PahiloPost

Nov 17, 2024 | २ मंसिर २०८१

८२ वर्षअघि आजकै दिन छरिएको त्यो पर्चा जसले तर्सिए राणा शासक…



सहयोग रञ्जित

८२ वर्षअघि आजकै दिन छरिएको त्यो पर्चा जसले तर्सिए राणा शासक…

वि.सं. १९९७, असार ९ गते। ललितपुरको जावलाखेलमा भोटो जात्राको तयारी भइरहेको थियो। राजादेखि राणा प्रधानमन्त्रीसम्म आउने कार्यक्रम थियो। त्यही दिन जावलाखेलमा केही युवाले राणा शासनको जगै हल्लिने गरि पर्चा फाले।

‘राणा वर्ग हो! तिमीहरूलाई थाहा होला कि नेपाल प्रजा परिषद् भन्ने संस्था नेपाली प्रजालाई तिमीहरूको क्रूर पञ्जाबाट आजाद या स्वतन्त्र गराई शुद्ध ज्ञानको शिक्षादीक्षा, आफ्नो जातिको मान सम्मान धन र धर्मको उपार्जन र उन्नतिद्वारा संसारका सभ्य जातिहरूमध्ये एक गराई आफ्नो देशको गौरव हजारौं वर्षसम्म दिशा-दिशामा गुञ्जने गराउने उद्देश्यले यो नेपाल प्रजा परिषद् खुलेको हो,’ ८२ वर्षअघि फालिएको पर्चामा लेखिएको थियो।

राणा शासनको अन्त्य गरेर देशमा प्रजातन्त्र ल्याउने उद्धेश्यले वि सं १९९२ मा प्रजा परिषद्को गठन भएको थियो। संवैधानिक राजा र जनताको मौलिक अधिकार स्थापित गर्ने पनि परिषद्को उद्धेश्य रहेको बताउँछ इतिहासकार प्राध्यापक राजेश गौतम। तर, राणाहरुले खुला रुपमा राजनीतिक गतिविधि गर्न रोक लगाएकाले भूमिगत भई उनीहरुले राणाविरुद्ध अभियान चलाउने बारेमा छलफल गरेका थिए।

प्रजा परिषद्का सदस्यहरुले राणाविरुद्धको पहिलो बिगुल भारतबाट प्रकाशित हुने ‘जनता पत्रिका’ बाट गरेका थिए। सो पत्रिकामा नेपाल र राणाहरुको क्रुरताबारे लेख छापिएको थियो। सो समय भारतमै रहेका दशरथ चन्दले सेवा सिंहको नामबाट लेख छपाएका थिए। सो पत्रिकामा उनले ८-१० वटा लेख छापे। भारतमा ती लेख छापेर पाएको प्रतिक्रिया पछि देशभित्रै केही गर्नुपर्छ भनेर प्रजा परिषद्का सदस्यहरुले ठाने। त्यो समय नेपालमा गोरखापत्रमात्र छापिन्थ्यो। अरु अखबार वा पर्चा छाप्ने साधन थिएन। त्यसैले टंकप्रसाद आचार्यलगायतले भारतबाट छपाइ मेसिन ल्याउनेबारे छलफल अघि बढाए। उनीहरुले सामान ल्याउने र व्यवस्थापन गर्ने विषयमा जुम्लाका व्यापारी महेन्द्र विक्रम शाहसँग अनुरोध गरेका थिए।

उनकै सहयोगमा भारतबाट ‘साइक्लोस्टाइल’ मेसिन किनियो। आचार्यलगायत परिषद्का सदस्यहरुले सो मेसिनलाई टुक्राटुक्रा गरेर जनकपुर ल्याएका थिए। पछि काठमाडौं ल्याएपछि मेसिन जोडिएको थियो। कसैले थाहा नपाओस् भनेर मेसिनलाई परिषद्का सदस्यहरुको घरमा लुकाएर राखिएको थियो। आचार्यले रामहरि शर्मा र गोविन्दप्रसाद उपाध्यायको सहयोगमा आफ्नै घरमा ‘साइक्लोस्टायल’ मेसिनबाट चार किसिमका पर्चा तयार पारेका थिए। आफ्नै हातले पर्चा लेखेर उनले अरु भने मेसिनबाट छापे। पर्चा छपाइसकिएपछि मेसिनलाई बलबहादुर पाँडेको घरमा गाडियो। पर्चाहरुलाई भने प्लास्टिकमा राखी टंकप्रसादकै बारीमा गाडेर लुकाइएको थियो।

परिषद्का सदस्यहरुहरुले पर्चा छापेर फाल्न खास समय कुरिरहेका थिए। ८२ वर्षअघि आजकै दिन भोटो जात्राको अवसर पारेर दशरथ चन्द लगायतका क्रान्तिकारी युवाहरुले जावलाखेलमा ती पर्चा छरे।

इतिहासकार प्राध्यापक गौतम भन्छन्, ‘उनीहरुले पर्चा एकैपटक छापेनन्। पालैपालो गरेर चारवटा पर्चा छापे। त्यसपछि मेसिन बलबहादुर पाँडेको घरमा गाडिदिए। पर्चा छर्न अघि टंकप्रसादलाई काठमाडौंबाहिर पठाएर दशरथ चन्दलाई यहाँ बोलाए। पहिलो पर्चा छरेको केही समयपछि अन्य पर्चा छरियो।’

गौतमका अनुसार असार ९ गते छरिएको पर्चाले नै राणा तर्सिसकेका थिए। त्यसैले राणाहरुले पर्चा काण्डपछि क्रान्तिकारीहरुविरुद्ध धरपकड सुरु गरेका थिए।

पर्चा छर्नेहरुको खोजी मात्र भएन प्रजा परिषद्सँग आबद्ध व्यक्तिलाई गिरफ्तार गर्न सहयोग गर्नेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने सूचना गोरखापत्रमा प्रकाशित गराएका थिए राणाहरुले।

तर, राणाको उक्त धरपकडले प्रजा परिषद डराएन। असार ३० गते र साउन १७ गते राणाविरुद्ध छापेका अरु पर्चा पनि‍ काठमाडौंमा छरियो। जसमा नेपालीहरुलाई राणाविरुद्धको आन्दोलनमा उत्रन आह्वान गरिएको थियो। साउनमा भने युवाहरुलाई आह्वान गर्दै पर्चा छरिएको थियो।

‘लौ, अब उठनोस् व्यूँझनुहोस्, साथीभाइ हो, र यी अत्याचारीहरुको विरोधमा आफ्नो आवाज घन्काएर आफ्नो दरिद्रताका कारणहरुलाई खुलस्त बताइदिनुहोस्। राणाहरु महापापी र घोर नास्तिक हुन्। तपाईंहरुमाथि विश्वासघात गर्दा पनि तिनीहरुलाई भगवानको डर छैन,’ असार ३० गते छरिएको पर्चामा लेखिएको थियो।

पर्चा काण्डले तर्सिएका राणाहरुले करिब दुई सय व्यक्तिलाई सो समय पक्राउ गरिएको थियो। टंकप्रसाद आचार्यसहित प्रजा परिषद्का केही सदस्यको आजीवन कारावासको सजाय दिएको थियो। धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाललाई भने मृत्युदण्ड दिएको थियो। उनीहरुसँगै शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको थियो।

‘पर्चा छरेपछि जनता धेरै अघि बढिसकेका रहेछन् भनेर राणाहरुले के महसुस गरे। राणा पर्चासँग कति डराएका रहेछन् भने, जुन दिन सिंहदरबारमा पक्राउ परेकाहरुलाई सजाय सुनाइएको थियो। सो दिन राणाहरुको पारिवारिक पार्टीमा बबर शमशेरले के भने: अब राणा शासन सय वर्षका लागि टिक्यो। त्यसको अर्थ चारवटा पर्चाले राणाहरुलाई तर्साएको रहेछ,’ गौतमले भने। सो समय जुद्धशमशेर जबरा प्रधानमन्त्री थिए।

गौतम यो पर्चा छरिएपछि नेपालमा मात्रै नभइ भारतमा बसेका नेपाली र पढ्न गएका विद्यार्थीहरु पनि जागरुक भएको बताउँछन्।

‘पर्चा छरिएपछिकै प्रतिफल हो नेपाली राष्ट्रिय कांग्रेसको स्थापना। यसले २००४ सालमा सत्याग्रह गर्‍यो। पछि विपी कोइराला र सुवर्ण शम्शेरको पार्टी मिलेर नेपाली कांग्रेस बन्यो। सबै मिलेर २००७ सालको क्रान्ति भयो। २००७ सालको क्रान्तिको विजारोपण यही पर्चाले नै गर्‍यो भनेर भन्न सकिन्छ,’ गौतमले भने।

माग ‘पर्चा दिवस’को

टंकप्रसाद आचार्य प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेल असार ९ गते छरिएको पर्चा सामान्य पर्चा नभएको बताउँछन्। अहिले सामाजिक संजालको बढ्दो प्रभावले पर्चाको महत्व पहिला जस्तै नभए पनि त्यो समय छरिएका पर्चाले नै नेपाललाई प्रजातान्त्रिक बाटोमा हिँडाएको उनको भनाइ छ।

गौतमजस्तै उनी पनि असार ९ गते जनक्रान्तिको विजारोपण भएको बताउँछन्।

‘जे गर्नुपर्छ नेपालमै गर्नुपर्छ भन्ने भावना थियो टंकप्रसाद, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, गणेशमान सिंह लगायतमा। देशभित्र गर्न पर्छ। हाम्रो लडाईं हो, हामीले राणासँग लडनुपर्छ भन्ने थियो,’ उनले भने, ‘त्यसैको उपज पर्चा बाँडियो र राणा तर्सिए र देशमा प्रजातन्त्र आयो।’

अहिले देशमा प्रजातन्त्र ल्याउन पर्चा छापिएको मेसिन नारायहणहिटी दरबारस्थित गणतन्त्र स्मारक भएको क्षेत्रमा रहेको उनले बताए। मेसिनसँगै पर्चाप्रति भए पनि यसको इतिहास भुल्दै गएकोले आजको दिनमा राष्ट्रिय पर्चा दिवसको रुपमा मनाउन आफूहरुले अभियान चलाएको उनी बताउँछन्।

‘सरकार फ्रजाइल छ। हाम्रो सुरुवात मात्र हो। हाम्रो माग राष्ट्रिय पर्चा दिवसको रुपमा सम्झना गरियोस् भन्ने हो,’ उनले भने।

आमसंचारको प्रभाव

त्रिभुवन विश्वविद्यालय, आमसंचार तथा पत्रकारिता विभागका सहप्राध्यापक कुन्दन अर्याल राणाहरुको क्रूरताको बीचमा पर्चा छाप्नु सामान्य कुरा नभएको बताउँछन्। पर्चालाई उनी आमसंचारको ‘प्रोटो टाइप’को संज्ञा दिन्छन्। उनी सो पर्चाले नेपालको आमसंचारको इतिहासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्।

‘साइक्लोस्टायल मेसिनमा छापिएका केही सयप्रति पर्चाहरुले नेपाली राजनीतिमा त्यसस्तरको पहिलो भूकम्पको सिर्जना गरेको थियो। राजनीतिकमा मात्र होइन आम नागरिकका बीचमा लोकतान्त्रिक हक-अधिकारसम्बन्धी जागरण बढाएका थियो सो पत्रिकाले। जनतालाई निर्भिक बनाएको थियो र समाजमा हलचल उत्पन्न गराएका थिए,’ उनी भन्छन्।

सो पर्चाको सम्बन्ध राणा शासनको विरोधमात्र नभएको उनी बताउँछन्। यही पर्चाका कारण चार जनालाई मृत्युदण्ड दिइएको उनले बताए।

‘चार शहीदको कुरा यही पर्चासँग जोडिएको छ। तीनजना यसैको अभियोग पाएर मृत्युदण्ड पाए। शुक्रराजलाई अघि समाएको थियो। तर पछि सँगै मृत्युदण्ड दियो। आँट गरेर पर्चा बाँडेर पर्चा बाँड्नु त्यस समय ठूलो कुरा थियो,’ उनले भने।

संचार विज्ञ प्राध्यापक पी खरेल पनि सो समय छापिएर छरिएका पर्चाहरुले देशमा जागरण ल्याएको बताउँछन्। ‘पोलिटिकल एलिट’हरुमा पर्चाको गहिरो प्रभाव परेको उनको मत छ।

‘त्यसले उपत्यकामा सनसनी ल्यायो। राजमार्ग बनेका थिएनन्। एलिटमा धेरै प्रभाव परेको थियो। महिनौंसम्म पर्चा छरेर यस्तो भएको थियो भनेर प्रचार भएको थियो। पर्चा छरिएको कुरा उपत्यका बाहिरसम्म पुर्‍यो। कतिले ती पर्चा बाहिर पनि छापे भन्ने छ,’ खरेलले भने।

राणा शासकहरुलाई चुनौती दिँदै लेखेर बाँडिएका पर्चाहरुले आमसंचारको महत्व दर्साएको उनी बताउँछन्। त्यस बेलामा गोरखापत्रबाहेक अरु कुनै संचारका माध्यम थिएनन्। गोरखापत्रमा राणा विरोधी समाचार आउने कुरा पनि भएन। त्यसैले आम जनतासम्म पुग्न र राणाहरुविरुद्ध शंखनाद गर्न पर्चा महत्वपूर्ण अस्त्र भएको उनले बताए।

‘क्रान्तिकारी कदम सूचना सम्प्रेषणबाट भएको हो। सिम्बोलिक भ्यालु पनि भयो, कन्टेन्ट पनि छँदैछ। राणा शासनविरुद्ध त्यसरी आम राजधानीबासीले पढ्न पाउनु त ठूलो उपलब्धि हो,’ उनले भने।

ती पर्चाहरुले विद्रोहको भावना संचारमात्र नगरेको खरेल बताउँछन्। राजनीतिक रुपमा चनाखो भइरहेका नेपालीलाई एक सूत्रमा बाँध्ने काम पनि पर्चाले गरेको उनको मत छ।

‘मान्छेमा जागरण आएको राणाहरुले बुझिसकेका थिए। अहिले परिवर्तनका लागि नयाँ अगुवा चाहियो भन्ने छ। त्यो बेला पर्चाले धेरै ठूलो काम गर्‍यो। त्यसैको शक्तिले सबैलाई एकतामा बाँध्यो। विद्रोह गर्नेहरु पोलिटिकल एलिट, शासन व्यवस्थाप्रति वितृष्णा भएकालाई एकतामा बाँध्यो,’ खरेलले भने।

केही वर्षअघिसम्म पर्चाहरुको महत्व धेरै हुन्थ्यो। अहिले पनि केही विशेष अवसरहरुमा पर्चा छापिने गरेका छन्। तर, ती पर्चाहरुको प्रभाव खासै देखिँदैन। राजनीतिक कार्यक्रममा पर्चा फोहोर गर्ने माध्यम बनेका छन् अहिले। लाग्छ ती छापिएका पर्चाको कुनै महत्व नै छैन।

खरेल १९९७ मा छरिएको पर्चाले ल्याएको तरंग त्यसअघि र पछिका पर्चाहरुले नगरेको बताउँछन्।

‘गोरखापत्रबाहेक अखबार नभएको बेला थोरै पर्चाको त्यो किसिमको प्रभाव त्यसभन्दा पहिला र पछि भएको देखिँदैन,’उनले भने।

अहिलेको ‘डिजिटल युग’मा पर्चाको महत्व घटे पनि पर्चा संचारको अब्बल माध्यम भने रहने उनी बताउँछन्। पर्चाको ‘कन्टेन्ट’ ममा बढी मिहिनेत गर्न सुझाउँछन्। 

‘अहिले अनलाइनको जमाना भयो। डिजिटल मिडियाको भूमिका हुन्छ अब। तर, पर्चामा विशेष प्याकेजिङ गरेर। कन्टेन्ट राम्रो पनि राख्ने र संलग्न व्यक्ति अगुवाहरुलाई जनताले विश्वास गरेका छन् भने महत्व धेरै हुन्छ,’ प्राध्यापक खरेलले भने, ‘लिखितले फोकस ल्याउँछ। अहिले सबैको हातहातमा मोबाइल छ भनेर भनेर हुँदैन। त्यसको महत्व छ। तर लिखित पर्चा वा कन्टेन्टले मानिसमा धेरै असर गर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell