PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क



रासस

नेपाल टेलिकमले घटायो इन्टरनेट र इन्ट्रानेटको लिज लाइन शुल्क

काठमाडौं : नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ। कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो।

इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर अब एक हजार ६०० रुपैयाँ मात्र कायम गरिएको छ। यसअघि दुई हजार रुपैयाँ शुल्क रहेकामा टेलिकमले ४०० रुपैयाँ घटाएको हो।

यस्तै, २१ देखि ५० एमबीपीएसको महसुल दर दुई हजार ३०० रुपैयाँ रहेकामा एक हजार ६०० रुपैयाँ बनाइएको छ। ५१ देखि १०० एमबीपीएसको दुई हजार १०० र १०० एमबीपीएस ब्यान्डविथभन्दा बढी क्षमताको महसुल एक हजार ९०० रुपैयाँ रहेकामा दुवैको महसुल दर घटाएर एक हजार ५०० रुपैयाँ कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

उनका अनुसार इन्ट्रानेट लिज लाइनअन्तर्गत एकदेखि १० एमबीपीएस व्यान्डविथको महसुल दुई हजार ७०० रुपैयाँ रहेकामा दुई हजार ४०० रुपैयाँ बनाइएको छ। यसैगरी ११ देखि १०० एमबीपीएसको दुई हजार ४०० रुपैयाँ रहेकामा दुई हजार १००, १०० एमबीपीएसभन्दा बढीको दुई हजार १०० रुपैयाँ रहेकामा एक हजार ८०० रुपैयाँ कायम गरिएको छ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ। उक्त सेवामा इन्टरनेटको अपलिङ्क र डाउनलिङ्क क्षमता सधैँ बराबर रहनुका साथै २४सै घण्टा निरन्तर डेडिकेटेड रूपमा उपलब्ध भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell