काठमाडौं : भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले आर्थिक वर्ष २०७९-८० को बजेट नगरसभामा पेस गरेकी छिन्। नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७९-८० को अनुमानित आय-व्यय बजेट प्रस्तुत गरेकी हुन्।
उनले यो वर्ष २ अर्ब १८ करोड ४२ लाख ४२ हजारको बजेट घोषणा गरेकी छिन्। नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरि आर्थिक वर्षको बजेट पेस गरिएको उनले बताइन्।
विनियोजित बजेटको चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ।
बजेटमा १०० शैय्याको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गरी सुविधा सम्पन्न ‘जनताको अस्पताल’ संचालन गर्न ८ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैयाँ, अँचा पोखरी परिसरमा आदर निकेतन संचालन गर्न ५० लाख रुपैयाँ, शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि १ करोड रुपैयाँ, महेश्वरी खेलमैदानको लागि १ करोड रुपैयाँ, बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न ३ करोड रुपैयाँ र खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता संचालन गर्न ६ करोड १ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै बाराही पुल यसै वर्ष सम्पन्न गर्ने गरी ३ करोड रुपैयाँ, नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि लिवाली आवास योजना र कमल विनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न ५० लाख रुपैयाँ, नगरबासीहरुलाई खानेपानी सुविधा उपलब्ध गराउन १ करोड २५ लाख रुपैयाँ र नगरपालिकाभित्र संचालित सहकारी संस्थाहरुसँग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋण तर्फ १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात तथा मेरुदण्ड पक्षघात (स्पाइनल कर्ड इन्ज्युरी) जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति रु. १५ हजारका दरले सहयोग गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन रु. ४० लाख विनियोजन गरिएको छ। क्यान्सर, मृगौला रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई मासिक रु. ५ हजारको दरले उपचार खर्च भत्ता व्यवस्थाको लागि रु. ९० लाख विनियोजन गरिएको छ।
चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र लगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोमा यो वर्ष ऋणको सीमा वृद्धि गर्दै २ करोड रुपैयाँ विनियोजन गरिएको छ। शिक्षाशास्त्र संकायमा उच्च शिक्षा अध्ययन गरी शिक्षक बन्न चाहने नगरवासीहरुको लागि विशेष व्यवस्था गरेको छ।
पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा, काठ र झिंगटीमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत अनुदान दिन ५० लाख रुपैयाँ विनियोजन गरिएको छ भने ख्वप टेलिभिजन संचालनको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको १९.४३ प्रतिशत छ्ट्याएको छ। त्यस्तै स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत, वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरेको छ।
त्यस्तै युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार रुपैयाँ, कृषि औजार एवम् बिउ विजनका लागि कृषि क्षेत्रमा २ करोड ७ लाख रुपैयाँ र प्रशासनिक व्यवस्थापनको लागि ३८ करोड ८६ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको छ।
नगरसभाको सोही बैठकमा उपप्रमुख जोशीले ‘भक्तपुर नगरपालिकाको आर्थिक विधेयक २०७९’, ‘भक्तपुर नगरपालिकाको विनियोजन विधेयक, २०७९’ सभासमक्ष प्रस्तुत गरेकी थिइन्। नगरसभाको अर्को बैठक असार १२ गते आइतबार बस्नेछ।