PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गठबन्धनमा नेतैपिच्छे फरक-फरक दाउ: एमाले देखाउँदै देउवालाई घुर्क्याउने प्रचण्ड ‘प्लान’



प्रकाश भण्डारी

गठबन्धनमा नेतैपिच्छे फरक-फरक दाउ: एमाले देखाउँदै देउवालाई घुर्क्याउने प्रचण्ड ‘प्लान’

काठमाडौँ: सत्ता गठबन्धनका नेताहरू प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लिएर फरक-फरक रणनीति बनाइरहेका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताबीच चुनावी तालमेललाई लिएर रणनीतिक दाउपेच जारी छ। कांग्रेस बाहेकका दल स्थानीय तह निर्वाचनको परिणामबाट सन्तुष्ट छैनन्। एकीकृत समाजवादी र जनता समाजवादी पार्टीभित्र गठबन्धनका दलले धोका दिएको भन्दै समीक्षा गरेर अघि बढ्नुपर्ने मत बलियो छ। माओवादी केन्द्रमा केही असन्तुष्टि भए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू अहिलेको परिणामलाई उपलब्धिका रूपमा लिनुपर्ने राय पेश गर्दै आएका छन्। प्रचण्डले बिहीबार मात्रै ललितपुरमा आयोजित कार्यक्रममा गठबन्धनमा इमानदारिता नदेखिएको भए पनि मा‌ओवादीले स्थानीय तहमा जितेको १२२ सिटलाई ‘उपलब्धि’को संज्ञा दिए।

‘गठबन्धन ठिक ढङ्गले जाँदा १७५ मा हामी र एमाले पनि १६०/१७० मा झर्छ भन्ने आकलन गरेका थियौँ। हामीले आकलन गरेको भन्दा कम हो,’ प्रचण्डले भने, ‘माओवादीको यति आउला भन्ने आकलन अरूले गरेका थिएनन्। ३० वटा पालिकामा ल्याउँछ भन्ने प्रक्षेपण गरेको मैले नजिकबाट देखेँ। माओवादी केन्द्र एकातिर वाम गठबन्धनबारे भित्रभित्रै छलफल गरिरहेको छ भने अर्कातिर सत्ता गठबन्धनकै निरन्तरताका लागि गृहकार्य जारी छ',प्रचण्डले भने।  

स्थानीय तह निर्वाचनमा कांग्रेसले माओवादीको शक्तिको अवमूल्यन गरेको भन्दै अबको निर्वाचनमा कांग्रेसले पुरानै रणनीति अपनाए एमालेसँग पनि मिल्न सक्ने सम्भावनाको ढोका खुल्लै राख्ने माओवादीका नेताहरू बताउँछन्।

एमाले देखाएर घुर्क्याउँदै माओवादी

केही समयअघि माओवादीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटे। उक्त भेट वाम गठबन्धनबारे हो या होइन भन्नेबारे एमाले र माओवादीले मुख खोलेका छैनन्। माओवादी र एमालेका केही नेताबीच अबको निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अनौपचारिक छलफल भएको छ। तर, उक्त विषय निर्णायक अवस्थामा भने पुगिसकेको छैन। माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अहिलेको राजनीतिक लाइनमा परिवर्तन भए वाम गठबन्धन बन्ने दाबी गरे।

‘पोलिटिकल लाइनमा बदलाव भयो भने गठबन्धन पनि चेन्ज हुनसक्छ। नत्र अहिलेकै गठबन्धन हुन्छ,’ गुरुङले भने।

एमालेका अध्यक्ष ओलीलाई अहिले भेट्ने माओवादीहरूले आफ्नो पार्टीलाई उनले हेर्ने धारणामा परिवर्तन गर्न आग्रह गरिरहेका बताइन्छ। प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णयप्रति ओलीले आलोचना गरेर माओवादीप्रतिको दृष्टिकोण नरम बनाएमा प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा वाम गठबन्धन बन्न सक्ने माओवादी नेताहरू बताउँछन्। कांग्रेससँग गठबन्धन गर्दा जनताले त्यति मन नपराएको भन्दै एमालेसँगै संवाद गरेर अघि बढ्नुपर्ने मत माओवादीभित्र बलियो छ। यसअघि स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीच भएको सहमतिको अन्तिम बुँदामा गठबन्धन दलहरूले एमालेसँग मिल्न नमिल्ने लिखितम नै गरेका थिए। माओवादीलाई एमालेसँग मिल्ने बाटो रोक्नका लागि यस्तो प्रावधान समावेश गरिएको थियो।

एकीकृत समाजवादीमा पनि दुई धार

नेकपा एकीकृत समाजवादीका नेताबीचमा पनि सत्ता गठबन्धनलाई दुई धार प्रष्टरुपमा सतहमा आएको छ। अहिलेकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा अध्यक्ष माधवकुमार नेपाल निकट नेताहरू उभिँदा नेता झलनाथ खनाल निकट भने एमालेसँग पनि तालमेल गर्न सकिने पक्षमा छन्। समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीका केही नेताहरू एमालेसँगै पनि मिल्न सकिने निचोडमा पुगेको बताए। ‘आफूले जित्न सकिँदैन भनेर हो कि कुन्नि किन हो, केही नेताहरू देउवाको लात खानुभन्दा ओलीसँग मिल्न ठिक हुने पक्षमा छन्,’ तुलाधरले भने।

एकीकृत समाजवादीमा मन्त्री फेर्ने कि नफेर्ने भन्नेमा सुरु भएको विवाद सुरु भएकै तेस्रो साता पुगिसकेको छ। उक्त विषय अझै बहसमा छ, कुनै निर्क्योल निस्किसकेको छैन। अहिले सरकारमा सहभागी मन्त्रीहरूले फिर्ता हुन नचाइरहेका बेला नेता नेपाल भने जसरी पनि उनीहरूलाई हटाउने सचिवालयको निर्णय कार्यान्वयनका लैजान अनवरत लागिरहेकै छन्। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय उक्त निर्णय चाँडै कार्यान्वयनमा जाने दाबी गरे।

‘केही दिनमा होइन केही घण्टामै मन्त्री फेर्ने गरी लागिरहेका छौँ,’ खतिवडाले पहिलोपोस्टसँग भने।

नेपालले प्रधानमन्त्री देउवालाई आफ्नो पार्टीको मन्त्री फेर्ने निर्णय कार्यान्वयन नगराए गठबन्धनमै नरहने चेतावनी दिएको पनि बाहिरिएको छ। बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवालाई बिहीबार साँझ वा शुक्रबार बिहानसम्म पार्टीको निर्णय अनुसार नयाँ मन्त्री नियुक्त गर्नुपर्ने नभए गठबन्धनमै नरहने चेतावनी माधवकुमार नेपालले दिएको एकीकृत समाजवादीका एक मन्त्रीले पहिलोपोस्टलाई जानकारी दिए।

जसपा र जनमोर्चा के गर्दै छन्?

गठबन्धनका नेताहरूका अनुसार जसपाले एकीकृत समाजवादीको मन्त्री फेर्ने निर्णयलाई आफ्नो पार्टी विभाजनसँग जोडेर हेरेको छ। एकीकृत समाजवादीका मन्त्री फेरिएमा जसपालाई पनि मन्त्री फेर्ने दबाब पर्ने भएकाले तत्काल फेरबदलको पक्षमा जसपा रहेको छैन। स्थानीय तह निर्वाचनमा जसपालाई गठबन्धनका नेताहरूले कम भाग दिएको भन्दै अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट बनेका थिए। चुनावी परिणामलाई लिएर पनि जसपामा असन्तुष्टि छ। जसपाका नेता मोहम्मद इस्तियाक राईले स्थानीय तहमा भए जसरी नै प्रदेश तथा प्रतिनिधि सभामा गठबन्धन हुनसक्ने बताए। शीर्ष नेता उम्मेदवार हुने ठाउँबाहेक गठबन्धन हुने सम्भावना कम भएको राईको तर्क छ।

‘शीर्ष नेताहरू उठ्ने ठाउँमा हुनसक्छ बाँकी ठाउँमा त कसरी मिल्छ? अब त्यतिन्जेलसम्म केही पोलिटिकल निर्णय भएन भने अहिलेको गठबन्धन रहला,’ उनको भनाई छ।

जनमोर्चाले स्थानीय तहमा आफ्नो पार्टीको शक्ति कमजोर भएकाले धेरै ठाउँमा नपाएको भए पनि आफूले गठबन्धनलाई सहयोग गरेको भन्दै प्रतिनिधि सभाको चुनावमा गठबन्धनले त्यही अनुसारको व्यवहार गर्नुपर्ने अडान राखिरहेको छ। उसको दाउ केही सिटमा हुनु स्वाभाविक हो।

देउवाको रणनीति के होला?

सत्ता गठबन्धनका नेताहरूका अनुसार देउवा अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा छन्। उनी कुनै पनि शर्तमा वाम गठबन्धन हुने सम्भावनालाई टार्न चाहन्छन्। गठबन्धनका पटक पटकका बैठकमा देउवाले ओली - प्रचण्डबीच सहकार्य हुने या नहुनेबारे चासो दिने गरेको नेताहरू बताउँछन्। देउवा गठबन्धनकै पक्षमा भए पनि कांग्रेसभित्रका प्रभावशाली नेताहरूबाट एक्ला एक्लै चुनावी मैदानमा उत्रिनुपर्ने धारणा पनि आइरहेकै छ। स्थानीय तह निर्वाचनका बेला कांग्रेसको संस्थापन इतरका नेताहरूले गठबन्धनको विपक्षमा मत राखेका थिए। एकातिर वाम एकतालाई रोक्नु र अर्कातिर आफ्नै दलभित्रको फरक विचारलाई आफू अनुकूल गराउन देउवाले कस्तो रणनीति लिन्छन्, त्यो आगामी समयले देखाउने नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell