काठमाडौं : कोरोना महामारीले हरेक क्षेत्रलाई प्रभावित पार्यो। जसमध्येको एक हो : रंगमञ्च। कोरोना कम भएसँगै बिस्तारै नेपाली रंगमञ्च पुरानै लयमा फर्किरहेको छ। काठमाडौं उपत्यकामा नयाँ थिएटरसमेत खुल्ने क्रम बढ्दो छ। सबै थिएटरमा फरकफरक विधाका नाटक मञ्चन हुँदैछन्, जसकारण रंगमञ्चमय बन्दैछ काठमाडौं।
जेठ २६ गते ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ संचालनमा आयो। गौशालास्थित पिङ्लास्थानस्थित नेपाल संगीत विद्यालय परिसरमा स्टुडियो थिएटर उद्घाटन भयो। नेपाल फिल्म क्याम्पस र एक्टर्स स्टुडियोको संयुक्त सहकार्यमा ‘स्टुडियो थिएटर’ सुरू गरिएको हो।
गत फागुन १९ गते मण्डला थिएटर पनि नयाँ स्वरूपमा खुल्यो। अनामनगरबाट सरेर मण्डला थापागाउँस्थित आफ्नै भवनमा संचालनमा आयो। गत पुस ३० गते आरोहण गुरूकुल थिएटर फेरि संचालनमा आयो। रंगकर्मी सुनिल पोखरेलले १० वर्ष लगाएर गुरूकुल फेरि सुरू गरेका हुन्। काठमाडौं महानगरपालिकाले एक वर्षको भाडा ब्यहोर्ने भएपछि थापागाउँस्थित गुञ्ज थिएटरको एउटा हल ‘गुरुकुल थिएटर’ नाममा संचालन भयो। त्यसअघि सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा नयाँ संरचनासहित थिएटर खुलेको थियो। रंगकर्मी सुलक्षण भारतीले गत असोजदेखि पुरानो घरबाट नयाँ यात्राको सुरुवात गरेका थिए।
अहिले काठमाडौंमा नयाँ र पुराना गरि १० वटा निजी नाटक घर संचालनमा छन्। जसमा मण्डला थिएटर, सर्वनाम नाटक घर, शिल्पी थिएटर, थिएटर मल, कौसी थिएटर, कुञ्ज थिएटर, सर्वनाम थिएटर, स्टुडियो थिएटर, आरोहण गुरूकुल र पुरानो नाटक घर पर्छन्।
थिएटर बनाउन कत्ति खर्च लाग्छ?
आठ वर्षअघि नाट्यकर्मी केदार श्रेष्ठको नेतृत्वमा सुन्धारास्थित काठमाडौं मलको ७ औं तलामा थिएटर मलको स्थापना भयो। ज्यालामा दुईजना कामदार लगाए र बाँकी कामका लागि टिमसहित आफै खटिएका थिए केदार।
त्यो बेला थिएटर मल बनाउन ३० लाख खर्च भएको सुनाउँछन् उनी। ५० हजार महिनाको भाडा तिर्नुपर्ने थियो। जसोतसो थिएटरले भाडा तिर्ने बाटो बनाउँदै थियो। थिएटरमा नाटक मञ्चन हुने रफ्तार बढ्दै थियो। तर, २०७३ सालको पुसमा नै केदारलाई मल छाड्नुपर्ने बताइयो। थिएटरमै केही गर्ने आशा लिएर आएका केदारको आशा निराशामा बदलियो। अन्तत: जुन हातले थिएटर बनाएका थिए त्यही हातले भत्काए। त्यो पल सम्झँदा निकै दु:ख लाग्ने केदार बताउँछन्।
त्यसपछि, २०७५ साल फागुन १४ गते थिएटर मललाई पुन: संचालनमा कीर्तिपुरस्थित राराहिल स्कुलमा। थिएटर मल नेपाल, कीर्तिपुर रंगमञ्च संचालनका गर्न केदारले १० वर्षका लागि राराहिलसगँ सम्झौता गरेका छन्। घरभाडा नतिरेर स्कुलका विद्यार्थीका लागि नाटकको क्षेत्रमा योगदान गर्न शर्तमा। यो थिएटर संचालनमा ल्याउन १० लाख खर्च भएको बताउँछन् केदार।
भन्छन्, ‘कीर्तिपुरमा हल संचालन गर्दा पनि हाम्रो १० लाख खर्च भएको थियो। कति कुराहरू हामीसँगै थियो। कति सामानहरू किन्नुपर्यो। थिएटरभित्र लाइट सेटिङ गर्न नै लाखौँ खर्च हुन्छ।’
काठमाडौं उपत्यकामा यतिखेर थिएटर खोल्न ३० लाखदेखि तीन/चार करौडसम्मको लागत खर्च लाग्ने श्रेष्ठ सुनाउँछन्।
‘थिएटर खोल्न निकै खर्च लाग्ने गर्छ। तर खर्च कति गर्ने भन्ने कुरा कस्तो बनाउने भन्नेमा भर पर्छ। भाडामा लिने होकी या जग्गा नै किनेर बनाउने भन्ने कुराले पनि खर्च मापन हुन्छ’, उनले भने ‘तर, काठमाडौंमा खुलेका धेरैजसो थिएटर भाडामा नै खुलेका हुन्। नाटक घरमा लाइटहरू मंहगो पर्छन्। एउटै लाइटको पनि १० हजारदेखि दुइ/तीन लाखसम्म पर्ने गर्छ। लाइट सेटिङमै पनि २० लाख बढी खर्च लाग्छ। त्यसमाथि सिट, पार्किङ र ट्वालेटका कुरा आउँछन्। व्यवस्थित तरिकाले बनाउने हो अझ बढी खर्च लाग्छ।’
मण्डला थिएटरलाई नयाँ स्वरूपमा निर्माण गर्ने यात्रा पनि कठिन छ। ३० आना जग्गा भाडामा लिएर भवन निर्माण गरेर मण्डला थिएटर बनेको हो। त्यसैले त थिएटर निर्माणमा खर्च पनि अत्याधिक छ। थिएटर बनाउन ५ करोड खर्च भएको मण्डला थिएटरकी अध्यक्ष सिर्जना सुब्बा बताउँछिन्।
‘थिएटर खोल्न निकै खर्च लाग्छ। मण्डला थिएटर खोल्न ५ करोड खर्च भएको छ। दुई हलसहित क्याफे र पार्किङ पनि छ। र, सामानहरू पनि महंगो छन्। जसकारण खर्च बढेको हो,’ सुब्बाले भनिन्।
चारवर्षअघि टेकुमा कौसी थिएटर निर्माण संचालनमा आएको थियो। त्यो बेला थिएटर खोल्न पनि ५० लाख खर्च भएको बताउँछिन् संचालिका आकांक्षा कार्की। उनले आफ्नै घरमा थिएटर संचालन गरेकी हुन्। तर पनि ‘अपरेटिङ कस्ट’ भने निकै धेरै भएको उनले बताइन्।
‘थिएटर खोल्न निकै खर्च लाग्छ। लाइटहरू र थिएटरको सेटिङ जडान गर्न निकै खर्च हुन्छ। आफ्नै घरमा थिएटर निर्माण गर्दा पनि ५० लाख खर्च भएको थियो।’
थिएटर नाफा कि घाटामा?
केदार श्रेष्ठ थिएटर संचालन गर्दा संचालकहरुले फाइदा नहेरेको बताउँछन्। नाटक घर खोलेर नाफा हुन्छ होला भनेर सोच्नु कल्पनामा सीमित रहेको तर्क छ उनको। सिर्जनशिलता र नाटकको कथामा आइरहने परिवर्तनले नाटक कति चल्न भनेर यकिन गर्न सकिने उनको मत छ।
‘नाटक घरको मुख्य स्रोत भनेको टिकट नै हो। कुनै नाटकमा स्पोन्सर पनि हुन्छन्। जसले खर्च उठाउन सक्छ र काम गर्नेको जीवन धान्न सकिन्छ। तर, नाफै कमाउनको लागि वा व्यापार गर्नका लागि थिएटरबाट सम्भव छैन। थिएटर व्यवसायिक हुन सक्छ। तर व्यापारिक कहिल्यै हुन सक्दैन। व्यापारिक हुनको लागि सामान हुनुपर्छ, जसको धेरै मात्रा उत्पादन गरिन्छ र बेचिन्छ। सिर्जनशिलता कहिल्यै मात्रामा उत्पादन गर्न सकिदैन। सिर्जनशिलता हरेकपटक नयाँ हुनुपर्छ,’ उनले भने।
धेरैजसो नाटक घरले टिकटबाट उठेको पैसाले नाटकको लागत खर्च पनि उठाउन नसकेको अवस्था रहेको केदार बताउँछन्। नाटकमा काम गर्ने रंगकर्मीहरूको कुनै पारिश्रमिक नतोकिएको र उठेका पैसा समूहभित्र नै बाँडफाँट गर्ने चलन रहेको समेत उनले बताए।
सिर्जना सुब्बा पनि थिएटर खोल्नु गाह्रो काम भएको बताउँछिन्।
‘थिएटर खोल्नु भनेको निकै जोखिमको काम हो। संसारमा आर्टको लेबल कहाँ पुगिसक्यो। तर नेपालमा पछाडि नै छ। यस्तो अवस्थामा थिएटर निरन्तर संचालन हुनु नै ठूलो कुरा हो,’ उनले भनिन्।
उनी नेपालमा कला क्षेत्र अझै पछाडि रहेको भन्दै राज्यले सहयोग गर्नुपर्ने धारणा राख्छिन्। तर, राज्यले नहेर्दैमा रंगकर्मीहरु चुप लागेर भने नबस्ने उनले बताइन्।
‘खासगरि यी कुराहरू राज्यस्तरबाट हेरिनु पर्ने हो। तर त्यस्तो छन्। तर सरकारले हेरेन भन्दैमा हामीले चुप लागेर बस्नु पनि भएन नि,’ उनले सुनाइन्।
आकांक्षा पनि थिएटर संचालन गरेरै ‘गुणस्तरिय जीवन’ कल्पना नसकिने बताउँछिन्। थिएटरका साथसाथै ‘साइड बिजनेस’ हुँदा भने सजिलो हुने उनले सुनाइन्।
‘थिएटरमात्रै खोलेर जीवन चलाउन गाह्रो छ। केही फाइदा हुँदैन। थिएटर खोल्नु भनेको नै आँट गरेको हो। तर, थिएटरका साथसाथै केही साइड जब पनि हुनुपर्छ। थिएटरबाट सामान्य जीवन बाँच्न सकिएला तर थिएटर नै गरेर म घर बनाउँन्छु, गाडी चढेर हिँड्छु, त्यो चाँहि अलिकति सम्भव हुँदैन,’ उनले भनिन्।
नयाँ थिएटर खुल्नु सकारात्मक
गुरूकुल आरोहण थिएटर खोल्दा आफ्नो श्रीमतीको गहना बेचेको समेत सम्झन्छन् रंगकर्मी सुनील पोखरेल। अहिले काठमाडौंमा नयाँ नयाँ थिएटर खुलेको देख्दा दंग छन् उनी। थिएटर कल्चरको विकास हुनुलाई निकै सकरात्मक रूपमा हेर्नुपर्ने उनले सुनाए।
भन्छन्, ‘ थिएटर जति धेरै खुल्यो, त्यति राम्रो हो। यसलाई म निकै सकारात्मक रूपमा लिन्छु। यसमा गाह्रो छ तर हामी चलाउँछौं। घर बेचेर पनि चलाउँछौँ।’
