PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

स्वास्थ्य बीमा दाबी भुक्तानी माग्दै बीएन्डसी र नोबेलले गरे सेवा बन्द घोषणा



पहिलोपोस्ट

स्वास्थ्य बीमा दाबी भुक्तानी माग्दै बीएन्डसी र नोबेलले गरे सेवा बन्द घोषणा

काठमाडौं : स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा दिए बापत सरकारले दिनुपर्ने दाबी भुक्तानी नदिएको भन्दै झापा र मोरङका दुई ठुला अस्पतालले उपचार सेवा रोक्ने घोषणा गरेका छन्। न्युनतम शुल्कमा सेवा दिनुपर्ने र त्यसमा पनि सरकारले लामो समयसम्म दाबी भुक्तानी नदिने गरेकाले अस्पताल सञ्चालकहरु रुष्ट भएका हुन्।

दुर्गा प्रसाई र सुनिल शर्माले चलाएका शिक्षण अस्पतालहरु बिर्तामोडको बीएन्डसी र विराटनगरको नोबेल मेडिकल कलेजले असार २० गतेदेखि सरकारी स्वास्थ्य बीमाको कार्ड लिएर आउनेलाई उपचार सेवा रोक्ने घोषणा गरेका हुन्।

'स्वास्थ्य बीमा गरेका दैनिक एक हजार बिरामीको उपचार हुन्छ। हामीले दाबी भुक्तानीको ४५ करोड रुपैयाँ पाएका छैनौं, सरकारले पैसा दिएको छैन,' बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईले भने, 'बीएन्डसी मेडिकल कलेज बिर्तामोडले असार २० गतेदेखि स्वास्थ बीमा अन्तर्गतको उपचार सेवा दिँदैन।'

५ वर्षदेखि सरकारले उपचारको एउटै मूल्य तोकेको पनि उनले गुनासो गरे। '२ वर्षदेखि दाबी भुक्तानी पाएका छैनौं,' उनले भने, 'यतिबेला सबै वस्तुको मूल्यवृद्धि भएकाले उपचार सेवाको शुल्क पनि बढाउनुपर्ने अवस्था छ।'

राम्रो भए पनि सरकारले अस्पतालहरुको भुक्तानी रोकेर स्वास्थ्य बीमाको योजनालाई असफल बनाउने बाटोमा लगेको उनले आरोप लगाए।

विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले स्वास्थ्य बीमा गराएकाहरुलाई दिएको उपचार सेवाको दाबी भूक्तानी गत कात्तिक यताको नपाएको व्यवस्थापन प्रतिनिधि भीमबहादुर चन्दले बताए। 'सरकारले नोबेल मेडिकल कलेजलाई करिब ५४ करोड ३८ लाख रुपैयाँ दाबी भुक्तानी दिन बाँकी छ,' उनले भने, 'नोबेलले दैनिक १५ सयभन्दा बढी बिरामीलाई उपचार दिइरहेको छ।'

मोरङको अर्को  ठूलो अस्पताल विराट मेडिकल कलेजले पनि दाबी भुक्तानी रोकिएकै कारण बीमाअन्तर्गतको स्वास्थ्य सेवा रोक्ने चेतावनी दिएको छ।

स्वास्थ्य बीमा बोर्डका अनुसार मुलुकमा सबैभन्दा बढी स्वास्थ्य बीमा प्रदेश १ को झापाका बासिन्दाले गराएका छन्। उक्त जिल्लामा ५ लाख भन्दा बढी जनसंख्याले स्वास्थ्य बीमा गरेका छन्। बोर्डका अनुसार स्वास्थ्य बीमा ऐन अन्तर्गत सरकारले तोकेका सरकारी सामुदायिक र निजी अस्पतालमा बीमकको उपचार हुन्छ।

सरकारी अस्पतालमा उपचार सम्भव नभए बिरामीलाई निजी अस्पतालमा पठाउने गरिएको छ। यसमा पनि निजी अस्पतालहरुले आपति जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell