
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा सोचेअनुसारको परिणाम नआएको बताएका छन्। ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी केन्द्रले १६०/१७० पालिकामा जित्ने आँकलन भएपनि १२२ मात्रै जितेको प्रचण्डले बताए।
गठबन्धन ठिक ढंगले चल्दा र पार्टीले मेहनत गर्दा सबैभन्दा ठूलो बाम दल बन्ने माओवादीको उद्देश्य रहेको उनको भनाइ छ।
‘गठबन्धन ठिक ढंगले जादा १ सय ७५ र एमालेको पनि १६०/१७० मा झर्छ भन्ने आँकलन गरेका थियौँ। हामीले आँकलन गरेको भन्दा कम हो,’ प्रचण्डले भने।
तर,अरुका लागि भने माओवादीको अहिलेको जित पनि बढी भएको प्रचण्डको भनाइ थियो।
‘माओवादीको यति आउला भन्ने आँकलन गरिएको थिएन। ३० वटा पालिकामा ल्याउँछ भन्ने प्रक्षेपण मैले नजिकबाट देखेँ,’ उनले भने।
अहिले माओवादी केन्द्रको स्थिति निर्णायक तेस्रो शक्तिका रुपमा रहेको उनले बताए। देशको चाबी जनताले माओवादी केन्द्रलाई दिएको प्रचण्डको दाबी छ।
‘चाबी माओवादी केन्द्रको हातमा दिएको छ। देशलाई कुन मोडमा लैजाने भन्ने कुरा माओवादी केन्द्रलाई दिएको छ,’ प्रचण्डले भने।