सिर्जना भने नयाँ नयाँ थिएटरहरु खुल्दा धेरै ठाउँमा काम गर्ने अवसर मिल्ने तर्क गर्छिन्। जसकारण कलाकारमा अभिनय र रंगमञ्चमा कथाको गुणस्तर बढ्ने उनले सुनाइन्।
‘एउटै ठाउँमा थिएटर हुँदा नाटक देखाउन महिनौँ कुर्नुपर्ने अवस्था आउँछ। नाटक पनि धेरै हुन्छन्। आफ्नो कामहरू देखाउन पाइन्छ। धेरै थिएटर खुल्दा कोरोनापछि नाटक चल्छन् कि चल्दैनन् भन्ने दुविधा हटाइदिएको छ। जुन निकै राम्रो कुरा हो।’
रंगकर्मी तथा निर्देशक केदार श्रेष्ठ पनि नयाँ नयाँ थिएटरहरू खुल्नुलाई सकारात्मक रूपमा लिन्छन्। सरकारले वास्ता नगरेपछि निजीबाट सामुहिक प्रयासले नाटक घर खुलिरहेको सुनाउँछन् उनी।
‘नयाँ नयाँ थिएटर खुल्नु निकै राम्रो कुरा हो। अझ म त भन्छु टोल टोलमा थिएटर खुल्नुपर्छ। सरकारले नगरेपछि आफूलाई मन लागेको काम आफैँ गर्नुपर्यो नि। नेपाली रंगकर्मीले रंगमञ्चको आवश्यक्ताको लागि थिएटर खोलेका हुन्,’ उनले भने, ‘जसले सिर्जना र काम गर्ने माहोल बढिरहेको छ। थिएटर कल्चर विकास गर्न थिएटर धेरै खुल्नुपर्छ। रंगमञ्च भनेको उत्पादन गर्ने ठाउँ मात्र होइन, नेपाली रंगमञ्चको अधिकतम अभ्यास गर्ने थलो पनि हो। कलाकारहरुलाई अभ्यास गर्न पनि थिएटर खुलेकै राम्रो’ श्रेष्ठले बताए।
काठमाडौंमा धेरै थिएटरहरु खुलेपछि सामाजिक संजालमा प्रश्न उठेको छ। यति धेरै थिएटर किन? । ‘नेटिजन्स’हरु सबै मिलेर एउटा ठुलो थिएटर खोल्न सकिने पनि मत राखिरहेका छन्।
तर, केदार भने धेरैजना मिलेर एउटै थिएटर खोल्दा अहिलेलाई ठीक नहुने तर्क गर्छन्।
भने, ‘धेरै मिलेर एउटै थिएटर खोल्दा एउटै खालको उत्पादनमा केन्द्रित हुन्छ। जसले प्रतिस्पर्धाको भावना हुँदैन् र सिर्जनशिलता विकास नहुन सक्छ। कम हुँदा धेरै रंगकर्मीहरू एक ठाउँमा बाँधिनुपर्ने र नाटक मञ्चन गर्न कुर्नु पर्ने अवस्था आउन सक्छ। फरकफरक नाटक घर हुँदा फरक/फरक विचारहरू आउँछन्। केही गुणात्मक कुरा पाउनको लागि संख्यात्मक रूपमा पनि आउनुपर्छ।’
आकांक्षा पनि काठमाडौंमा जनसंख्याका हिसाबले धेरै थिएटर खुल्नु निकै राम्रो रहेको बताउँछिन्। सरकारले चासो नदिँदा आफूहरु नै अग्रसर भइरहेको र यो क्रम निरन्तर चल्ने उनी बताउँछिन्।
‘व्यक्तिगत रूपमा थिएटर खोल्न पाउनु रंगकर्मीको अधिकार हो। सरकारले चासो नदेखाउँदा हामी आफैँ अग्रसर हुनुपर्छ। फेरि सबै थिएटरको फरक फरक उद्धेश्य र पहिचान हुन्छ। राम्ररी काम गर्न सक्यो भने टिक्छ, नगर्ने सेलाउँदै जान्छ। काम निरन्तर हुँदा दर्शक पनि आउनुहुन्छ। थिएटरलाई कसरी राम्रो ब्याण्डका रूपमा सञ्चालन गर्नुपर्छ भनेर हामीले सोच्नुपर्छ,’ कार्कीले भनिन्।