PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भीमफेदी कारागारका सहनाईके परियारको मृत्यु, कारागारमा स्वास्थ्यकर्मी नहुँदा समयमा नै उपचार पाएनन्



निशा गुरुङ

भीमफेदी कारागारका सहनाईके परियारको मृत्यु, कारागारमा स्वास्थ्यकर्मी नहुँदा समयमा नै उपचार पाएनन्

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको भीमफेदी कारागारमा स्वास्थ्यकर्मी नहुँदा करागारमा कैदी जीवन बिताइरहेका सह-नाईके मिलन परियारको मृत्यु भएको छ। २०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा करागारमा जीवन बिताइसकेका हेटौंडा-२ का ३४ वर्षीय सह-नाईके परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो।

७ वर्षका लागि कैद सजाय बिताइरहेका परियारलाई आफ्नो ड्युटी गरिसकेर खान खाने समयमा आज एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारको लागि लगिएको भीमफेदी कारागारका जेलर निमाले जानकारी दिए। परियारको स्वास्थ्यमा थप समस्या आएपछि  स्वास्थ्य चौकीले हेटौंडा अस्पताल रिफर गरेको थियो। उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको जनाएको छ। हाल परियारको शव पोस्मार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला  प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुले उपचारका लागि समस्या भएको पटक पटक सुनाउँदै आइरहेका थिए। दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको हो। कारागारमा अहेबको दरबन्दी छ तर जनशक्ति नहुँदा उपचारका लागि हेटौंडा अस्पताल लैजानुपर्ने बाध्यता छ। कारागारमा कुनै दुर्घटना भएमा उपचार नपाई मृत्यु हुने अवस्था आउनसक्ने नाइके सुयस ढकालले बताए।

‘केही समयअघि कारागारका एक कैदी एक्कासी बेहोस् भए। बेहोस् हुने बित्तिकै उपचारका लागि भीमफेदी अस्पताल लगियो। भीमफेदीबाट हेटौंडा हस्पिटल रिफर गरियो तर, हेटौंडा पुग्दासम्म मृत्यु भइसकेको थियो’, समस्याबारे ढकालले भने। स्वास्थ्यकर्मी नहुँदा आकस्मिक सेवा समेत दिन नसकेको ढकाल बताउँछन् । 

जेलर मदन लामा उपचारका लागि बाहिर लैजान एम्बुलेन्स समेत नभएको बताउँछन्। ‘भित्र उपचार गर्न नसके एम्बुलेन्स बोलाउनुपर्ने अवस्था आउँछ। भीमफेदीमा एउटा मात्रै एम्बुलेन्स छ। त्यो पनि भनेको  बेला पाउन सकिँदैन। कारागारको एउटा बस बन्दी र कैदीहरुलाई अदालत ल्याउने पुर्‍याउन नै ठिक हुन्छ,'उनले भने।

गर्मी र चिसो समयमा विभिन्न समस्याले कैदीबन्दीहरु बिरामी भइरहने उनी बताउँछन् । उपचारका लागि सरकारले दिने रकम समेत पर्याप्त नभएको लामा बताउँछन्। सरकारले वार्षिक ४ लाख उपचार खर्च दिने गरेको र कतिपय अवस्थामा हप्तौँ आइसियूमा राख्नपर्ने बिरामी हुँदा खर्चमै समस्या हुने उनको भनाई छ। मानसिक समस्याका कैदीहरुको उपचारमा थप समस्या रहेको लामाको भनाई छ।

भीमफेदी कारागारमा एक हजारभन्दा बढी कैदी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell