
काठमाडौं : नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचनलाई नियुक्त गरिएको छ। सोमवारको मन्त्रिपरिषद् बैठकबाट ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो।
पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने प्रस्तावसँगै आलेले ज्वारचनलाई महाप्रबन्धक बनाउने प्रस्ताव समेत लगेका थिए।
मन्त्रिपरिषद्ले वरिष्ठ क्याप्टेनको उडान भर्ने र पाइलटको सुविधा उपयोग गर्ने गरी अस्थायी रुपमा ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेको हो। आलेले निगमभित्र रहेका १०औँ तहका चारजना हुँदाहुँदै नवौँ तहका ज्वारचनलाई महाप्रवन्धक बनाएका छन्। यो निर्णयले निगमभित्र असन्तुष्टी चुलिएको छ।
ज्वारचनभन्दा माथि कमर्सियल डाइरेक्टर जनक कालाखेती, क्वालिटी एस्योरेन्स डाइरेक्टर विक्रम केसी, इन्जिनियरिङ मेन्टिनेन्स डाइरेक्टर प्रज्वल श्रेष्ठ, अपरेशन डाइरेक्टर रवीन्द्र कुमार शेरचन छन्।
सन् २००७ अक्टोबरबाट निगममा जुनियर को-पाइलटको रुपमा प्रवेश गरेका उनले अपरेसन डाइरेक्टरको भुमिका निर्वाह गरिसकेका छन्।