PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ठूलो बाढीका कारण दक्षिणी चीनमा दशौँ हजार मानिसहरू विस्थापित, थप वर्षा हुने अनुमान



पहिलोपोस्ट

ठूलो बाढीका कारण दक्षिणी चीनमा दशौँ हजार मानिसहरू विस्थापित, थप वर्षा हुने अनुमान
Photo: CNS/AFP/Getty Images

ठूलो बाढीका कारण दक्षिणी चीनमा दशौँ हजार मानिसहरू विस्थापित हुन बाध्य भएका छन्। सो क्षेत्रमा थप वर्षाको सम्भावना रहेकोले अवस्था अझै नाजुक हुन सक्ने अनुमान गरिएको छ।

पानीको बहाव र पहिरोको खतरा बढेसँगै ग्वाङ्डोङको उत्पादन केन्द्रमा विद्यालय, कार्यालय र सार्वजनिक यातायात बन्द गरिएको छ। छिमेकी प्रान्त जियाङ्सीमा झण्डै ५ लाख मानिसको घरमा क्षति पुगेको छ भने जनजीवन तहसनहस भएको छ।

ग्वाङ्डोङमा पनि लगभग उही संख्यामा मानिसहरु प्रभावित भएका छन्। त्यहाँ ठूलो मात्रामा शाओगुआन, हेयुआन र मेइझोउ शहरहरूमा क्षति पुगेको छ।

भारी वर्षाले शहरका केही भागमा सडक भत्किएको छ भने घर, गाडी र बालीनाली बगाएको छ। आगामी दिनमा अझै पानी पर्ने अनुमान पनि गरिएको छ।

चिनियाँ अधिकारीहरूले आइतवार यस वर्षकै पहिलो ‘रेड अलर्ट’ जारी गरेका थिए। जसमा सम्भावित पहाडी इलाकाहरूका लागि चेतावनी दिइएको थियो। उत्तरमा रहेको झेजियाङ प्रान्तमा डुङ्गामार्फत उद्धारकर्मीहरूले डुबानमा परेका घरहरूमा फसेका बासिन्दाहरूको उद्धार गरेका छन्।

चीनमा गर्मी महिनाहरूमा नियमित रूपमा बाढी आउने गर्छ। प्रायः चीनको मध्य र दक्षिणी क्षेत्रमा सबैभन्दा बढी वर्षा हुने गर्दछ।

केही क्षेत्रहरूमा यस वर्षको बाढी यो दशककै सबैभन्दा खराब हो। कडा कोभिड-१९ निषेधाज्ञाहरूले यात्रा, रोजगारी र देशको जनजीवनलाई दबाएको बेला चीनले यो बाढीको सामना गर्नुपरेको हो।

चीनमा पछिल्लो पटक सन् १९९८ मा ठूलो बाढी आएको थियो। त्यतिबेला २ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो भने करिब ३० लाख घरहरू ध्वस्त भएका थिए। सो बाढीले चीनको सबैभन्दा शक्तिशाली नदी याङ्त्जेको छेउछाउमा बढी क्षति गरेको थियो।

चीन सरकारले बाढी नियन्त्रण र जलविद्युत परियोजनाहरूमा ठूलो लगानी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell