PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

मौद्रिक नीति जादुको छडी होइन, एउटा क्षेत्रको रुचिमा नभइ अर्थतन्त्र अनुसार आउँछ : गभर्नर अधिकारी



पहिलोपोस्ट

मौद्रिक नीति जादुको छडी होइन, एउटा क्षेत्रको रुचिमा नभइ अर्थतन्त्र अनुसार आउँछ : गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक संकट अझ गहिरिएका बेला मौद्रिक नीति सन्तुलित र समग्र आर्थिक क्षेत्र समेट्ने गरि ल्याउन चुनौती अझ थपिएको बताएका छन्।

आगामी मौद्रिक नीतिका विषयमा बिजमाण्डू प्रालिले बुधबार राजधानीमा आयोजना गरेको छलफल कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै गभर्नर अधिकारीले सञ्चित विदेशी मुद्रा खर्च गर्ने तर भित्र्याउने योजना कार्यान्वयनमा अलमल गर्ने हो भने आर्थिक संकट अझ चुलिने बताएका हुन्।

अर्थतन्त्रका लागि जिम्मेवार पक्षहरु सबैजना आआफ्ना दायित्वमा इमानदार भए संकट सामना गर्न सकिने उनको भनाइ थियो।

'हुन त म धेरै बोल्ने अवस्थामा छैन। देशको अवस्था के हो, कस्तो अवस्थामा गुज्रिरहेका छौं भन्ने विषय हो। आयातको दाजोमा निर्यात कस्तो छ, ट्रेड डेफिसियट कस्तो छ, करेन्ट अकाउन्ट कस्तो छ, अरु मुलुकसँग तुलना गरेर प्रतिक्रिया आइसकेको छ,' उनले भने।

'क्रेडिटको ग्रोथ १३ प्रतिशत, बचत ५ प्रतिशत छ। व्यवसायी कति संकटमा छन् ती कुरा आइसकेको छ। लकडाउनमा पनि मौद्रिक नीति ल्याएका थियौं। एक खालको आर्थिक क्रियाकलाप बढाउन चुनौती थियो। तर सबैले आफ्नो क्षेत्रबाट सपोर्ट गर्नुभयो। रिफर्म भन्ने एउटा प्रक्रिया हो, यो छोड्नु हुँदैन,' उनले थप्दै भने, 'केही योजना गत सालमा आएका थिए। राष्ट्र बैंकले ल्याउदै आएको मौद्रिक नीति कुनै एउटा क्षेत्र, व्यक्तिभन्दा पनि समग्र अर्थतन्त्रको माग अनुसार लिएर आउने हो।'

मौद्रिक नीतिमाथि धेरै अपेक्षा हुँदा पनि समस्या हुने उनले संकेत गरे।

'गत साल पनि त्यसरी नै ल्याइएको थियो। कुनै क्षेत्रलाई असर पर्न गयो होला। त्यसको समाधान गर्दै लग्न आवश्यक छ। औचित्यपूर्ण सुझाव सम्बोधन गर्ने छौं। मौद्रिक नीति जादुको छडी होइन। यसको पनि सीमा छन्। हाम्रा अगाडि एउटा आउटलाइन ८ प्रतिशत ग्रोथ र ७ प्रतिशतको इन्फ्लेसन छ,' उनले भने, '५० औ वर्षमा नभएको इन्फ्लेसन विकसित मुलुकमा देखिएको छ। त्यो कुनै न कुनै किसिमले बढिरहेको छ। बाह्य अर्थशास्त्रीले आउँदा वर्ष अझै चुनौतीपूर्ण हुने जनाएका छन्, यसका लागि मनस्थिति बनाउन आवश्यक छ।'

मौद्रिक नीति बनाउन यसपटक केही सहज भएको भनाइ उनको भनाइ थियो। 'परारको अवस्था भन्दा कम्फर्टेबल छ। सबैजना जिम्मेवार भए समस्या छैन। जहाँ १०७ प्रतिशतको क्रेडिट कसैले चलाएको छैन। तपाईं हामीले नै चलाएका छौं। या त स्टकमा या त कुनै न कुनै कुरामा चलाइएको छ। र सधैंका लागि चलाइएको त होइन होला,' उनले भने, 'कुनै न कुनै किसिमबाट फर्किनै हाल्छ। उतारचढाव हुन्छ, कहिले घाटा कहिले नाफा। तर डिपोजिटर र बैंकको पैसा आउँछ। त्यसका लागि सबैको मेहेनत चाहिन्छ। हामी ट्रयाकभन्दा बाहिर जाँदैनौ।'

मुलुकको विदेशी मुद्रा सञ्चितिमा परिरहेको चापबारे सतर्क हुनुपर्ने संकेत उनले गरे। 'बाहिरबाट आएको पैसा, भएको डलर पनि सकाउने, डलर भित्र्याउने योजना कार्यान्वयनमा नल्याए अहिलेको रिजर्भ नै धमिराले खायो भने त संकट आउँछ नि,' उनले भने, 'हामी राम्ररी अगाडि बढ्न सक्छौ। दु:ख गरेर कमाएको पैसाको जिम्मा दिइएको छ। सही सदुपयोग गर्नुपर्‍यो। आन्तरिक उत्पादनमा जोड दिँदा आयात गरेर ल्याइने खाद्यान्नको परिमाण घट्नेछ। कथम् कदाचित यी कुरालाई कार्यान्वनमा ल्याएनौ भने श्रीलंकाको अवस्था आउनेछ। आउने मौद्रिक नीति देश अर्थतन्त्रलाई शिरमा राखेर बनाउनेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell