भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको सरकार संकटमा परेको छ। सत्तारुढ दल शिवसेनाका विधायकहरु बागी बनेपछि ठाकरे सरकारलाई सत्ता जोगाउन गाह्रो भएको हो। महाराष्ट्र सरकारमा एकनाथ शिंदेले विद्रोह गरे अहिले महाराष्ट्रको बदलिँदो दृश्यमा सबैको नजर छ।
भारतीय राष्ट्रिय संकट, राष्ट्रवादी कांग्रेस पार्टीसँग महा विकास अघाडी गठबन्धन गरेको शिवसेना अहिले पार्टीभित्रको विवाद मिलाउने वा सरकार जोगाउने भन्ने दोधारमा छ। शिंदेले गठबन्धनबाट शिवसेना हट्नु पर्ने अडान लिएका छन्। उनीसँग ४० जना विधायकको समर्थन रहेको बताइन्छ।
२८८ सदस्य भएको महराष्ट्र विधानसभामा शिवसेनाबाट ५५ जना, एनसीपीबाट ५३ जना, कांग्रेसबाट ४४ जना र भारतीय जनता पार्टीबाट १०६ जना विधायक छन्। बहुमत विधायक शिंदेसँग गएको खबरसँगै उनैलाई नै मुख्यमन्त्री बनाउन गठबन्धनले ठाकरेलाई सुझाव समेत दिएको थियो। तर, शिंदेले सो प्रस्ताव अस्वीकृत गरेको बताइन्छ।
पार्टीमा बढ्दो विवादका बिच ठाकरेले मुख्यमन्त्री निवाससमेत छाडेका छन्। बुधवार राति उनी निजी निवास मातोश्री पुगेका छन्। अहिले विवादलाई लिएर पार्टीहरुबिच छलफल भइरहेको छ। उनले पार्टीका सबै विधायकहरुलाई वार्ताका लागि बोलाएका छन्। ठाकरेले आफू मुख्यमन्त्री र पार्टी प्रमुख पद छाड्न तयार रहेको बताइसकेका छन्।
शिंदेसँगै करिब ४० विधायक भने हाल असाममा छन्। गुवाहाटीको एक होटलमा उनीहरु आगामी रणनीति बनाइरहेका छन्। धेरैले शिंदेले भाजपाको सहयोगमा अहिले विद्रोह गरिरहेको आरोप समेत लगाइरहेका छन्। तर, भाजपाले भने आफूहरुसँग शिंदेको कुनै छलफल नभएको स्पष्टीकरण दिएको छ। यद्यपि, भाजपाले आफूहरुले अहिलेको राजनीतिक संकटलाई नजिकबाट हेरिरहेको बताएका छन्। भाजपाको शासन नभएको राज्यहरुमा सत्ता परिवर्तनको खेल यसअघि पनि हुँदै आएको छ। विपक्षीहरुले भने भाजपा विधायक किनबेचमा लागिरहेको आरोप लगाउँदै आएका छन्।