुले मलाई फुटबलमा राजनीति गर्‍यौ भन्नलाई कति सान्दर्भिक छ समयले बताउला।’

उसो त चुनावमा उम्मेद्वारी दिँदै गर्दा शेर्पाले ‘यस्तो भएन र उस्तो भएन’ भन्दै टीकाटिपण्णी गरेर नबस्ने दाबी गरेका थिए।

चुनावमा पराजयपछि भने आफू फुटबलबाट टाढा नहुने तर ‘डर्टी पोलिटिक्स’बाट टाढिने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell