PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

खेलाडी र प्रशिक्षक विवादमा एन्फाको नयाँ कार्यसमितिको हस्तक्षेपः १० खेलाडीलाई टिममा बोलाउने निर्णय, अलमुताइरीको भविष्य के?



मुकुन्द घिमिरे

खेलाडी र प्रशिक्षक विवादमा एन्फाको नयाँ कार्यसमितिको हस्तक्षेपः १० खेलाडीलाई टिममा बोलाउने निर्णय, अलमुताइरीको भविष्य के?

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका १० खेलाडीलाई टिममा बोलाउने निर्णय गरेको छ। नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको मतभेदपछि टिमभन्दा बाहिर रहेका १० खेलाडीलाई टोलीमा सहभागी गराउने निर्णय गरेको हो। प्रशिक्षकका सन्दर्भमा भने कतार फुटबल फेडेरेसनसँग समन्वय गरिने निर्णयमा उल्लेख छ।

निर्वाचित कार्यसमितिको पहिलो बैठकले नै खेलाडी र प्रशिक्षकको विवादमा हस्तक्षेप गरेको हो।

'राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवादपछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो,' एन्फाको निर्णयमा भनिएको छ, 'प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो।'

अध्यक्षमा निर्वाचित भएसँग अध्यक्ष नेम्बाङ र वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले खेलाडी र प्रशिक्षक विवाद मिलाउने प्रतिबद्धता जनाएका थिए।

‘छानबिन समितिको प्रतिवेदनको बृहत् रुपमा छलफल गर्छौं। सबै पक्षसँग बसेर समस्याको समाधान गर्नेछौं,' अध्यक्षमा निर्वाचित भएलगत्तै नेम्बाङले भनेका थिए।

एसिया कप छनोटका लागि प्रशिक्षणका क्रममा खेलाडी र प्रशिक्षकबीच विवाद चुलिएको थियो। सो क्रममा १० जना सिनियर खेलाडी क्याम्पबाट बाहिरिएका थिए।

प्रशिक्षक अलमुताइरीले १० खेलाडीलाई समर्थन गर्ने तत्कालीन कप्तान किरण चेम्जोङलाई पनि टिमबाट बाहिर राखेका थिए।

नयाँ टिमले एसिया कप छनोटको पहिलो खेलमा सन्तोषजनक प्रदर्शन गरे पनि दुई खेलमा कमजोर प्रदर्शन गरेको थियो।

एसिया कपबाट फर्किएसँगै नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले टोलीमा अनुभवी खेलाडीको अभाव खड्किएको बताएका थिए।

अर्कोतर्फ खेलाडी प्रशिक्षक विवाद लम्बिँदा एन्फाले छानबिन समिति गठन गरेको थियो। एन्फाले वैशाख २५ नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिले २८ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो।

जेठ ४ गते एन्फाका तत्कालीन महासचिव इन्द्रमान तुलाधरले प्रतिवेदन ग्रहण गरेका थिए। तुलाधरले प्रतिवेदनको अध्ययन गर्ने र आवश्यक कदम चाल्ने बताएका थिए। प्रतिवेदनमा एसिया कप छनोटपछि प्रशिक्षक परिवर्तन गर्न सुझाव दिएको छ।

'एसिया कप छनोट प्रतियोगितापछि कतार एफए'सँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ,' प्रतिवेदनमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell