PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

विद्युतीय उर्जामा सरकारले चासो नदिए मुलकको अवस्था भयावह हुन्छ : कार्यकारी निर्देशक थानी



पहिलोपोस्ट

विद्युतीय उर्जामा सरकारले चासो नदिए मुलकको अवस्था भयावह हुन्छ : कार्यकारी निर्देशक थानी
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन्। बुधवार राष्ट्रियसभा संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले विश्वभर नै इन्धनको मूल्य बढिरहेको र विकसित मुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिक रुपमा पनि ठूलो समस्यामा फस्ने दाबी गरेका हुन्।

उनले श्रीलंकले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचित गर्नुपर्ने बताए। कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महशुल तिरेर कसैले इण्डक्सन चुलो नबाल्ने भन्दै भएको महशुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताए।

उनले नेपाल विद्युत प्राधिकरणले दिएको महशुलभन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराए। कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा बैशाखमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको, यस वर्षको बैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक टन एलपी ग्यास आयात भइसकेको बताए।

एलपी ग्यासको खपत दिनप्रति दिन बढिरहेकोले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको उनले बताए। उनले नेपाल आयल निगमप्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको भन्दै उर्जा व्यवस्थापन कार्यलाई सरकारले
गम्भीरतापूर्वक लिनुपर्ने बताए।

उनले भने, ‘उर्जा व्यवस्थापन राम्रोसँग गरौँ। हामीले अघिल्लो वर्ष १ खर्ब ५८ करोडको पेट्रोलियम पदार्थ आयात गरेकोमा यसवर्ष जेठसम्म २ खर्ब ७० करोडको आायत गरिसकेका छौँ। यस्तो अवस्था छ। आर्थिक वर्षमा मुलुक कहाँ पुगिसक्यो। हामीले कम्तिमा बानी सुधार्नु पर्ने अवस्था छ। मुलुकको अवस्था भयावह छ।’

कार्यकारी निर्देशक थानीले मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराए। समितिको बैठकमा सांसदहरुले विद्युतीय उर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महशुलमा काम गर्न आवश्यक रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell